News Portal

काबुल विमानस्थल विष्फोटमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६०को मृत्यु

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ११ भाद्र २०७८
१३५ पटक
काठमाण्डौ, ११ भाद्र २०७८

अफगानिस्तानको काबुल सिथ्त विमानस्थलबाहिर ठूलो विष्फोट हुँदा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटमा परेर १२० भन्दा बढी घाइते भएको जनाइएको छ । विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ ।

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो । सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए ।

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिँदै आएको थियो । विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १ लाख भन्दा बढीलाई अन्यत्रै लगिएको छ । तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन् ।

अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस–के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो ।

हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो ।

प्रतिकृया दिनुहोस्