News Portal

ढाड दुख्ने समस्या र त्यसको समाधान

३३ पटक
तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् ।
थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् । त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु ।
-के कति कारणले ढाड दुख्न सक्छ ?
ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् :
१. गलत तरिकाले चिजबिजहरु उचाल्नु ।
२. एक्कासी गरीने कडा व्यायाम ।
३. अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन ।
४. आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी ।
५. उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन ।
६. कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा ।
७. लामो समयसम्म कुप्री परिरहनु ।
८. धेरै गह्रौं वस्तुहरु उचाल्नु ।
९. गर्भवती अवस्था ।
१०. विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
यि र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।
-कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ ?
घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने वा डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ:
१. ज्वरो आएमा ।
२. धेरै टाउको दुखेमा ।
३. ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोईड’ औषधी सेवन गरिरहेको भएमा ।
४. खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा ।
५. निद्रा नलागेमा ।
६. गर्भवती अवस्थामा ।
७. दिसा वा पिसाब आफै हुन थालेमा ।
८. घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा ।
-घरायसी उपचार
घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा ‘आइस’ लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि ‘हट ब्याग’ वा हिटरको प्रयाग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने औषधीहरुको प्रयोग गर्न सकिन्छ ।
-रोकथामका उपायहरु
१. सामान्य व्यायाम (शरिर तन्काउने हिँड्ने) ।
२. क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण  ।
३. पानिको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ ।
४. धेरै कमलो बिछ्यौनामा नसुत्ने ।
५. ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने ।
प्रतिकृया दिनुहोस्