News Portal

भारतीय दूतावास थप एम्बुलेन्स सहयोग गर्दै गर्नु होला !

७६ पटक

-डा. आम्वरिस पोख्रेल

२०४६ साल देखि नेपाल सरकारले सरकारी अस्पतालहरूमा एम्बुलेन्सको लागि बजेट निकासा गरेको रेकर्ड छैन ।
१. भारतीय दूतावासले वर्षौ देखि अस्ति भर्खरै सम्म नेपालका विभिन्न अस्पतालहरू र संघ संस्थाहरुलाई उपहार दिएका एम्बुलेन्सहरुले काम चलाउँदै छन्, नेपाल सरकार तथा नेपालका परोपकारी संघ संस्थाहरु !

२. ‘एशियाको ठूलो विद्वान अर्थमन्त्री खतिवडा’ ले (नेकपाका कामरेडहरुले दिनु भएको उपाधि) आफ्नो दुई बर्से कार्यकालमा दस अर्ब बराबरको सवारी साधन खरिद तथा मर्मत सम्भार भनेर रकम निकाशा गरेका थिए ।

३. नेपालका सरकारी तथा सामुदायिक वा निजी क्षेत्रका अस्पतालहरूको लागि चाहिने अत्यावश्यक भेन्टिलेटरहरु, अक्सीजन प्लान्टको निर्माण वा खरिद तथा एम्बुलेन्स खरिदको लागि एक लाख रुपैयाँ पनि कुनै बजेटमा उल्लेख समेत गरेनन् ।

४. खतिवडा पछि ‘दूरदर्शी वरिष्ठ अर्थमन्त्री विष्णु पौडेल’ ले पनि विद्यमान अस्पतालहरूको लागि एम्बुलेन्स, भेन्टिलेटर, अक्सीजन प्लान्ट तथा अस्पतालको सेवा स्तरीकरण अन्तर्गत दुई चार अर्ब रुपैयाँ निकासा गर्छन् की भन्ने ठूलो आशा गरेका थियौं । कम्तीमा मैले त गरेको थिए । आठौं पत्र समेत सार्वजनिक रूपमा लेखियो । उनको कानमा समेत सुनाएको कुरा एकजना साथीले भन्नु भएको थियो तर उनले पनि ती कामहरू गर्दै गरेनन् !

५. बरु उद्घाटन तथा सिलान्यास अन्तर्गत नाम लेखाउन पाइने लोभमा निर्वाचन क्षेत्रमा तथा पालिकाहरुमा नयाँ प्राथमिक स्वास्थ्य अस्पतालहरूको लागि योजना तथा कार्यक्रम प्रस्तुत गरियो ।

६. कुन कुन कुराहरूमा तत्काल प्राथमिकता दिनु पर्ने हो र कुन कुन कुराहरू दीर्घकालीन रूपमा अगाडि बढाउनु पर्ने हो भन्ने कुराहरूको निक्योल गर्ने गराउने राज्य तथा सरकार नहुँदासम्म भारतीय दूतावासले दिएका एम्बुलेन्सको भरमा नेपालीहरु उपचार गराउँदै आएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

७. नेपाल सरकारले एम्बुलेन्सको लागि बजेट घोषणा गरेको देखिएको छैन अहिलेसम्म । तर अन्य प्रकारका गाडीहरुको लागि बजेट घोषणा गर्ने गरेको छ । भारतीय दूतावासले दिएका एम्बुलेन्सहरुको भरमा नेपाली जनताको उपचार कहिलेसम्म चल्छ सरकार ?

८. विशेष धन्यबाद भारतीय दूतावास । हाम्रो प्राथमिकता तिमीहरूले बुझेर सहयोग गरेकोमा । बरु थप एम्बुलेन्स सहयोग गर्दै गर्नु होला । ‘अस्तु ।’

प्रतिकृया दिनुहोस्