१. वर्तमान राजनीतिक व्यवस्था र यसका मूख्य राजनीतिक चरित्रको विखण्डनको क्रमलाई पनि द्रुतगतिमा अघि बढाइरहेकोले, यो व्यवस्था र वर्तमान राजनीतिक नेतृत्वको शीघ्र अन्त्यको लागि पनि कतै जानी नजानी यस्तो झूठ, भ्रम, घृणाको राजनीतिक र रणनीतिक व्यापार चलाइएको त होइन र ?

भारत स्वतन्त्र हुनु अघि र चीनमा माओको साम्यवादी शासन स्थापना हुनु अघि नै नेपाल र अमेरिका बीच दौत्य सम्वन्ध स्थापना भैसकेको थियो । तत्कालीन विश्वको सर्वशक्तिमान् मुलुकको हैसियतमा बेलायतले नेपालको स्वतन्त्रतालाई मान्यता दिने सन्धि पनि गरिसकेको थियो ।

अर्थात् नेपाल र ब्रिटेन बीच भएको १९२३ को त्यही सन्धि र नेपालको अमेरिका सँगको दौत्य सम्वन्धले गर्दा नै भारत नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई स्वीकारेर १९५० को सन्धि गर्न वाध्य भएको थियो ।

त्यसैले भारत स्वतन्त्र हुनु अघिका करीव छ सय भारतीय राज्यहरू भारत र पाकिस्तानमा गाभिँदा पनि नेपाल स्वतन्त्र रहन सक्यो । स्मरण रहोस ती छ सय राज्य मध्ये कतिपय राज्य त नेपाल भन्दा ठूला, शक्तिशाली र समृद्ध पनि थिए । तर उनीहरू सँग १९२३ को सन्धि थिएन र अमेरिका सँग दौत्य सम्वन्ध पनि थिएन ।

२. नेपाललाई भारतमा गाभ्न नेहरू र पटेललाई तिनै दुई कुराले छेकेका थिए । माओले तिब्बत सँगै चीनको तिब्बत रूपी हत्केलाका नेपाल, भुटान, सिक्किम, लद्दाख र अरुणाचल प्रदेशलाई पाँच औँला बताएर नेपाललाई पनि तिब्बतसँगै आफ्नो नियन्त्रणमा ल्याउन चाहेका थिए । नेपालको भारत र अमेरिकासँगको सम्वन्धले नै माओलाई छेक्यो ।

१९६२ मा भारतमाथि आक्रमण गरेर अक्साइ चीन लिन सक्ने र १९४९ मा तिब्बत र पूर्वी तुर्किस्तान वा उइगुरिस्तान भनिने सिञ्जियाङ्ग माथि आक्रमण गरेर आफ्नो राज्यमा मिलाउन सक्ने चीनले नेपाललाई नियन्त्रणमा लिने कोशिश नगर्ने भन्ने आउँदैनथ्यो । हो, १९५० को नेपाल र भारत सँगको सन्धिले पनि चीनलाई त्यसो गर्न निरुत्साहित गरेको थियो ।

३. नेपाललाई सडक, शिक्षा, कृषि, खनिज स्रोत विकाश, रोप वे जस्ता आधारभूत संरचना निर्माण र विकाशमा सवैभन्दा पहिला आर्थिक र प्राविधिक सहयोग उपलव्ध गराउने मुलुक नै अमेरिका थियो ।

सत्र साल पुस एक गते पछि नेपालले नेपाल, भारत र अमेरिकाको संयुक्त परियोजना Regional Transportation Organization आरटिओ खारेज गरिदियो र आरटिओ अन्तर्गतका परियोजनाहरू टुहुरा भए । राजनीतिक कारणले तिनलाई परित्याग गरिएको हो । खर्च भएको रकम खेरा गयो र त्यसको बजेट अन्यत्र सारियो ।

त्यस्तै अनुभव अन्य मुलुकहरूमा पनि बेहोरेको अमेरिकाले पछि आएर आफ्नो सहयोगमा सञ्चालित परियोजनाहरू शुरू भएपछि त्यसको समाप्ति नहुन्जेल सम्वन्धित मुलुकको कानूनमा वा सरकारमा हुने परिवर्तनको असर त्यस्ता परियोजनाहरूमा नहुने प्रतिवद्धता संसद र सरकारबाट खोजेको अवस्थाबारे नेपालको संविधान र कानून नलाग्ने भनेर भ्रम उत्पन्न गर्न खोजिदै छ ।

४. आफ्नो मुलुकको कुनै कानून अन्तर्गत दुई पक्षको सहमति पछि सञ्चालित परियोजना अर्को मुलुकको त्यसपछि हुने कानूनमा संसोधनले असर नपारोस भन्ने प्रतिवद्धता दाता मुलुकले खोज्यो भने त्यो कुन अर्घेल्याँई हो ?

