News Portal

भोजभतेरले घरघरमा संक्रमण, एकै घरका चारको मृत्यु

गण्डकी प्रदेश, २ जेठ
४५ पटक
गण्डकी प्रदेश, २ जेठ

वैशाख पहिलो दिन बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्रीले गाउँमा पीसीआरका लागि स्वास्थ्यकर्मी बोलाउँदा धेरैको गाली खाए । भारतबाट आएका ४ युवकबाट कोरोना संक्रमण फैलिएको आशंकामा उनले स्वास्थ्य कार्यालयबाट स्वाब संकलन गराएका थिए ।

चाडपर्वको दिन पीसीआर गराएको भनेर धेरैले स्वाब दिन मानेनन् । फेरि वैशाख ४ मा परीक्षण गरियो । जिल्लामै पहिलोपटक उक्त गाउँका ४७ जनामा संक्रमण पुष्टि भयो । तीमध्ये ३९ विद्यार्थी र शिक्षक थिए ।

गाउँभरि डेढ सय जनाभन्दा बढीमा संक्रमण देखिएपछि घरघरै कोरोना फैलिएको पुष्टि भयो । नारायणस्थानसँग जोडिएका १२ र १३ वडा समेटेर बलेवा क्षेत्रमा वैशाख ८ बाटै निषेधाज्ञा लगाइयो । ती वडामा वैशाखमा मात्र दुई दर्जन विवाहका भोज भए । चौरासी पूजामा भोज खाएका तस्बिर सामाजिक सञ्जालमा छरपस्ट देखिए । निषेधाज्ञा उल्लंघन गर्दै बस रिजर्भ गरेर जन्ती हिँडे । निषेधाज्ञा उल्लंघन गरेर छोराको विवाहमा जन्ती लगेको आरोपमा काठेखोला–१ का लालबहादुर खत्री पक्राउ परे । तर भोजभतेर आयोजना रोकिएन ।

अहिले ती वडामा १ सय ८५ जनाको पीसीआर गर्दा डेढ सय जनामा संक्रमण पुष्टि भएको स्थानीय नारायण रिजालले बताए । यसैगरी विवाह, भोज भएका कालीमाटी, तित्याङ र सिगानामा संक्रमितको संख्या बढ्दो छ । विवाहउत्सव मनाएका बडिगाड गाउँपालिका–४ मा एकै घरका चारसहित ६ जनाको मृत्यु भएको छ । एक सय संक्रमित छन् । चैत अन्तिम र वैशाख पहिलो साता भारत र सीमा क्षेत्रबाट आएकाहरू सुटुक्क गाउँ पुग्दा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘पहिलो चरणमा प्रवासी आए, अहिले भोजभतेरकै कारण संक्रमण बढेको हो,’ उनले भने ।

गलकोट नगरपालिकामा ५ जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी वडासदस्य तेजुमाया भण्डारी र ढोरपाटन–९ का पूर्वगाविस अध्यक्ष शेरमान घर्तीको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । उनीहरू समेत भेला, भोजभतेरमा सहभागीपछि बिरामी परेका थिए । बागलुङमा शनिबारसम्म २४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ७ सय पुगेका छन् । गाउँमा स्वास्थ्य मापदण्ड पालना नगर्दा यस्तो अवस्था आएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

पर्वतको जलजला गाउँपालिकाको एक गाउँमा वैशाख १२ मा ७ वटा विवाह भए । वैवाहिक कार्यक्रममा स्वास्थ्य मापदण्ड कसैले अपनाएनन् । त्यसकै कारण अहिले उक्त गाउँ जिल्लामै हटस्पट बनेको छ । स्थानीय युवा नवीन जीसीका अनुसार दोस्रो लहरको असरबारे उतिबेला कसैले चासो दिएनन् । ‘नेपालगन्ज, पोखरा, नुवाकोटलगायतबाट जन्ती आउने र जाने भयो,’ उनले भने, ‘अरू जिल्लामा संक्रमण भए पनि यहाँ महामारी होला भनेर कसैले सजगता अपनाएनन् ।’ विभिन्न जिल्लाबाट जन्ती आउने, जाने भएपछि महामारी फैलिएको उनले बताए ।

