News Portal

बा डोको नफाल्नु है ! (कथा)

१८८ पटक

-सुशील खनाल, बुटवल
कुनै गाउँमा काम गर्न नसक्ने बुढा–बुढी र दिर्घ रोगी लाई डोकोमा बोकेर लगि भिरको टाकुरा बाट गुल्ट्याइदिने चलन थियो । बुढाबुढी र रोगी लाई आफ्नै ओछ्यानमा सजिलो सँग मर्नु थिएन । काम गर्न सक्ने शक्ती हराएपछी अब कती बेला भिरबाट गुल्टिनुपर्ने हो भन्ने सोची बुढा बुढी तथा रोगिहरु आफ्नो जीवनको आशा मारी बस्थे । भिर यती ठुलो र अप्ठ्यारो थियो कि त्यहाँबाट खसेपछी शरीर टुक्रा टुक्रा हुन्थ्यो ।

सो गाउँमा दुईजना बुढा बुढी, दुई जना छोरा बुहारी र एक जना नाती सहितको परिवार थियो । सबै जनाले आफुले सक्दो काम गर्ने गर्थे । नाती निकै ज्ञानी थियो । नातिले हजुरबुवा–हजुरआमा सँग बाट धेरै ज्ञानका कुराहरु सिकेको थियो । नातिको कृयाकलाप देखेर सबै गाउँले छक्क पर्थे । नाती लाई भने काम गर्न नसक्नेलाई भिरबाट खसालेर मार्ने चलन पटक्कै मन परेको थिएन ।

एक दिन नातिको हजुरबुवा लाई पक्षघात भयो र उसको बुवाले डोकोमा राखेर लैजाने तयारी गर्नथाले । यो देखेर नाती निकै दुखी भयो र हजुरबुवा लाई डोकामा राख्ने बेला आफ्नो बुवा लाई भन्यो कि ‘बा यो डोको नफाल्नु है ।’ यो सुनेर उसको बुवाले अचम्म मान्दै भने ‘मान्छे फालेर आउने डोको घर ल्याउने चलन छैन छोरा, फेरी यो डोको पनि पुरानो भयो यसको कुनै काम पनि छैन ।’

बुवाको कुरा सुन्ने बितिकै छोराले आफ्नो बुवा लाई भन्यो मैले तपाईंलाई फाल्ने बेला काहाँ बाट ल्याउने नि यस्तो डोको ? छोराको यस्तो कुरा सुनेर आफ्नो अशक्त बा लाई फाल्न भनी तयार भएको व्यक्ती तर्सेझै गरेर हच्कियो । उसले सोच्यो हो त म पनि एक पटक अशक्त हुनै पर्छ, बुढो हुनैपर्दछ सबैलाई । मैले आज बा लाई फाले भने मलाई पनि त भोली छोराले फाल्ला नि । मेरो छोराले धन्न मेरो आँखा खोली दियो ।

यति कुरा सोच्दै अशक्त बा लाई डोका बाट झिकी बिस्तारामा सुतायो र माफि माग्यो । यो कुरा गाउँ भरी फैलियो । गाउँलेले पनि उसको सिको गर्दै त्यसपछी अशक्त बुढाबुढी लाई ज्युदै भिरबाट नफाल्ने निर्णय गरे । बुढाबुढी र अशक्त लाई अपमान र तिरस्कार होइन माया र सम्मान गर्नुपर्छ । ‘जय मातृभूमि ।’

प्रतिकृया दिनुहोस्