News Portal

नेकपा एमाले पार्टिको विभाजन भएसँगै, प्रदेश १ सरकार अल्पमतमा

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ३ भाद्र
१५९ पटक
काठमाण्डौं, ३ भाद्र

नेकपा एमाले नेतृत्वको एकल बहुमतीय सरकार गठन भएको प्रदेश १ मा एमाले विभाजन भएपछि सरकार अल्पमतमा परेको छ ।

एमाले पार्टि विभाजन भएसँगै प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारलाई बहुमत गुमाउने भएको छ । नेकपा एमालेबाट विभाजन भई माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी गठनका साथ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।

माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजन भएसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिएको विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् ।

कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ । १ प्रदेशमा सत्तारुढ नेकपा एमालेका ५१ सांसद रहेका छन् । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल छन् । योसँगै अब भने एमालेमा ३६ सांसदमात्र सीमित रहने भएका छन् ।

नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीमा प्रदेश १ का प्रदेशसभा सदस्यहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई सामेल भएका छन् ।

एमाले विभाजनपछि प्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५,जनता समाजवादी पार्टीका ३,राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् ।

अब बन्ने नयाँ सरकारका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्ने भएपछि यसै गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ ।

प्रतिकृया दिनुहोस्