आर्थिक अनियमितता हुन नदिने उद्देश्यले हरेक दाता मुलुक र संस्थाले आफूले दिएको रकमको परियोजनाको लेखा परीक्षण आफ्नो मुलुक र संस्थाले मान्यता दिएको लेखा परीक्षण संस्थाबाट गराउने अभ्यास छ ।

अन्यत्र हेर्नु पर्दैन । नेपालको सर्वोच्च अदालतमा न्यायाधीश पठाउने र नेपालको महान्यायाधिवक्ता बनाउने नेपाल बार एसोसिएसनले अन्य दाता संगठनसँग गरेको परियोजना सम्झौताहरू पढे हुन्छ कसैले ।

५. मूख्य सवाल एमसिसी खारेजी, भारतसँगको सम्वन्धमा तनाव र सत्तारूढ दल र सरकारको चीनसँगको बढ्दो रणनीतिक घनिष्टताको दवाव नेपालले धान्न सक्छ ? भन्ने हो । मूलत् हाम्रो अर्थतन्त्र भनेको उपभोक्ता अर्थतन्त्र हो । रेमिटेन्स सरकारको आय होइन तर नेपाल बाहिर बस्ने नेपालीले आफ्नो घर परिवारलाई पैसा पठाउँछन् । त्यो पैसाले उनीहरू बजारबाट सामान खरिद गरेर उपभोग गर्दछन् । त्यस्तो सामग्री खरिद गरेर उपभोग गर्नेका लागि आयात गरिएको सामानमा लाग्ने भन्सार र भ्याटबाट देश धानिएको हो ।

सरकारमा बस्ने र राजनीति गर्ने सवैका लागि सुख, सुविधा, भोग-विलासका सामग्री जुटाउन देखि सर्वसाधारणले उपभोग गर्ने दाल, चामल, नून, तेल, चिनी, तरकारी आयात गर्न आवश्यक विदेशी मुद्राको ठूलो अंश पनि त्यसरी नै आउने हो । त्यो पैसाको स्रोतमा ठूलो कमी आउने छ अब । अर्को स्रोत पर्यटन, त्यो पनि थला बसिसकेको छ । आजको भोली उठ्ने होइन, अर्को डेढ-दुई बर्षमा पनि के हो ?

६. रेमिटेन्स सुक्दै जाने, कोरोनाका कारण संसारका ठूला दाता राष्ट्रहरूले दिने अनुदान सहयोगमा ठूलो कटौती हुने अवस्थामा आफ्नो आन्तरिक स्रोतबाट कर्मचारीको तलव खुवाउन पनि नसक्ने हाम्रो जस्तो मुलुकले अमेरिकाको प्रतक्ष सहयोगबाट मात्र होइन, अमेरिकी प्रभावमा रहेका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाबाट प्राप्त हुने सहयोगमा समेत प्रभाव पार्न सक्ने मुलुक माथि अनेकौँ झूठ, भ्रम र फत्तुर थापेर घृणा पोख्नु नेपाली राष्ट्रियता र स्वाभिमानको अपमान हो ।

त्यस माथि युवा, जागरुक र छिट्टै युवा जोश पोख्न तम्तयार हुने लाखौँ लाख युवाहरू कोरोनाको कारण रोजगारी खोसिएर नेपाल आए पछि उनीहरूको आक्रोश र असन्तुष्टिलाई थाम्न आवश्यक आर्थिक गतिविधि सञ्चालन गर्न पनि एमसिसी जस्ता परियोजना चाहिन्छन् । एउटा होइन दस वटा एमसिसीको लागि कोशिश गर्ने हो हामीले ।

हाम्रो भौगोलिक अवस्थितिका कारण भारत, चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, रूसको सरोकार नेपालमा हुन्छ र त्यसबाट बढी भन्दा बढी विकास निर्माणका परियोजनाहरूलाई स्वागत गर्नु पो मुलुकको हितमा हुन्छ त !

