News Portal

व्यवसायीक कफी नर्सरी स्थापना तथा व्यवस्थापन

७३ पटक

-भवानीप्रसाद शर्मा (कफी प्राबिधिक)

व्यवसायीक कफी खेतीका लागि एउटा अर्को महत्वपुर्ण कुरा गुणस्तरीय बेर्ना हो । बेर्ना राम्रो र गुणस्तरको भएमा बोट राम्रो हुने मात्रै होईन उत्पादन पनि धेरै पाउन सकिन्छ । ‘हुने विरुवाको चिल्लो पात’ भने झै बेर्ना राम्रो र सर्लक्कको छ भने पक्कै त्यसवाट राम्रो फलको पनि आशा गर्न सकिन्छ । कम्तीमा सिसा कलम साईजको मोटाई, कम्तीमा एक फुट अग्लो, कम्तीमा ६ जोर पात भएको, चिल्लो हरियो, सिधा परेको १४ देखी १८ महिना उमेर पुगेको विरुवा नै गुणस्तरीय बेर्नाको परिभाषा हो । तर बेर्नाहरुमा यि सबै कुराहरु पाउन त्यतीकै सकिदैन त्यसका लागि हामिले बिधिपुर्वक धेरै कार्यहरु गर्नुपर्ने हुन्छ । जसलाई क्रमशः तल उल्लेख गरिएको छ ।

१. माउबोटको छनौट
गुणस्तरीय बेनौ उत्पादनको लागि सर्वप्रथम कफीको विउ पनि गुणस्तरिय हुनु पर्दछ । बिउ गुणस्तरीय हुनको लागि बिउ दिने बोट पनि गुणस्तरको हुनु पर्दछ । नेपालमा राम्रो सँग फल्ने, गुणस्तरको र राम्रो बजार पाएको अराबिका जातको कफी स्वसेचन हुने बाली भएकोले यसको बिउवाट एकैनासको गुणस्तर भएको बेर्ना तयार गर्न सकिन्छ । जसको लागि नर्सरीमा गुणस्तरिय बेर्ना उत्पादनको लागि रामो बिउ दिने बोटको छनौट गर्नुपर्दछ । यस प्रकृयालाई नै माउबोटको छनौट भनिन्छ । माउवोट छनौट गर्दा मुख्यतया निम्नकुरामा ध्यान दिनु आवाश्यक पर्दछ ।
१ नर्सरीमा गुणस्तरिय बिरुवा उत्पादनको लागि सर्बप्रथम त १००० मिटर देखी माथीको उचाईमा फलेको बोटको छनौट गर्नु पर्दछ ।
२. छनौट गरिएको माउ बोटको जात राम्ररि पहिचान भएको, स्वस्थ्य, बलियो, काँटछाँट गरेको र राम्ररी उत्पादन दिने खालको हुनु पर्दछ ।
३. माउ बोट कम्तीमा ८ बर्षदेखी २० बर्ष उमेरको आाख्लाबिचको दुरी कम भएको र हरेक वर्ष एकै नासले फल्ने र फलमा सग्ला दाना धरै हुने गरेको हुनुपर्दछ ।
४. उत्पादन क्षमता, राम्रो गुणस्तर भएको, बिविध जलवायुमा फष्टाउने, रोग किरा कमलाग्ने र सुख्खा सहनसक्ने वोटको छनौट गर्नु पर्दछ ।
५. छहारिको राम्रो व्यवस्था भएको, मलिलो माटोमा उत्पादन भएको तथा आसपासमा रोगकिरा लागेको अन्य वोट नभएको बगैचामा माउ वोटको छनौट गर्नु पर्दछ ।
६. सकेसम्म जुन ठाउँमा नर्सरी स्थापना गर्ने हो या जुन ठाउँमा विरुवा रोपण गर्ने हो त्यहि ठाउँको वा सोहि उचाईको माउवोट छनौट गर्नु राम्रो हुन्छ ।
७. बोर्वन, एल्लो काटुरा, सेलेक्सन १० र टिपिका जस्ता जातहरु अरेविका भित्रका भएको हुँदा यस्ता जातको पहिचान गरेर मात्र माउबोटको छनौट गर्नु राम्रो हुन्छ ।
याद गरौं जात पहिचान नभएको, रोग लागेको, कम उत्पादन भएको, पुर्नजिवन दिइएको, धरै पुरानो, साथै आसपासमा रोगको प्रकोप फैलिएको ठाउँको बगैचाको वोट माउबोटको लागि योग्य मानिदैन ।

२. कफीको फल (चेरी)को छनौट
माउवोटको छनौट गरिसके पछि त्यसमा फलेको दाना वा चेरीको छनौटमा पनि त्यतिकै ध्यान दिनु आवाश्यक छ । बोटमा फलेका दाना सबै समान साईज वा समान गुणस्तरका हुँदैनन् । त्यसैले फलको छनौट गर्दा निम्नकुराहरुमा ध्यान दिनु आवाश्यक देखिन्छ ।
१. पुरै पाकेको गाढा रातो र चम्कीलो, कुनै पनि दाग तथा किरा नलागेको, पुष्ट आकारको कफी नै बिउको लागि उपयुक्त हुन्छ ।
२. शुरुमा पाकेको कफी लाई बिउको रुपमा प्रयोग गर्नु हुँदैन । एकनासले पाकेपछिको कफी मात्र बिउको लागि प्रयोग गर्नु पर्दछ तर अन्तीम टिपाईको कफी पनि बिउको लागि राम्रो हुँदैन ।
३. यसरी बिउको लागि कफी टिप्दा बोटको तथा हाँगा दुवैको तल र माथीको कफीलाई छाडेर बिचको राम्रो र पाकेको गेडा मात्र टिप्नु पर्दछ ।
४. माउवोटवाट कफी टिपीसके पछि कफी लाई त्रिपाल वा नाङलोमा खन्याएर नराम्रो गेडालाई छानी पानीमा तैराउनुपर्दछ र तैरीएका गेडा समेतलाई हटाउनुपर्दछ ।
५. पानीमा तैराउँदा डुवेका तथा गुदी वाक्लो भएका कफी गेडाहरुमात्र बिउको लागि राम्रो मानिन्छ ।

३. कफीको बिउ प्रशोधन
१. बिउको लागि संकलित चेरी कफीलाई हातले अथवा पातलो पुरानो कपडा वा जुटको वोरामा राखी हल्का रुपमा थिचेर बोक्रा छोडाउनु पर्दछ । यसरी छोडाउँदा भित्रको भागमा कुनै असर पुग्नु हुँदैन ।
२. बाहिरको बोक्रा हटाईसकेपछि बोक्राको चिल्लो पदार्थ (म्युसिलेस) लाई हटाउनको लागि पार्चमेन्टलाई खरानी अथवा धानको भुसले साम्रोसँग माडेर सफा पानीले राम्रोसँग पखाल्नु पर्दछ । यसरी पखालेको बीउलाई पानीमा डुवाएर उत्रीएको लाई हटाउनुपर्दछ ।
३. पखालेको बिउलाई करिव ४ घण्टा जति जाली अथवा जुटको वोरामा राखि घाममा सुकाउनु पर्दछ । त्यसपछि विउलाई छाँयामा सुकाउनुपर्दछ, मौषमअनुसार ६ देखी १० दिन सम्म चलाउँदै सुकाउनु पर्दछ ।
४. बीउ सुकेपछि एक एक गरी केलाई खोस्टा फुटेको, कमजोर, दाग लागेको, एकदिउले (पिबेरी) र तिन दिउले (ट्रायोज) भएको, दाग लागेको, सानो साईजको बीउलाई हटाई ठुलो, राम्रो र रेखा सिधा भएको दानालाई मात्र बीउको लागि छुट्टाउनुपर्दछ ।
५. यसरी छानेको बीउलाई जुटको अथवा सुतीको कपडाको थैला बनाई राम्ररी हावा चल्ने कोठामा भण्डारन गरि राख्नु पर्दछ । बीउको लागि सुकाएको कफीमा कम्तीमा १५ देखी १८ प्रतिशत सम्म चिस्यान कायम रहनु पर्दछ ।
६. भण्डारन गरको कफी विउलाई १५ दिन देखी ४ महिना भित्रमा व्याडमा रोपी सक्नु पर्दछ । त्यसपछि बिउको उमारशक्ति कमजोर हुँदै जाने हुनाले छिटै नै रोप्नु राम्रो हुन्छ ।

४. नर्सरी राख्ने जग्गाको छनौट
१. उत्तर–पुर्व अथवा दक्षिण पुर्व फर्केको पानी नजम्ने जमिन नर्सरीको लागि उपयुक्त हुन्छ ।
२. नर्सरी गरिने ठाउँ मोटरवाटोको नजिकै वा बाटोको निकास राम्रो भएको ठाउँमा हुनुपर्दछ ।
३. मलिलो, हल्का, कमलो तथा दोमट तथा प्राङगारिक तत्व माटो भएको तथा जीवाणु रहित ठाउँमा नर्सरी स्थापना गर्नुपर्दछ ।
४. आफु बस्ने घर नजिकै वा आफ्नो नियमित रेखदेख पुग्ने तथा सिंचाईको राम्रो सुविधा भएको ठाउँमा नर्सरी स्थापना गर्नुपर्दछ ।
५. नर्सरीलाई पशु, पक्षि तथा जंगली जनावरको साथै केटाकेटी र खराव मानिसवाट जोगाउन आवाश्यकता अनुसारको बारबन्देज लगाउनु पर्दछ ।
६. बेर्नामा रोगकिराको प्रकोप हुन नदिन वा बगैचामा तापक्रम व्यवस्थापन गर्न बगैचा भित्र भन्दा खुल्ला ठाउँको छनौट गरि अस्थाई छहारि वा टलेनको व्यवस्था गर्नुपर्दछ ।

५. व्याडको तयारी
१. व्याड निर्माण माघ देखी बैशाख सम्म गर्न सकिन्छ तर माघको दोस्रो हप्ता देखी फागुन महिना सम्म सबैभन्दा उपयुक्त समय मानिन्छ । तर जमिनको उचाई अनुसार बैशाख सम्म पनि व्याड निर्माण गर्न सकिन्छ ।
२. नर्सरीको लागि छनौट गरिएको जमिनको पनि उपयुक्त ठाउँमा व्याड निर्माण गर्नुपर्दछ । राम्रोसँग खनजोत गरि १ मिटर चौडाई, १० देखी २० से.मी. उचाई तथा जमिनको अवस्था अनुसार वा आवाश्यकता अनुसारको लम्वाई भएको व्याड निर्माण गर्नुपर्दछ ।
३. माटोको उर्बरता हेरेर राम्रोसँग पाकेको र धुलो कम्पोष्ट वा गोठेमल, बालुवा र जंगलको पात पतिङ्गर कुहिएर बनेको माटो मिश्रण गरेर व्याड बनाउनु पर्दछ । यसरी मिश्रण गर्दा ३ भाग जंगलको माटो, २ भाग मल र १ भाग बालुवा हुनु पर्दछ । यदि माटो पहिल्यै मलिलो र बालुवाको मात्रा बढी भएको छ भने जंगलको माटो र बालुवालाई कमगर्न सकिन्छ ।
४. व्याड बनाई सकेपछि व्याडको माटोभित्र रहेका रोग, किरा तथा विभिन्न बस्तुका विउहरुलाई मार्नका लागि माटो निर्मलिकरण गर्नुपर्दछ । त्यसको लागि व्याडलाई कालो प्लाष्टिकले १५ देखी २० दिन सम्म छोपेर राख्नु पर्दछ ।
५. व्याड निर्माण गरि तत्काल विउ लगाउने हो भने निर्मलिकरणको लागि उम्लीरहेको पनिको प्रयोग पनि गर्न सकिन्छ । यसरि प्रयोग गर्दा १ वर्ग मिटर व्याडलाई भिजाउन करिव २० लिटर उम्लेको पानिको आवाश्यकता पर्दछ ।
६. एक किलो विउको लागि १ मिटर चौडाई र ३ मिटर लम्वाई भएको व्याड आवाश्यक पर्दछ । जसवाट बढीमा ३००० हजार देखी ३५०० देखी बिरुवा उत्पादन गर्न सकिन्छ ।

६. व्याडमा बिउ रोपण
१. व्याडमा रोप्नु अगाडी विउको चिस्यान अनुसार १ देखी ५ दिन सम्म पानीमा भिजाएर राख्नु पर्दछ । १२÷१३ प्रतिशत चिस्यान भएको बिउ छ भने ६ दिन सम्म भिजाएर राख्न पनि सकिन्छ । १४÷१५ प्रतिशत चिस्यान भएको बिउलाई बढीमा ३ दिन सम्म भिजाएर राख्दा राम्रो हुन्छ । बिउलाई छिटै भिजाउन परेमा मनतातो पानीको प्रयोग गर्न सकिन्छ ।
२. राम्ररी भिजेको बिउलाई निर्मलीकरण गरिएको व्याडमा कम्तीमा ४ सेमी फरकको १ देखी १.५ सेमी गहिरो लाईन बनाई बीउलाई १ सेमी फरकमा लहरै घोप्टाएर लगाउनुपर्दछ र मसिनो बनाएको मल, माटो र बालुवाको मिश्रणले माथी वाट पुर्नुपर्दछ । यसरी पुर्दा बिउको मोटाईको २ गुना बाक्लो हुने गरी माटो हुनुपर्छ ।
३. बिउलाई व्याडमा पुरेपछि नल, पराल, खर वा जुटको बोराले व्याडलाई राम्ररी छोप्नुपर्दछ । यदि माटोमा धमिराको समस्या छ भने हरियो छापो राख्नु पर्दछ । यसपछि हजारीको सहायताले राम्ररी सिंचाई गर्नुपर्दछ ।

७. व्याडको रेखदेख तथा व्यवस्थापन
१. व्याडको चिस्यान र मौसम अनुकुल हेरेर प्रत्येक दिन वा २÷२ दिनमा साँझमा हल्का तरिकाले सिंचाई गर्नु पर्दछ । चिसोको कारण बिउ कुहिन र पानि अभाबको कारण बिउ सुख्खा हुन दिनु हुँदैन ।
२. दैनीक निरिक्षण गरि व्याड र त्यसको वरपर कुनै किरा, फट्याङग्रा, झारपात लगायत अन्य काम नलाग्ने चिज भेटीएमा त्यसलाई हटाउनु पर्दछ । यहि कुनै रोग किरा लागेको पाईएमा जैबिक बिधिद्वारा त्यसको उपचार गर्नु पर्दछ ।
३. जमिनको तापक्रम अनुसार अथवा व्याडमा रोप्नु अगाडी बिउलाई पानिमा भिजाएको दिनको आधारमा २० देखी ४० दिन सम्म अंकुरन र ४० देखी ६० दिन सम्म पनि बिउ बाहिर निश्कीन्छ । बाहिर निश्कीने क्रममा हामिले रोपेको बिउ नै जमिन माथी आउनुपर्ने हुँदा माटोको चिस्यानलाई राम्ररी ख्याल गर्नुपर्दछ ।
४. बिउ बाहिर निश्कन थालेपछि व्याडमा राखेको छापोलाई राम्ररी हटाउनु पर्दछ र यसरी छापो हटाएपछि हजारीको सहायताले नै हल्का तरिकाले दैनीक सिंचाई गर्नुपर्दछ ।
५. सिंचाईको कारण वा अन्य कारणले कुनै बिउ माटोवाट बाहिर निश्केमा वा बिउको शिर माथि निश्कीन नसकेको पाइमा सानो सिन्काको सहयताले पुर्ने वा बाहिर निकालिदिन पनि सकिन्छ । साथै कुनै विरुवामा बिकृति अथवा रोगी देखीएमा त्यसलाई तुरुन्तै हटाईदिनु पर्दछ ।
६. व्याडमा छहारि नभएको खण्डमा तत्काल अस्थाई छहारिको वा प्लाष्टिकको सुरुङको व्यवस्था गरि बिउलाई घाम तथा असिनावाट जोगाउनुपर्दछ ।

८. प्लाष्टिक थैलाको तयारी
१. निर्मलिकरण गरिएको जंगलको वा मलिलो माटो ३ भाग, राम्ररी पाकेको गोबर अथवा जैविक मल २ भाग र १ भाग बालुवालाई सँगै मिसाएर जालीले चाल्नु पर्दछ । माटो धेरै मलिलो र बालुवा रहित छ भने मल र बालुवाको प्रयोगलाई कम गर्न पनि सकिन्छ । साथमा ५ प्रतिशत जती खरानी मिसाउनु पनि राम्रो हुन्छ ।
२. यसरी चालिएको माटोलाई ६ देखी ८ बटा प्वाल भएको २५० देखी ३०० गेज सम्मको र सानोमा ४÷७ इन्च देखी ५÷७ सम्मको प्लाटिक थैलामा माटो राम्ररी खाँदेर भर्नु पर्दछ । यसरी भरिएको थैलालाई टनेल वा छाप्रो मुनी ढुङ्गा, काठ वा बाँसको चौकोस बनाई लहरै मिलाएर ठाडो बनाएर राख्नु पर्दछ ।
३. विरुवाको माग, आवाश्यकता, स्थानीयता र माटोको अवस्थालाई हेरेर प्लाष्टिक थैलाको प्रयोग नगरी व्याड जस्तै गरि नर्सरी बनाएर पनि विरुवा रोप्न सकिन्छ । यसरी रोपण गर्नेहो भने नर्सरी व्याडको उचाई ८ इन्च अग्लो हुनुपर्दछ ।
४. बिरुवा रोप्नु अगाडी प्लाष्टिकको थैलामा भरेके माटो अथवा खुल्ला नर्सरीको माटोलाई हजारीको सहायताले हल्का रुपमा भिजाउनु पर्दछ ।

९. बेर्ना स्थानान्तरण
१. बेर्ना रोप्नु अगाडी टनेल मुनि या छहारि मुनी राखिएको प्लाटिक थैला वा नर्सरी व्याडलाई हजारीको प्रयोग गरि हल्का रुपमा पानिले भिजाउनु पर्दछ ।
२. बेर्ना उम्रेको १ हप्ता पछि वा २ पाते (टोपी अवस्था) भएपछि चम्चा आकारको काठ वा बाक्लो चोयाको सहायताले एक छेउवाट एक एक गरि हल्का तरिकाले जरा नचुडिने गरि बेर्ना उखेल्नु पर्दछ ।
३. उखेलेको बेर्नालाई माटोले भरिएको थैलाको बिच भागमा काठको चुचो आकारको औजार बनाई करिव २ इन्च गहिरो प्वाल बनाई बेर्नाको जरा सिधा वा नखुम्चाई प्वालमा राख्नु पर्दछ र प्वाल पारिएको औजारले एक छेउमा घुसाई प्वाल बन्द गर्नु पर्दछ ।
४. प्लाष्टिक थैलामा विरुवा सार्दा व्याडमा बेर्नाको जति भाग माटोले पुरीएको थियो त्यती नै भाग मात्र पुर्नुपर्ने हुन्छ । रोग लागेको, भाँचिएको र कमजोर जस्तो देखिने विरुवालाई रोप्नु हुँदैन ।
५. यहि बेर्ना प्लाष्टिक थैलामा नभई नर्सरी व्याडमा स्थानान्तर गर्ने हो भने ४ देखी ५ इन्चको दुरीमा सिधा लाईन बनाई प्लाष्टिक थैलामा रोपेजस्तै गरि खुल्ला रुपमा रोप्नु पर्दछ र हजारीको प्रयोग गरि हल्का रुपमा पानी दिनु पर्दछ ।

१०. विरुवाको रेखदेख एवं व्यवस्थापन
१. विरुवा भएको प्लाष्टिक थैलालाई लाईनमा राख्दा प्रत्येक लाईनको बिचमा १÷१ वटा थैलाको साईज अनुसारकै दुरी राख्नु पर्दछ । विरुवाको हाँगा फैलनु पर्ने भएकोले ठाउँको अवस्था हेरेर २÷२ वटा विरुवाको एक लाईन बनाउन पनि सकिन्छ । तर थैला ५÷७ इन्चको छ भने १ मिटर चौडा र जमिन तथा टनेलको अवस्था अनुसार टन्न मिलाएर राख्दा पनि राम्रो हुन्छ । विरुवाको उमेर तथा साईज बढ्दै गएपछि पनि त्यसको दुरी टाढा गर्न सकिन्छ ।
२. नर्सरीमा कम्तीमा ६ घण्टा घाम पर्नु अनिवार्य छ । विरुवामा सकभर विहानको घाम पर्ने गरी व्यवस्था गर्नु पर्दछ । टनेल वा माथीको छहारि जमिनको मोहडा, उचाई र हावापानी अनुसार ५० देखी ७० प्रतिशत सम्म बाक्लो हुनुपर्दछ ।
३. नर्सरीमा प्रत्येक दिन नियमित रुपमा पनि दिनु पर्दछ तर मौसम र थैलाको चिस्यान हेरेर मात्र सिंचाई गर्नु पर्दछ । बढी चिसो भएमा विरुवा कुहिन सक्छ । साँझमा गरेको सिंचाई बढी लाभदायक हुन्छ ।
४. चिसोको समयमा नर्सरी गरेको स्थानमा निकै चिसो भएमा, तुसारो तथा हिउँ पर्ने सम्भावना देखिएमा त्रिपाल तथा प्लाष्टिकले छोपेर पनि नर्सरीमा हुन सक्ने क्षतीवाट जोगाउन सकिन्छ । त्यस्तो अवस्था देखिएमा सिंचाई लाई समेत कमगर्नु राम्रो हुन्छ ।
५. सिंचाई गर्दा १ देखी डेढ महिना सम्म हजारीद्वारा र त्यसपनि पाईप वाट फोहोरा वा स्प्रींकलको प्रयोगद्वारा पनि पानी दिन सकिन्छ । पानि दिने क्रममा कुनै विरुवाको जरा बाहिर निश्केमा त्यसलाई घुलो माटोले पुरिदिनु पर्दछ ।
६. नर्सरीमा दैनीक रुपमा रेखदेख गर्नुपर्दछ । प्लाटिक थैलामा उम्रीने विभिन्न झार, पात लाई तत्काल हटाईदिनु पर्दछ । कुनै विरुवा रोगी देखिएमा तथा मरेको पाईएमा त्यलाई पनि तुरन्तै निकालेर नष्ट गरिदिनुपर्दछ, साथै कुनै किरा, फट्याङग्रा लागेमा तत्काल फ्याँककीदिनु पर्दछ ।
७. विरुवामा खाद्यतत्वको समेत व्यवस्थापन गर्दै जानु पर्दछ । त्यसको लागि गाईभैसीको गहुँतलाई कम्तीमा १ महिना ड्रममा कुहाएर १० माग पानीमा १ माग गहुँत मिसाई प्रत्येक ७ दिनको फरकमा विरुवामा छर्नुपर्दछ । विरुवाको उमेर बढ्दै जाँदा गहुतको मात्रा बढाउँदै जानु पर्दछ, साथै विरुवामा खाद्यतत्वको कमी देखिएमा आवाश्यकता अनुसार झोलमल समेत राख्नुपर्दछ ।
८. विरुवामा कुनै प्रकारको रोग देखीएमा वा किराको प्रकोप भेटीएमा प्रविधिकको सल्लाहमा जैविक विषादीको प्रयोग गर्नुपर्दछ । गाईभैसीको ताजा गहुँत, गहुँतवाट बनाएको विषादी, खरानीको साथै बजारमा पाईने जैविक विषादीको पनि प्रयोग गर्न सकिन्छ ।
९. नर्सरीमा रहेका कुनै विरुवा ठुलो र राम्रो तर कुनै विरुवा कमजोर र सानो हुन सक्छन् । यस्तो भएमा रोपण भन्दा ३ देखी ४ महिना पहिले अलग गरि कमजोर तथा सानो विरुवामा झोलमलको व्यवस्था गर्नु पर्दछ ।
१०. भौगोलीक अवस्था अनुसार बैशाखको दोस्रो हप्ता देखी जेठको पहिलो हप्ता सम्ममा नर्सरीको छहारि वा टनेल हटाई खुल्ला गर्नु पर्दछ । जसको कारण विरुवामा घामपानी सहेर बाँच्न सक्ने शक्ति प्राप्त हुन्छ । यसरी छहारि हटाउँदा विरुवा रोप्नु भन्दा १ देखी डेढ महिना अगाडी नै हटाईसकनु पर्दछ ।

याद गरौ कम्तीमा सिसाकलम साईजको मोटाई, १ फुट अग्लो, ६ जोडी पात भएको, सिधा, हरियो, चिल्लो र राम्रो पात भएको कम्तीमा १४ महिना उमेरको विरुवा लाई स्वस्थ्य विरुवा मानिने छ । ‘जय कफी ।’

-लेखक नेपाल कफी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष, केन्द्रीय कफी सहकारी संघको पूर्व उपाध्यक्षको साथै कफी उद्यमी समेत हुन् । सम्पर्कः ९८५७६३००४६

प्रतिकृया दिनुहोस्