News Portal

मुला बेचेर महिनामा करोड भन्दा बढी आम्दानी

पत्रपत्रिकावाटफिदिम, १४ भदौ २०७८
४९ पटक
फिदिम, १४ भदौ २०७८

पाँचथरको फिदिम नगरपालिका–३ सिम्लेका सन्तबहादुर मुखियाले आफ्नो बारीमा उत्पादन भएको मुला बेचेर यो वर्ष ३ लाख रुपैयाँ कमाए । मुखियाले तीन सिजनमा उत्पादन भएको मुला बेचेर ३ लाख रुपैयाँ हात पारेका हुन् ।

छोटो समय र कम मिहिनेतबाटै राम्ररी मुला उत्पादन गर्न सकिने भएकाले मुलाबाट छिटो र राम्रो आम्दानी हुने गरेको हो । ‘बारीमा छरेको ९० दिनमा मुला उत्पादन हुन्छ,’ मुखियाले भने, ‘एक वर्षमा तीन सिजन मुलाको खेती गर्न सकिन्छ ।’

फिदिमको लालीखर्क, सुकेपोखरी, सिलौटी, इथुङ र फाल्गुनन्द गाउँपालिकाको केही भागमा मुलाको व्यावसायिक खेती गरिएको छ । पाँचथरका करिब ३० हजार किसानले मुला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । किसानले बारीबाटै प्रतिकिलो १२ रुपैयाँको दरले मुला बिक्री गर्छन् । यो क्षेत्रबाट दैनिक १५ पिकअप (गाडी) मुला निर्यात हुने अनुमान गरिएको छ।

एउटा पीकअपबाट २ हजार ४ सय किलो मुला निर्यात हुन्छ। यसरी हेर्दा पाँचथरबाट दैनिक ३६ हजार किलो मुला निर्यात हुने गरेको छ । प्रतिकिलो १२ रुपैयाँले मुला निर्यात हुँदा दैनिक ४ लाख ३२ हजार रुपैयाँ किसानको हातमा पर्ने गरेको हो। यसरी हेर्दा एक सिजनमा १ करोड २९ लाख ६० हजार रुपैयाँ हाराहारीमा पाँचथरबाट मुला निर्यात हुने गरेको हो ।

सिलौटीका मुला व्यापारी मचिन्द्र मुखियाका अनुसार पाँचथरबाट एक वर्षमा करिब ४ करोडका मुला निर्यात हुने गरेको छ । वर्षमा तीन सिजन मुला उत्पादन हुने भएकाले चार करोडको मुला निर्यात हुने गरेको उनले बताए । ‘मुला खेतीबाट किसानले छोटो समयमा राम्रो आम्दानी गरिरहेका छन्,’ फिदिम ३ का वडाध्यक्ष नरेन्द्र गुरुङले भने, ‘यस क्षेत्रका किसानले महिनामा करोड भन्दा धेरै मूल्यको मुला बेच्छन् ।’

यहाँका किसानले १० रोपनीसम्म जमिनमा मुला खेती गरेका छन् । यहाँको मुला भारतको सिलगुडीसम्म निकासी हुने गरेको हो । -अन्नपूर्ण पोष्ट

प्रतिकृया दिनुहोस्