News Portal

मानिसको लासलाई टुक्रा पारि गिद्धलाई खुवाउने अनौठो चलन

ईसगरमाथा संवाददातामुस्ताङ, १० भाद्र २०७८
७९१ पटक
मुस्ताङ, १० भाद्र २०७८

-भवानीप्रसाद शर्मा

मानिसको लासलाई काटेर टुक्रा पारि गिद्धलाई ख्वाउने चलन सुन्दा सायद जो कोही पनि अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो । मुस्ताङ जिल्लाको उपल्लो क्षेत्रमा रहेको यो मृत्यु संस्कारलाई एक अनौठो संस्कारको रुपमा मान्न सकिन्छ ।

मुस्ताङको सदरमुकाम जोमसोम देखि माथि अधिकांस लोवा जातिको समुदायको वसोवास छ र उनीहरुको आफ्नै किसिमको संस्कृती छ । यि जातिहरुको घरमा कुनै मानिस मरे पछि लामालाई वोलाएर एक दिन पुजा गर्ने गरिन्छ । लामाकै आदेश अनुसार पुजा गरिसकेपछि स्थानिय पात्रो (लोतो) हेरेर राम्रो दिन पारेर लासलाई चिहानमा लैजान्छन ।

विष्ट एवं धनि परिवारको व्यक्ति तथा औतारी लामाहरुको लासलाई जलाउने गरिन्छ भने गुरुङहरु विशेष गरि मध्यम एवं निम्न वर्गका व्यक्तिको लासलाई काटेर गिद्धलाई दिने मुस्ताङ्गी राजका पुजारी एवम् तिवेृतीयन डाक्टर आम्ची ग्याचो बिष्ट वताउँछन् ।

लासलाई काटेर गिद्धलाई खुवाउनको लागि प्रत्येक गाउँमा निश्चित तोकीएका व्यक्तिहरु हुन्छन् जसले उक्त लासलाई काटेर हड्ढीहरुलाई ढुङ्गामा थिचेर धुलो वनाई मासुसँग मिलाइएर गिद्धलाई दिन्छन् ।

चलन अनुसार एक जना लामाले पुजा गरेर पुस्तक पढ्दै ढ्याङग्रो वजाउने गर्छन जसवाट गिद्धको आगमन हुने गर्दछ । यदि गिद्ध धेरै आएनन र लास पुरै ख्वाउन सकिएन भने लासलाइ माटोमुनी गाडिन्छ र अर्को दिन पुन गिद्धलाई दिइन्छ ।

मृतक व्यक्तिको छोराछोरीहरु मलाममा जाँदैनन र मरेको तिन दिनको दिनमा लामाहरु र छिमेकीहरुलाई वोलाएर प्रत्येक हप्ताको एक दिन गरि सात हप्तासम्म पुजा गरिन्छ । छिमेकीहरुले पनि आउँदा साथमा अनाजहरु लिएर आउने चलन छ । मरेको ४९ दिन भएपछि अर्घौ (सेर्क) गरिन्छ र यो अर्घौ अलि खर्चिलो हुन्छ ।

त्यस पछि ठीक एक वर्षमा तिनदिनको लागि अर्को अर्घौ (घेवा) गरिन्छ, यो अर्घौ अन्तिम हो । यसमा टाढा टाढावाट इष्ट मित्रहको साथै दुईवटा देखि वढिमा १५ जना लामालाई आफ्नो गक्ष अनुसार वोलाइन्छ । लामालाई खाना दिएर आफ्नो क्षमता अनुसार दक्षिणा दिने गरेको स्थानीयवासीहरु वताउँछन् ।

“मरेको लास मध्ये कसैलाई पोल्ने, कसैलाई गाड्ने, कसैलाई पानीमा बगाउने र कसैलाई काटेर गिद्धलाई ख्वाउने चलन छ तर त्यो आम्जी लामाहरुले पात्रोमा लेखिएअनुसार मात्रै गरिन्छ” विष्ट भन्छन् । परम्परादेखिनै चल्दै आएको यो चलनलाई उपल्लो मुस्ताङवासीले पौराणिक नियमहरुलाई मान्दै आएका छन् । समाज विकासको क्रममा जस्तो प्रचलन भएतापनि पौराणिक संस्कारलाई जोगाउनै पर्ने बिष्टको धारणा छ ।

प्रतिकृया दिनुहोस्