News Portal

माथिल्लो तामाकोसीले ४ सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु गर्यो

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ३ भाद्र
२९४ पटक
काठमाण्डौं, ३ भाद्र

दोलखाको लामाबगर स्थित बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका ६ वटै युनिटका सबै टर्वाइन सञ्चालनमा आएसँगै पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको छ ।

असार २१ गतेबाट पहिलो युनिटको ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाले क्रमशः ६ वटै युनिट चार्ज गरी पूर्णक्षमता अर्थात ४ सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो ।

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको गौरवको माथिल्लो तामाकोशी आयोजना हो । यस आयोजनाका उपप्रबन्धक इन्जिनियर विमल गुरुङले मंगलबारदेखि ६ वटै युनिटबाट पूर्णक्षमतामा विद्युत् उत्पादन सुरु भएको जनाएको छन् ।

आयोजना उदघाटन भएको एक महिना १० दिनभित्रै सबै युनिटबाट विद्युत् उत्पादन गर्न सफल भएको उपप्रबन्धक गुरुङले बताएका छन् । उत्पादित सबै विद्युत् गोंगर–खिम्ती–ढल्केबर प्रसारण लाइन मार्फत नेसनल ग्रिडमा जोडिएको छ ।

‘तोकिएको समयमा सबै युनिटबाट विद्युत् उत्पादन गर्न थुप्रै चुनौती थिए, तैपनि सबै चुनौतीलाई सामना गर्दै विद्युत् उत्पादन गर्न सफल भयौँ ।’ उप-प्रवन्धक गुरुङले भने । हाल खिम्तीदेखि ढल्केबरसम्मको प्रसारणलाइनमा सामान्य कामहरू बाँकी रहे पनि उत्पादित विद्युत् भने नियमित प्रवाह भइरहेको इन्जिनियर विमल गुरुङले जनाएका छन् ।

आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युतमध्ये चार युनिटको तीन सय चार मेगावाट विद्युतबाट आयोजनाले बुधबारदेखि प्रतियुनिट तीन रुपैयाँ ६३ पैसाका दरले दैनिक दुई करोड ६१ लाख रुपैयाँ आम्दानी गर्न थालेको छ ।

उप-प्रबन्धक गुरुङका अनुसार उनका अनुसार उत्पादित विद्युत बापतको आम्दानी हरेक वर्ष तीन प्रतिशतका दरले वृद्धि हुँदै जाने सम्झौता छ ।

आगामी आर्थिक वर्ष वर्षायाममा सम्झौता अनुसारको मूल्य वृद्धि हुँदा आयोजनाको आम्दानी प्रतियुनिट तीन रुपैयाँ ७४ पैसा हुने आयोजनाका अधिकारीहरूले जनाएका छन् ।

आयोजनाका दुईवटा युनिटबाट उत्पादित एक सय ५२ मेगावाट विद्युत् अहिले परीक्षणमा रहेको छ । उपप्रबन्धक गुरुङका अनुसार भदौ तेस्रो साताबाट सबै युनिटको उत्पादित विद्युतबापतको आम्दानी प्रतिदिन तीन करोड ९७ लाख २६ हजार सात सय २० रुपैयाँ हुनेछ ।

आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारणलाइनबाट न्यु खिम्ती सबस्टेसन पु¥याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारणलाइनबाट ढल्केबरको सबस्टेसनमा जोडिएको छ ।

२०६७ भदौ १७ गतेबाट मुख्य सिभिल संरचनाको निर्माण सुरु गरिएको आयोजनामा ११ वर्षपछि विद्युत् उत्पादन भएको हो ।

प्रतिकृया दिनुहोस्