७. त्यसैले, कोरोना सङ्कट पछिको नेपाली अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्न, रेमिटेन्सले गतिमान गराइरहेको अर्थतन्त्रलाई आवरूद्ध हुन नदिन, र विदेशबाट र्फिकएर आउने युवालाई उत्पादक गतिविधिमा संलग्न गराएर उनीहरूलाई सडकमा पोखिन आउन नदिन पनि भारत र अमेरिका जस्ता मुलुकसँगको सम्वन्धलाई जोखिममा पर्न दिने अनुमति नेपाल जस्तो अत्यन्त संवेदनशील भूराजनीतिक अवस्थाको राष्ट्र र राज्य क्षमताको दृष्टिले अत्यन्त कमजोर मुलुकले दिँदैन । दिन सक्दैन ।

यस्तो अवस्थाको मुलुकले विदेश मामिलामा सरकार, दलहरू, वुद्धिजीवी, मिडिया र आम नागरिकहरूको स्तरमा परराष्ट्र नीति र छिमेकीहरूको सवालमा अभिव्यक्त हुने यस्तो छिचरो अभिव्यक्ति, अन्यौल र अराजकता राष्ट्रका लागि घातक हुन सक्दछ ।

८. प्रष्ट छ, एमसिसी होइन, एमसिसीको नाउमा चलाइएको झूठ, भ्रम, कुण्ठा र आग्रहको राजनीतिक व्यापार धेरै खतरनाक छ । प्रश्न के पनि छ भने, यस किसिमको गतिविधिले वर्तमान राजनीतिक व्यवस्था र यसका मूख्य राजनीतिक चरित्रको विखण्डनको क्रमलाई पनि द्रुतगतिमा अघि बढाइरहेकोले, यो व्यवस्था र वर्तमान राजनीतिक नेतृत्वको शीघ्र अन्त्यको लागि पनि कतै जानी नजानी यस्तो झूठ, भ्रम, घृणाको राजनीतिक र रणनीतिक व्यापार चलाइएको त होइन ?

हो भने भारत र अमेरिकाबारे अझ बढी झूठ, भ्रम र घृणाको खेती गरौँ । एमसिसीलाई अर्को अरूण तीन परियोजना बनाएर मुलुकलाई वर्षौं लोड सेडिंङ्ग र अन्धकारमा राख्ने वाम राजनीतिलाई दोहोर्‍याइ दिऔँ ।

९. नेपालमा नेकपाको दुई तिहाई बहुमतको सरकार बनेर चीन र चीनियाँ कम्युनिस्ट पार्टी सँग घनिष्ट राजनीतिक सम्वन्ध स्थापना भएपछि व्यवहारमा नेपाल माथि चीनियाँ राजनीतिक प्रभुत्व स्वाभाविक रूपमा स्थापित भएको छ ।

त्यस्तो तनाव र विवाद मध्ये हिजो नेपालका दुई ठूला कम्युनिस्ट पार्टी बीचको एकता र आज त्यो सत्तारूढ दल भित्रको आन्तरिक द्वन्द्व चरम स्वरूप ग्रहण गरिरहेको बेलामा चीनियाँ राष्ट्रपति र नेपाल स्थित राजदूतको प्रयाश र हस्तक्षेप पछि एकाएक त्यो विवाद साम्य भएको र एमसिसीको सवालमा नेपाल आक्रामक रूपमा अघि आएको अवस्था कसै सामू छिपेको नहोला ।

ठाडो भाषामा भन्दा चीनसँगको बढ्दो घनिष्टताको परिणाम भारत र अमेरिकासँगको सम्वन्धमा तनाव र भ्रम उत्पन्न हुने गरी अभिव्यक्त भएको देखिनुले चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको भाइचारा सम्वन्ध हुनु र नेकपा चीनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनको रूपमा देखिँदै गरेको चर्चा नेपाली राजनीतिमा हुन थालेकोले त्यसले ल्याउने राजनीतिक तनाव र दुर्घटनालाई धान्न हामीले नसकौँला । चीनले नेपाललाई गर्ने सहयोगको पनि कुनै सीमा होला ।

१०. एक किसिमले विश्व राजनीतिमा नै प्रशस्त विकृति देखिन थालेको छ । राज्य अङ्गहरू सडनको शिकार भइरहेका छन् । कोरोनाले नेपालमा मात्र होइन विश्व स्तरमा नै एउटा अत्यन्त अराजक युगलाई आमन्त्रण गरिरहेको छ ।

विकृतिले भरिएको राजनीतिका साथै यो अराजक युगमा आफ्नो राजनीति र आफ्नो मुलुकको भविष्यलाई सुरक्षित गर्न शक्तिशाली देशहरूले प्रतिद्वन्द्वी मुलुकहरू विरूद्ध आक्रामक रणनीति अवलम्वन गर्ने छन् र गर्दैछन् पनि ।

