News Portal

सैनिक अदालतको त्रुटिपूर्ण फैसला सच्याइने

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ११ भाद्र २०७८
५२० पटक
काठमाण्डौ, ११ भाद्र २०७८

नेपाली सेनाले हतियार चोरी अभियोग प्रमाणित गर्दै सैनिक अदालतले साढे दुई वर्षअघि लवकुमार गुरुङ र सरोज तामाङविरुद्ध गरेको त्रुटिपूर्ण फैसला सच्याउने दिशातर्फ अघि बढ्ने संकेत देखाएको छ । भद्रकालीस्थित सैनिक मुख्यालयमा बिहीबार बसेको विशेष अदालतले मुद्दाका सन्दर्भमा यसअघि भएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजन पत्र पेस गर्न आदेश दिएको छ ।

आदेशपछि अब सेनाले घटनासँग जोडिएका तारा तामाङ र पवन गुरुङको पक्षमा उच्च अदालत हेटौँडाले गरेको फैसला र जिल्ला अदालत चितवनले गंगाधर ढकालविरुद्ध गरेको आदेशसहितको कागजात अदालतमा पेस गर्नुपर्नेछ । सोही कागजातका आधारमा विशेष अदालतले कैद सजाय भुक्तान गरिरहेका लवकुमार र सरोजलाई निर्दोष ठहर गरी विनासर्त रिहा गर्ने वा साविककै फैसलामा सदर जनाउने भन्ने विषय तय गर्नेछ ।

कैद सजाय भुक्तान गरिरहेका लवकुमार र सरोजका पक्षबाट बहसमा उत्रिएका अधिवक्ता सोमनाथ ढुंगानाले सैनिक विशेष अदालतले मुद्दासँग जोडिएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजनपत्र पेस गर्न आदेश भएको बताए । उनले भने, ‘सैनिक विशेष अदालत बिहीबार बसेको थियो ।

अदालतले मुद्दासँग जोडिएका फैसला, आदेश, अभियुक्तविरुद्धका अभियोजनपत्रलगायतका कागजात पेस गर्न आदेश गरेको छ । अब सेनाले आदेशबमोजिमको कागजात पेस गर्नेछ । सोही कागजातका आधारमा लवकुमार र सरोज कैदमुक्त हुने वा कैदमै रहने विषय तह हुनेछ ।’

सेनाको चितवनस्थित कालीबहादुर गणबाट तीन वर्षअघि ‘केआर१००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) चोरी भएको थियो । चोरी अभियोगमा सोही गणमा कार्यरत लवकुमार, सरोज र चुबी गुरुङलाई सेनाले २ पुस ०७५ मा पक्राउ गरेको थियो । चोरीको सोही हतियार बिक्री गरेको अभियोगमा सेनाले गैरसैनिक उदयपुर गाईघाटकी २८ वर्षीय तारा तामाङ र उदपुर चौदण्डी–९ का टाइचिन भनिने पवन गुरुङलाई पनि पक्राउ गरेको थियो ।

पक्राउमध्ये तारा र पवनको मुद्दा जिल्ला अदालत चितवनबाट चलेको थियो । सैनिक भएका कारण लवकुमार, सरोज र चुबीको मुद्दा भने समरी जनरल सैनिक अदालतमार्फत चलेको थियो ।

अभियोग प्रमाणित गर्दै सैनिक अदालतले १८ वैशाख ०७६ मा भविष्यमा सरकारी जागिरबाट समेत अयोग्य ठहर गर्दै लवकुमारलाई १० र सरोजलाई सात वर्षको कैद सजाय हुने फैसला ग¥यो । चुबीलाई भने जागिरबाट बर्खास्त गर्ने फैसला गरेको थियो  । –नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्