News Portal

नेपालमा ड्राइभिङ लाइसेन्स को वितरण प्रणाली भताभुङ्ग

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २५ भाद्र २०७८
९९ पटक
काठमाण्डौं, २५ भाद्र २०७८

नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको छ । सरकारको अकर्मण्यता, ढिलासुस्ति गैह्रजिम्मेवारीका कारण नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको हो ।

यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै कार्यसंपादन गर्न सकेका छैनन् । काम कारवाही सही तरिकाले गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित, प्रयोगात्मक परीक्षा र लाइसेन्स छपाइ र वितरण सम्मका सबै काम सरकारको नियन्त्रण वाहिर रहेकोले लाइसेन्सको आवेदन अनिश्चितकाल सम्मका लागि बन्द गर्नुपरेको यातायात ब्यबस्था विभागले जनाएको छ ।

कोरोनाको कारण लामो समय आवेदन रोकिएकाले नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा रहेकाहरु अन्योलमा छन् ।

यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि खुलाउने निर्णय गरेको थियो । विभागका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन गरेका करिब ३ लाख आवेदक चालकको परीक्षा अलपत्रमा परेको छ ।
काठमाडौंका ४ वटै लाइसेन्स कार्यालयले परीक्षा लिन सुरु गरिसकेको यातायात व्यवस्था विभागमा महानिर्देशक नवराज घिमिरे बताउँछन् । ‘हेटौंडा कार्यालयले पनि सुरु गर्दैछ,’ उनी भन्छन्, ‘अरुले पनि परीक्षा सुरु गर्न मिति घोषणा गर्दैछन् ।’

उनले भनेअनुसार नै सबै कार्यालयले तत्कालै परीक्षा लिन सुरु गरेपनि आवेदन दिएका साढे ४ लाख जनाले कहिलेसम्म परीक्षा दिइसक्छन् भन्ने निश्चित छैन । यसले गर्दा लाइसेन्सको परीक्षाका लागि आवेदन दिन चाहनेहरु पनि मारमा पर्नेछन् । सम्बन्धित लाइसेन्स कार्यालयहरु हाल आवेदन दिएकाहरुले परीक्षा दिएपछि मात्रै नयाँ आवेदन लिने पक्षमा छन् ।

महानिर्देशक घिमिरेका अनुसार बन्द भएको आवेदन दिने प्रणाली असोज दोस्रो साताबाट खोल्न सकिने बताउँछन् । परीक्षार्थीको चाप घटेपछि मात्रै नयाँ आवेदन पनि खुल्छ,’ घिमिरे भन्छन्, ।
समस्या लाइसेन्सको आवेदन तथा परीक्षामा मात्रै छैन । परीक्षा पास भएर बसेकाहरुलाई लाइसेन्स छापेर दिने पक्षमा पनि उस्तै समस्या छ । यातायात व्यवस्था विभागमा अहिले लाइसेन्स परीक्षा पास गरेर र नवीकरणको प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेकाको संख्या ५ लाख ९२ हजार छ । विभागमा स्मार्ट लाइसेन्स छाप्ने कार्डको मौज्दात नै छैन ।

स्मार्ट लाइसेन्स चिप्सयुक्त पोलिकार्बोनेट कार्डमा छपाइ हुन्छ । तर, सो कार्डको आपूर्तिमा विभागले ढिलाइ र लापरबाही गर्दा लाइसेन्स छाप्ने काम हुन सकेको छैन ।
विभागले फ्रान्सको सेल्प कम्पनीसँग १४ लाख वटा कार्ड आपूर्तिका लागि खरिद सम्झौता गरेको छ । तर, विभागको स्मार्ट लाइसेन्सको प्रणाली भारतको ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’सँग भएको थियो ।
अब सेल्पले आपूर्ति गर्ने कार्डको विशेषताअनुरुप मद्रासले बनाएको लाइसेन्सको सफ्टवेयरमा परिवर्तन पर्सनलाइजेसन गर्नु पर्ने हुन्छ । विभागले पर्सनालाइजेसनको काम आफैंले गर्ने भनेपनि नेपाली जनशक्तिबाट सो काम सम्भव भएको छैन ।
लाइसेन्स लिने प्रक्रिया पूरा गरेकाहरुलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स दिन थालेपछि स्मार्ट लाइसेन्सको छपाइमा परेको चाप पनि कम हुने विभागको विश्वास छ ।

विभागका अनुसार स्मार्ट लाइसेन्सको प्रविधिमा काम गर्ने सीमित कम्पनी रहेको र उनीहरुको प्रविधि फरक–फरक भएकाले कार्ड र सफ्टवेरको तालमेल मिलाउन नसक्दा समस्या परेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्