भारत, चीन र अमेरिकाले त्यसको सङ्केत पनि गरिरहेका छन् । आन्तरिक रूपमा सक्षम राष्ट्रले त्यसो गरे भन्दैमा नेपाल जस्तो झिनो आन्तरिक उर्जा र क्षमताको राष्ट्रका लागि त्यो सजिलो छैन ।

११. त्यसै सन्दर्भमा हाम्रो भारतसँगको सम्वन्धमा सीमा विवाद चुलिएको छ । अमेरिकी सहयोग कार्यक्रमको मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत नेपाल र अमेरिका बीच सम्पन्न सो सम्वन्धी सम्झौताले मुलुकमा चर्को विवाद र बहश उठेको छ । नेपालको अमेरिका र भारतसँगको सम्वन्धमा एकै चोटी विवाद र तनाव उत्पन्न भएको छ ।

१२. छोटो चर्चा यसको विगत बारे गरौँ : सेप्टेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घले मिलेनियम डिभेलपमेन्ट गोल्स अर्थात सहश्राव्दी विकास लक्ष्य घोषणा गर्यो । त्यसको एक वर्ष पछि अमेरिकाको ट्वीन टावरमाथि अल कायदाको आतंकवादी आक्रमण भयो ।

अफगानिस्तान जस्तो सानो र कमजोर मुलुकमा उत्पन्न हुने अस्थिरता र अराजकताको बाटो आउने आतंकबाट अमेरिका जस्तो मुलुकको रक्षा मन्त्रालय र ह्वाइट हाउसमाथि सम्म सोझै आक्रमणको सम्भावना हुँदो रहेछ भन्ने कुरो बुझिए पछि गरीव मुलुकहरूको आर्थिक अवस्था सुधार गर्न अमेरिकी योगदानको माग अन्तर्राष्ट्रिय स्तरमा हुन लाग्यो ।

१३. त्यसै क्रममा छुट्टै कानुन बनाएर अमेरिकाले अन्य विकाश एजेन्सीहरूका विकृतिहरूबाट समेत जोगिने गरी २००४ मा एमसिसी सम्वन्धी कानुन पास गर्यो र इन्डो प्यासिफिक स्ट्रेटेजीको घोषणा त डोनाल्ड ट्रम्प निर्वाचित भएर आइसके पछि २०१९ मा मात्र भएको हो ।

इण्डो प्यासिफिक रणनीति चीन लक्षित हो भन्दैमा हामीले किन टाउको दुखाउनु ? चीन आफैँ आफ्ना विरूद्ध लक्षित रणनीतिको सामना गर्ने सामर्थ्य राख्दछ, हामी धुरा उठ्नु आवश्यक छैन ।

हिजो अमेरिका र चीनबीच कटु सम्वन्ध हुँदा पनि हामीले दुबै मुलुकसँगको सम्वन्ध व्यवस्थापन गरेर सुमधुर सम्वन्ध राख्न सफल भएकै हो नी ! अमेरिका र सोभियत सङ्घ शीत युद्धको जटील चरणमा थिए । दुवै मुलुक सँग हाम्रो सम्वन्ध सुमधुर रह्यो त ।

१४. इण्डो प्यासिफिक पनि रणनीति हो र बेल्ट एण्ड रोड इनिसिएटिभ पनि रणनीति हो । चीनियाँ राष्ट्रपति सी जिन पिङ्गको भ्रमणको अन्त्यमा आएको विज्ञप्तिमा पनि रणनीति शव्द बारबार प्रयोग भएको छ ।

त्यसैले एमसीसी विकाश रणनीतिको दस्तावेज हो यसका शर्तहरूको नाउमा राजनीति गर्न आवश्यक छैन । त्यहाँ समावेश शर्तहरू स्थापित अन्तर्राष्ट्रिय अभ्यास हुन् ।

अर्को कुरा, एमसीसीको अस्वीकृतिको बहुआयामिक असर अहिले भने जस्तो सजिलो नहोला । एकै वाक्यमा भन्नु पर्दा हाम्रो सुरक्षा, स्थिरता र समृद्धिको सुनिश्चितिको लागि राजनीतिक संयम, सन्तुलन र कुटनीतिक कौशलको विकल्प छैन ।

-भट्टराई अन्तर्राष्ट्रिय सम्बन्धमा भूराजनीतिक विश्लेषक हुन् ।