पर्वतको कुश्मा, फलेबास नगरपालिका र सबैजसो गाउँपालिकामा वैशाख महिनाभर विविध सामाजिक र धार्मिक कार्यक्रम भए । कोभिड–१९ रोकथाम जिल्लास्तरीय समितिले वैशाख १८ देखि कुश्मा नगरपालिकाका केही वडामा निषेधाज्ञा लगायो । २५ जनाभन्दा धेरै भेला नहुन भने पनि बेवास्ता गरियो । यसैका कारण तीन सातामै जिल्लाभर ३ सय बढी संक्रमित देखिए । अहिले जिल्लाभर निषेधाज्ञा गरे पनि विवाह, भोजभतेर रोकिएका छैनन् । निषेधाज्ञाकै समयमा भोजभतेर गर्ने जलजलाकै दुई युवालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

गोरखाका ग्रामीण क्षेत्रमा पनि भोजभतेर र बाक्लो जमघटका कारण संक्रमितको संख्या दिनदिनै बढेको छ । सहिद लखन गाउँपालिकाको पीपलछाप, वास्कोट, मैलुङ, भीमसेन थापा गाउँपालिकाको क्यामुनटार, ठाटी, आरुघाटको अम्बोटे लामाबगरलगायत गाउँमा संक्रमितको संख्या धेरै छ । पीपलछापको एउटै गाउँका ३० जनामा संक्रमण देखिएको छ ।

वैशाख १५ को छेवरको भोजपछि गाउँमा संक्रमण फैलिएको हुन सक्ने स्वास्थ्यकर्मीको आकलन छ । छेवर भएका घरका वृद्ध दम्पती र छोरामा र अन्यमा पनि संक्रमण पुष्टि भएको घैरुङ स्वास्थ्यचौकी प्रमुख ईश्वर श्रेष्ठले बताए । घैरुङकै वास्कोटमा पनि वैशाख १५ र १८ मा भएको बिहे भोजले कोरोना फैलिएको आशंका गरिएको छ । सहिद लखन गाउँपालिकाको वैशाख २५ मा ३७ जनाको स्वाब परीक्षण गर्दा ३१ मा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । शंकास्पद लक्षणपछि पीसीआरका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न अटेरी गर्नेले पनि संक्रमणको दर बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

ठाटीका एउटै गाउँमा ४० संक्रमित रहेको भीमसेन थापा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । ‘ठाटीमा भएका बिहे भोजमा क्यामुनटारबाट पनि मान्छे आउजाउ भए, त्यसपछि संक्रमण अर्को गाउँमा पुग्यो,’ उनले भने । निषेधाज्ञाको समयमा सहरमा जस्तो कडाइ गाउँमा नहुँदा संक्रमण विस्तार भएको उनले बताए । आरुघाट–८ को एउटै वडामा ५२ संक्रमित छन् । स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले काठमाडौंलगायत संक्रमण भएको ठाउँबाट गाउँ भित्रिएका र सोही बेला भएका बिहे, व्रतबन्धको भोजले संक्रमण फैलिएको बताए ।

म्याग्दीमा पनि धार्मिक तथा जन्मदेखि मृत्युसम्मका संस्कार गतिविधि बढी भएपछि समुदायमा कोरोना फैलिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिका अनुसार चैतेदसैंमा मुक्तिनाथ आएका तीर्थालु र तातोपानी कुण्ड डुब्न आएकाले नै जिल्लामा कोरोनाको दोस्रो लहर भित्र्याएको अनुमान छ । ‘मुक्तिनाथ दर्शन खुला गरिएसँगै देशभरबाट तीर्थालु सार्वजनिक यातायातमा जिल्ला भित्रिए । त्यहींबाट कोरोना फैलिएको अनुमान छ,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने ।

