News Portal

म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गर्ने गोदाममा छापा, १ पक्राउ

ईसगरमाथा संवाददाताकाठमाडौं, ९ भाद्र २०७८
१८१ पटक
काठमाडौं, ९ भाद्र २०७८

बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री बितरण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका–६ का ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्ला घर भई हाल जिल्ला काठमाडौं नयाँ बानेश्वर बस्ने उक्त कम्पनीका सञ्चालक प्रभात देव भने फरार रहेका छन् । म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको जानकारीको अधारमा महानगरीय अपराध महाशाखा मिनभवन र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले छापा मारेको थियो ।

उक्त टोलीले छापा मार्दा गोदाम गरी राखेको ठूलो परिमाणमा बिभिन्न कम्पनीबाट उत्पादित म्याद गुज्रिएका खाद्य सामाग्री बिस्कुटहरुः (Digestive, Crunchy, Coconut Cookies, Butter Cookies, Free–kick), पास्ता, सेवाई, कर्नफ्लेक्स, लगायतका खाद्य सामानमा नयाँ लेभलिङ गरीएको भेटीएका थिए ।

उक्त म्याद गुज्रिएका खाद्य सामानहरुमा मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री बितरणका लागि तयार गरीएको अवस्थामा भेटीएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन १ थान र लेभल मेट्न प्रयोग हुने केमिकल १ थान समेत बरामद गरेको छ । पक्राउ परेका खड्कालाई आवश्यक कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौं पठाइएको छ ।

टोलीले कम्पनी सटर तथा गोदाम शिल गरिएको छ भने उक्त कम्पनीबाट उल्लेखित बिभिन्न खाद्य सामग्रीहरु लिई बिक्रि वितरण नगर्नको लागी प्रहरीले अनुरोध गरेको छ । फरार रहेका कम्पनीका सञ्चालक प्रभात देवको खोजी गरिरहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्