News Portal

प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाइएको खुलासा

ईसगरमाथा संवाददातारौतहट, ५ भाद्र
१५९ पटक
रौतहट, ५ भाद्र

प्रहरीकै संलग्नतामा रौतहटका एक पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो ।

मोटरसाइकलमा लागुऔषध लुकाउन असइ यादव र जवान साहले स्थानीय दुई युवालाई प्रयोग गरेको देखिन्छ । यादव जिप्रकाका घुमुवा प्रहरी हुन् । गत ३२ साउनमा प्रहरीले स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध ‘नाइट्राभेट’सहित पक्राउ गरेको थियो । उनी चढेको मोटरसाइकलबाट प्रहरीले सो लागुऔषध बरामद गरेको थियो । उनीसँगै राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाहलाई पनि सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

तर, शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान पसेका वेला असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको देखिएको छ । सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायणप्रसाद चिमौरियाले भिडियोमा देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए । प्रहरीको संलग्नताबारे भने उनले तत्काल कुनै प्रतिक्रिया दिन नसक्ने बताए ।

यसैबीच, पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने दुवै प्रहरीलाई कडा कारबाहीको माग गरेको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर कारबाहीअघि बढाउन माग गरेका छन् । –नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्