म्याग्दीका एउटै बस्तीमा ५० बढी संक्रमित देखिएका छन् । जिल्लामा शनिबार मध्याह्नसम्म सक्रिय संक्रमितको संख्या ४ सय जनाभन्दा बढी पुगेको छ । वैशाखमा मात्र १६ले ज्यान गुमाएका छन् । ‘बस्ती र समूह–समूहमा संक्रमण देखिएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने ।

कास्कीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि भर्खरै निषेधाज्ञा लागेको थियो । लगनको महिना भएकाले पनि वैशाख १७ र २४ गते अन्नपूर्ण गाउँपालिका–५ झोवाङमा २/२ वटा बिहे भए । बिहेमा टाढाबाट आफन्त आए । रत्यौली नाचे । प्रीति भोज खुवाए । वैशाखमै गाउँमा रुद्री पूजा, व्रतबन्ध, चौतारी र पोखरीको बिहे पनि भयो ।

बिहे घरकै एक जनालाई ज्वरो आउने, टाउको दुख्ने भएपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पीसीआर गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भयो । अहिले यो गाउँ नै सिल छ । कन्ट्याक्ट ट्रेसिङकै क्रममा थप १ सय ७ जनाको स्वाब संकलन गरिएको छ । उनीहरूको रिपोर्ट आउन बाँकी छ । गाउँपालिकामा हाल ३५ जना कोरोना संक्रमित छन् ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरले स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सामाजिक काम अघि बढाउन आग्रह गर्दागर्दै कोरोना फैलिएको बताए । ‘सामाजिक रीतिरिवाजलाई रोकिहाल भन्न पनि मिलेन,’ उनले भने, ‘रत्यौली, भोज गर्दा कमीकमजोरी देखियो ।’ पोखरामा जन्मोत्सव मनाएको समूहका १७ जनामा पनि कोरोना देखिएकामा एक जनाको मृत्यु भयो ।

तनहुँमा पनि भीडभाडजन्य गतिवधिले कोरोना फैलिएको छ । स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीका अनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङ तथा ट्राभल हिस्ट्रीलाई हेर्दा अधिकांश विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रममा सहभागी भएका र बाहिरबाट आएकासमेत पाइएको छ । तनहुँमा वैशाखमा मात्र ४ सय ७३ जनामा संक्रमण पुष्टि भएकामा ५८ जना निको भएका छन् भने ७ को मृत्यु भएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–१ मा वैशाख १६ मा एउटा घरमा पास्नीको भोज भयो । गाउँका सबैले खाए । भोज गरेकै घरका हजुरबुबामा स्वाद नआउने, सामान्य ज्वरो, रुघा लागेको जस्तो देखिएपछि बेंसीसहर आए । उनको रिपोर्टमा कोरोना पोजिटिभ आयो । वडाध्यक्ष दरजंग गुरुङका अनुसार लक्षण देखिएकासहित ३३ जनाको स्वाब संकलन गरिएकामा १४ पुरुष र १० महिलामा कोरोना संक्रमण देखियो । पास्नीको भोज गर्ने घरका अहिले ५ मध्ये ४ संक्रमित छन् ।

मध्यनेपाल नगरपालिका–७ ईशानेश्वर क्षेत्रमा वैशाख १७ देखि १९ सम्म विवाहवारी चल्यो । वडाध्यक्ष गगन घिमिरेका अनुसार ६ विवाह भए । काठमाडौं, चितवन, नवलपुर, पोखराबाट विवाहमा सहभागी हुन आफन्त आए । ईशानेश्वरको एउटै गाउँमा १७ जनाको चेकजाँच गरिएकामा ९ जनामा कोरोना संक्रमण देखियो । काठमाडौंमा विवाहमा सहभागी भएर फर्किएका दोर्दी–३ का एक शिक्षक र उनीहरूका छिमेकीमा कोरोना संक्रमण देखिएको छ । लमजुङमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । दुई जनाको मृत्यु भइसकेको कान्तीपुर दैनीकमा खवर छ  ।

प्रतिकृया दिनुहोस्