News Portal

मुस्तांगमा निषेधज्ञा जारी छ, पर्यटक हिडेकैछन्

ईसगरमाथा संवाददाता कठमाण्डौं, ९ भाद्र
१७५ पटक
कठमाण्डौं, ९ भाद्र

कोरोना भाइरसको दोस्रो भेरियन्टको प्रकोपसँगै हिमाली जिल्ला मुस्ताङमा गत वैशाख देखि लगातार स्थानीय प्रशासनले पटक÷पटक निषेधाज्ञा जारी गर्दै आएको छ । मुस्ताङमा कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै भदौ १५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको छ ।

स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको उल्लेख गर्दै अति आवश्यक कामकाज बाहेक नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ भने मठमन्दिर ,गुम्बा, चैत्यबिहार,चर्च र मस्जिद लगायत ठाउँमा भेला हुन रोक लगाएको छ । यस्तै, सार्वजनिक स्थानमा मेला, महोत्सव, भोजभतेर र भीडभाडका गतिविधिमा रोक लगाइएको जनाएको छ ।
निषेधाज्ञा जारी भएको हिमाली जिल्ला मुस्ताङमा नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भए पनि एक विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको छ ।

स्रोतका अनुसार निषेधाज्ञा उलंघन गर्दै श्रावण २६ गते अष्ट्रेलियन नागरिक ( पुरुष ) मुस्ताङ प्रवेश गरेको बताइएको छ । कास्कीको मर्दी हिमालक्षेत्रको अनुमति मात्र लिएर आएका ती अष्ट्रेलियन नागरिकको साथमा मुस्ताङ घुम्नका लागि अनुमति नरहेको अन्नपूर्ण अनलाइनले जनाएको छ ।

मुस्ताङ घुम्ने बिना अनुमति आएका ती विदेशी पर्यटकलाई मुस्ताङ प्रवेशको अनुमती दिन स्थानीय प्रशासन समक्ष श्रावण २६ गते वारागुङ मुक्तिक्षेत्र गापाले सिफारिस गरेको थियो । कोरोना जोखिमको बेला नेपाली पर्यटक नै मुस्ताङ आउँदा समस्या हुने अवस्थामा पालिकाकै सिफारिसमा स्थानीय प्रशासनले मुस्ताङ विदेशी नागरिकालाई भने प्रवेश गर्ने अनुमति दिएको छ ।

निषेधाज्ञा जारी गरिएको मुस्ताङमा दुई साताअघि मुस्ताङ प्रवेश गरेका अष्ट्रेलियन नागरिक पुरुषको साथमा एक महिला पथप्रर्दशक समेत रहेको जनाइएको छ । उनीहरु पालिकाकै समन्वयमा वारागुङ मुक्तिक्षेत्र–२ झारकोटमा बसेका थिए । बिनापरमिट मुस्ताङ आएका उक्त विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले जरिवाना सहित परमिट काटेको पाइएको छ ।

उपल्लो मुस्ताङको ऐतिहासिक धार्मिक ,सांस्कृतिक सभ्यता र संरचनालगायतको अध्ययन अवलोकन गर्ने उद्देश्यले मुस्ताङ प्रवेश गरेका ती विदेशी पर्यटकले अध्यागमन विभागको अनुमति लिएका छैनन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ गापाको सिफारिसमा उक्त विदेशीलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमतीको सिफारिस स्थानीय प्रशासनलाई गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उक्त विदेशी पर्यटक मुस्ताङ आएको २ साता भइसकेकाले कोरोनाको जोखिम नहुने सुझाव सहित नेपाल सरकार अध्यागमन विभागलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमति दिँदा कुनै चुनौति नहुने जनाएको प्रजिअ पौडेलले बताए ।

प्रशासनले विदेशी पर्यटक जिल्ला भित्रिएको २ साता भइसकेकाले जिल्लाबाट जिल्लामै घुम्न कुनै जोखिम नहुने दावी गरे । निषेधाज्ञा जारी भएको मुस्ताङमा प्रशासनकै सुझाव अनुसार उक्त विदेशी नागरिकले मंगलबार अध्यागन विभागबाट उपल्लो मुस्ताङ घुम्ने अनुमती लिएका हुन् ।

उपल्लो मुस्ताङको ऐतिहाँसिक तथा पुरातात्विक गुम्बा र छोर्तेनको अध्ययन अवलोकनलाई उपल्लो मुस्ताङ जाने अनुमति पाएका उक्त अष्ट्रेलियन नागरिक भदौको १७ गतेसम्म उपल्लो मुस्ताङमै रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस्