News Portal

म भाषा बिगार गर्दिन र बिगार गर्न पनि दिन्न !

७३ पटक

-साबी घिमिरे
नेपाली भाषा बिग्रिंदै गएकोमा अझ भनौं बिगार गर्दै लगिएकोमा यो मनमा ज्वारभाटा नचलेका हैनन् । लामो समय देखि नै मन मस्तिष्कमा उथल पुथल मच्चिई नै रह्यो । जहाँ गए पनि र जता भए पनि भाषामा ल्याइएको बेथितीपन् ले यो हृदय कचोटी रह्यो र मनको उकुस मुकुस फूकाउन जे जति ठाउँमा वैयक्कित हिसाबले मैले सामथ्र्य राख्दथें बोलें र चिन्ता व्यक्त पनि गरें । मैले स्वतः स्फूर्त रूपमा भाषा सुधारकालागि सबै मिलेर केही गरौं न भनेर आव्हान पनि गरेकी हुँ, तर हात लाग्यो शून्य !

हामी अरूलाई दोष देखाउन र आफू काम नगर्न खप्पिस हुँदै गएका छौं । हामी हो मा हो मिलाउन सक्छौं, सरकार लाई दोष दिन र लाजनीतिलाई राजनीतिको नाम दिने तमाम् भ्रष्टहरूलाई गाली गर्न एकजुट हुन सक्छौं तर आफै जुटेर कुनै उदाहरणीय कामको थालनी गरौं न भन्दा कान लुकाउँछौं, मुख बङ्ग्याउँछौं ।

अरूको अनुयायी बन्दा प्रसन्न भएर झोले र अरिङ्गाल बन्न रूचाउँछौं तर आफ्नो विवेकको प्रयोग गरेर, संवेदनशील भएर हाम्रो आफ्नै अस्तित्व बचाउने कार्यमा लागौं न भनेर आव्हान गर्दा साथ दिन कोई पनि तयार हुँदैनौं । किनकि बसेर जिब्रो पड्कार्न सजिलो छ तर काम गर्न गाह्रो छ । किनकि हामीलाई हर एक कुरामा सहजता चाहिएको छ । सजिलो चाहिएको छ ।
तत्काल चाहिएको छ । हामीलाई गुणवत्ता भन्दा तामझाम युक्त बजारमा सजाइएको तयारी ( च्भबमथmबमभ) वस्तु चाहिएको छ । हामीले बिर्सी सकेका छौं कि हामी के थियौं ..?

हाम्रो इतिहास पढ्दा “बोरिंग” लाग्ने तर विदेशीको शताब्दियौं पछाडीका कथा र मिथ्या पढदा आनन्द मान्ने एउटा जमात मात्रै थुपार्ने काम गर्दैछौं हामी । जोड्ने र निर्माण गर्ने हैन बरू तोड्ने र भत्काउनेहरूको वाह वाही गर्छौं र ताली पड्काउँछौं ।
यो कुनै एक पाटोमा हैन प्रत्येक नेपाली पाटोमा यही भै रहेछ । किनकि नियतपूर्वक योजनाबद्ध ढङ्गले यो गराईंदैछ । कैले क्रान्तिका नाममा, कैले अग्रगामी बनेर देखाउने जस्ता सस्ता नाराहरू बेच्ने क्रममा ।

तर यी सबैमा सदैव नेपाली जनताको नामको मात्र प्रयोग गरियो र निरन्तर बिक्रि गरियो नेपाली भावना । यहाँको मौलिकता, यहाँका धरोहरहरूको सुराकी गरेरै चक्रव्युहको रचना गरिएको छ । यो चक्रव्युह भेदन गर्न सहज नहोला तर म मान्दछु अभेद्य पनि यो हैन । आवश्यकता छ त केवल एक मुट्ठी साहस, एक मुट्ठी माटोको मायाँ, एक मुट्ठी विश्वास अनि एक मुट्ठी साथ र प्रबल आवाजको । तर हामी सदैव मौन बस्यौं । पहिला नबुझेर, पछि तर्सिएर अनि हच्किएर ।

एउटा कालखण्ड पछि अर्थात आज हामी मौन छौं; अभ्यस्त हुँदै गएर । तर यो अभ्यस्तताले हामीलाई यसरी गाल्दै छ कि हामीलाई यसले पुर्याउने भनेको त्यही दूर्घन्धित नालीमा हो जहाँ नालीका किरा रमाई बस्दछन् । हो रमाउनेहरू त्यही दूर्गन्धित नालीमा पनि रमाई रहेछन् किनकि उनिहरू त्यसै लायक छन् । चेतनाहीन्, स्तरहीन, बुद्धि र विवेकले शून्य ! के हामीले हाम्रो स्थान त्यही दूर्गन्धित नालीमा सुरक्षित गर्न चाहेका हौं ? हैन भने आफू र आफ्ना सन्ततीकालागि हामीले केही गर्नु पर्दैन अब..?

यदि अब पनि हामी यो पाटो तर्फ सजग र सतर्क हुन सकेनौं भने आज आफ्नै मौलिकताको तिलाञ्जलि दिएर विदेशी संस्कार र सभ्यतामा रमाउँदै उफ्रिने र डुक्रिने हामीहरूको गन्तव्य अन्ततगोत्वाः त्यही दूर्गन्धित नाली नै हो र आउँदा दिनहरूमा हामी र हाम्रा सन्ततीको पहिचान पनि समग्रमा हुने त्यही नालीका किरा सरी नै हो !

यो सुन्दा नमिठो लाग्ने, मुटुमा च्वास्स बिझ्ने कुरोलाई कृपया आत्मसात गरौं । शायद मैले बुझाउन खोजेको कुरोको मर्म बु्झ्नलाई सहज होला कि । विगत केही समयदेखि मेरो मनमा उब्जिएका तमाम् प्रश्नहरू मध्ये एउटा प्रश्न निकै बलियो भएर बसेको छ । त्यो के भने.., नेपाली भाषालाई आजको अवस्थामा पुर्याउनेहरूमा भाषा बिगार गर्न लागीपरेका घोषित अघोषित रूपमा रहेका परिचालित कथित विद्वानहरू मात्रै दोषी छन् त ? के तपाईं हामी दोषी छैनौं होला ?

मैले हेर्दा र विचार गर्दा ती बिगार गर्नेहरू भन्दा पनि तपाईं हामी अझ बढि दोषी भएको पाउँछु, किनकि हामीले कहिल्यै पनि यसको प्रतिकार गरेनौं । अन्याय गर्ने भन्दा अन्याय सहने बढी दोषी हुञ्छ, किनकि सहन गर्ने पक्षनै अन्याय गर्नेको अनुकुल भै दिनाले अन्यायीको मनोबल दिनानुदिन बढ्दै जान्छ । तर पहिलो अन्यायमै यदि प्रतिकार गरेको भए थोरै भए पनि उक्त अन्यायकर्ता हच्किन बाध्य हुन्छ ।

जब अन्यायको विरोध हुँदैन, ऊ सर्वसम्मत रूपले आफूलाई विजेता घोषित गर्दछ । यहाँ भएको पनि यही नै हो । जो जसले जे जे बोले‘ कसैले पनि प्रतिकार गरेन.. वा भनौं प्रतिकार पर्याप्त भएन । हामी सबै मौन बस्यौं र हाम्रो मौनतालाई स्वीकारोक्तिका रूपमा बुझियो र हाम्रो भाषामाथि निरन्तर प्रहार भै रह्यो ।

आजको अवस्था यस्तो छ कि खुलेआम अभियान चलाईंदै छ नेपाली भाषाको वर्चस्व सिध्याउन । तर हामी आज पनि मौन छौं । सामाजिक सञ्जालमा कुनै ज्ञानवर्धक पोस्ट देखेपछि एकछिन गमे जस्तो गर्छौं र बेस्मारी असन्तुष्टिहरू पोख्छौं अनि अर्को दिन बिर्सी दिन्छौं । कतिपयले त त्यस्ता पोस्टहरूमा प्रतिकृया दिएर र असन्तुष्टि पोखेर नै आफ्नो कर्तव्य पूरा गरेको ठान्छौं र चटक्कै बिर्सि दिन्छौं ।

यदि नेपाली कहलिन मन छ र नेपाल जोगाइनु पर्छ भन्ने लाग्छ भने, हाम्रो भाषा अनि हाम्रा संस्कारहरूको संरक्षण गर्नु पर्छ र भोलीको पुस्तालाई हस्तानान्तरण गर्नु पर्छ भन्ने खयाल त्यो मनमा रत्तिभर पनि आउँछ भने कृपया अब मौन नबसौं ।
स्वतन्त्र रूपमा सशक्त भएर आउनोस् हातेमालो गरौं । सबैभन्दा पहिला आफू आफैबाट सुधार गर्ने प्रंण गरौं । म भाषा बिगार गर्दिन र अर्कोलाई बिगार गर्न पनि दिन्न ! एकथरी जमात भाषा बिगार गर्नकालागि नै अभियान चलाई रहेछन् । प्रतिदिन भ्रम फिजाएरै भए पनि सङ्ख्या बढाई रहेछन् । तर हामी टुलुटुलु हेरेर बसि रहेछौं ।

के हामी हाम्रो नेपाली भाषालाई भाषा बिगारबाट जोगाउन र यसको संरक्षणका निम्ति एक ढिक्का हुन सक्दैनौं..? के हामी प्रतिकार गर्नकालागि एकजुट हुन सक्दैनौं..? यदि सक्दैनौं भने सामाजिक सञ्जालमा गर्ने यो रोइलो र कोकोहोलो बन्द गरौं !
हैन र हामी भाषा संरक्षण गर्न उठ्नु पर्छ र जुट्नु पर्छ भन्ने लाग्छ भने आउनोस् शिघ्रातिशिघ्र सहकार्यमा जुटौं ! मलाई विश्वास छ यदि हामी सबै मिलेर एक ढिक्का भएर यो कार्यको थालनी गर्न सकेउँ भने अवश्य सफल हुनेछौं । तर हाम्रो स्वार्थ भनेको एक हुनुपर्छ । हाम्रो एक मात्र लक्ष्य ‘नेपाली भाषाको सम्पूर्ण सुधार हुनुपर्छ’ भन्ने मात्रै हो !

हामी मध्ये सबैलाई सबै कुरा पक्कै आउँदैन तर हामी सबैलाई केही न केही पक्कै आउँछ। किनकि केही नजान्ने हामी कोई पनि छैनौं । अतः हामी सबैको योगदान प्रमुख हुनेछ । तसर्थ हाम्रो अस्तित्वको आधार हाम्रो मौलिकता, हाम्रो भाषा, संस्कार र संस्कृति जोगाउन आउनोस् हातेमालो गरौं । यदि मेरो भनाईबाट तपाईंहरू सहमत हुनुहुञ्छ भने आउनोस् अब अविलम्ब सहकार्य गरौं । कृपया विचलित नबनौं, हामीलाई सङ्ख्याले अर्थ राख्ने छैन तर गुणवत्ताले अवश्य महत्व बोक्ने छ ।

अतः स्वविवेकी एवम् निष्ठावान साथीहरू कृपया इनबक्समा छलफल गरौं । मलाई बोलाउनुहोस् वा मेरो इनबक्समा आईदिनुहोस् । हामी एक आपसमा विचार विमर्श गरौं । समस्या धेरै हद सम्म उदाङ्गो छ तर परिणाम झनै भयावह हुनेछ ।
तसर्थ ज्ञात भै सकेको समस्यामा अल्झिएर समय खेर नफालौं । सबैले मिलेर कार्य योजना बनाऔं र कार्यान्वयनमा लागी परौं । आउनोस् यस पवीत्र कार्यकालागि शिघ्रातिशिघ्र सहकार्यमा जुटौं ! –फेसबुकवाट

प्रतिकृया दिनुहोस्