News Portal

प्रदेश नं १ मा भीम आचार्य मुख्यमन्त्री बने

ईसगरमाथा संवाददाताविराटनगर, १० भदौ २०७८
६९ पटक
विराटनगर, १० भदौ २०७८

एमालेको पार्टी एकता जोगाउने योजनाका साथ एमाले सचिव भीम आचार्य प्रदेश नं १ को मुख्य मन्त्री बनेका छन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।

प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए पछि आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री आचार्यको यहाँसम्मको यात्रा भने निकै सकसपूर्ण बनेको थियो । आचार्यलाई यो अवसर प्राप्त गर्न एमाले विभाजन नै कुर्नुप¥यो । एमालेका ५१ मध्ये २४ जना सांसद भेला भएको बैठकले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रदेश सभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन् ।

संसदमा बहुमत सिद्ध गर्न आचार्यलाई ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । माधव नेपाल समूहका १८ जनामध्ये आचार्यसहितका ८ जनाले एमाले रोज्ने निर्णय गरेका थिए । एमालेका ५ जना प्रदेश सभा सदस्यमात्र एकीकृत समाजवादी पार्टीमा गए आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चीत छ ।

प्रदेश सभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । ९३ सदस्यीय प्रदेश सभामा अहिले कायम रहेका ९२ मध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।

नेकपा (एकीकृत समाजवादी)मा ५ सांसद प्रवेश गरे अहिलेको सरकार ढल्नेछ भने ७ जना सांसद प्रवेश गरे विपक्षी गठबन्धनको सरकार बन्नेछ । दल विभाजनसम्बन्धी अध्यादेशअनुसार २१ दिनभित्र प्रदेश सभाका सदस्यले नयाँ पार्टी रोज्न पाउने छन् ।

आचार्यले यसअघि शेरधन राईसँग एमाले संसदीय दलमा प्रतिष्पर्धा गरेर हारेका थिए । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो ।

तर फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि आचार्यको मुख्यमन्त्री बन्ने दौड रोकिएको थियो । पछिल्लो समयमा अध्यक्ष ओलीले मुख्यमन्त्रीको आश्वासन दिएपछि उनले नेपाल समूहको साथ छाडेका थिए ।

यता आचार्यको मुख्यमन्त्री नियुक्तिको तयारी हुँदै गर्दा उनका भाइ राम्रप्रसाद घरमा मृत भेटिएका थिए । भाइको अन्तिम संस्कारका लागि आचार्य आजै आफ्नो गाउँ इनरूवा जाँदै छन् ।

प्रतिकृया दिनुहोस्