News Portal

कालीगण्डकी मूहानका लुप्त तीर्थ र त्रिकोणात्मक धार्मिक समन्वय

७८ पटक

-डा. रामचन्द्र बराल
१. सन्दर्भः
धरतीमा रहेका हरेक धुरी र धारालाई त्यसको निकटबासी कुटुम्बहरुले आफ्नै कोटीको इष्टदेवता र उर्जाको श्रोत मान्ने परम्परा छ । यसैले त धुरी र धाराको पर्यावरणमा रहेका जीव, वनस्पति र पदार्थ बीचको अन्तरसम्बन्ध र पारस्परिक अन्तरनिर्भरताबाट हरेक प्रजाती–समुदायले आफ्ना पूर्वजको सूचना र आफ्नो भोगाइ ज्ञानका आधारमा विशिष्ट नाम दिन्छन र त्यो सँगै जोडेर आफनो पहिचान पनि निर्माण गर्दै आएका छन् ।
यसकारण प्रकृतिका समान धुरी र धाराहरुमा पनि देश, काल, परिवेश र प्रजातिहरुको फरक समिकरणको संजोग जुर्ने र शास्त्र—शस्त्र—संगतीका ढाँचाहरुमा विविधता प्रकट हुन्छ । त्यसैले अनुसन्धानका दृष्टिकोणले एकोपथ वा एकोजातीको सूचनामा मात्र भर पर्नु भन्दा विभिन्न कालगत, ज्ञानगत, प्रजातीगत सूचनाका आधारमा त्रिकोणात्मक विश्लेषण गर्नु बान्छनीय मानिन्छ । यसै मान्यतालाई आत्मसात गर्दै सप्तगण्डकी मध्येको सातौ गंगा, शालग्रामी, नारायणी कृष्णाभाको उपल्लो तटीय क्षेत्रका विभिन्न धार्मिक समुदायका ज्ञान र सूचनालाई त्रिकोणात्मक विवेचना गर्दै लुप्त तीर्थको सन्दर्भ र धार्मिक अन्तरसम्बन्धका बारेमा यस आलेखमा चर्चा गर्ने जमर्को गरिएको छ ।
विशिष्ठ शब्दावलीः शालग्रामी, गण्डकी त्रिकोण, दामोदर कुण्ड, पञ्चधारा, रोङ्गबाको तीर्थ, धर्मको समाजशास्त्र, धुरी, धरा, धारा

२. अध्ययन विधिः
विगतका शास्त्रहरुमा प्रकट भएका मन्त्र वा ज्ञान तत् परिस्थीतिगत अन्तत्र्रिmयाका आधारमा लेखिएका शास्त्रीय मतहरुको अनुवाद गर्ने एक परम्परा, अवलोकन कर्ता पात्रको पात्रताका आधारमा अनुवाद र विश्लेषण गरिएका तथ्य हुन् । यस्ता तथ्यहरुमा देश–काल र परिस्थीतिको अन्तरसम्बन्धलाई अवलोकन तथा अनुबाद गर्ने पात्रको पात्रताका आधारमा प्रकटीकरण गर्ने र व्याख्याका लागि संकेत पनि फरक—फरक हुन सक्छन् । त्यसैले त ती तथ्य वा संकेतहरुमा पुनः अनुसन्धानका आधारमा लुप्त तथ्यहरुको उद्वोधन गर्न निरन्तर अनुसन्धानात्मक सबालहरुले घन्टी बजाइरहनु पर्दछ र नविन धून सृजना गरिरहनु पर्दछ भन्ने मान्यताले समाज विज्ञानमा हरेक सामाजिक सम्बन्ध र विश्वासहरुमा युग–युगमा पूराना शास्त्रहरुमाथी सबालका घण्टी बजाइरहने र नयाँ धुन सृजना गरिरहने प्रचलनहरु चलेकै छन् ।

यसै क्रममा विश्वविद्यालयको शोधार्थीका हिसावमा विगत ७ वर्षदेखि विभिन्न बाहानामा गण्डकी हिमालयका बस्ती—बान्धव र उनका पूज्य धाराहरुको अवलोकन तथा उनीहरुसँगका सम्बादमा पाएका तथ्यहरुलाई विरोचनको वेदशालामा पस्केर ‘बादे—बादे’ हेतु विज्ञजनमा पेश गरिएको छ ।

३. गण्डकी त्रिकोण र धार्मिक समन्वय
कालीगण्डकी क्षेत्रका तीर्थहरुका बारेमा चर्चा गर्दा त्रिकोणात्मक ढाँचामा अनुसन्धान हुनु आवश्यक छ । हरेक तीर्थको त्रिकोणात्मक विन्दूमा अर्को तीर्थ छ, त्यो लुप्त छ भने प्रकट गर्ने र प्रकट छ भने अर्को त्रिकोणमा रहेको तीर्थसँग प्रमाणिकता परीक्षण गर्नु जरुरी हुन्छ । गण्डकी त्रिकोणमा पूर्वको गोसाइकुण्ड, पश्चिमको दामोदर कुण्ड र दक्षिणको देवह्रद भनिने देवघाट क्षेत्र, जम्बुदीपको हिमवत खण्डको यो त्रिकोणमा के कस्ता तीर्थहरु छन भन्ने कुरा पहिचान गर्न एउटा मात्र पूराणले र एउटा कल्प प्रसङ्गले मात्र पूरा हुदैन । स्कन्ध पूराण, शिव पूराण, पद्म पूराण, वराह पूराण र मार्कण्डेय पूराणमात्रले नपुगी स्थानीय बोन र बौद्ध मताबलम्बीहरुका शास्त्र र जानकारसँगका सूचना पनि जोडनु आवश्यक हुन्छ ।

प्रकृतिमा भएका हरेक दैविक उर्जा केन्द्रलाई सबैजसो धार्मिक मतले उर्जा केन्द्रकै रुपमा मान्यता दिने र आफ्ना पथप्रदर्शकले त्यस क्षेत्रबाट के ज्ञान पाए भन्ने सुचना प्रबाह गर्ने गर्दछन् । कतिपयले उर्जा केन्द्रमा आफु आदि सम्पर्कको र उपाधी योग्य रहेको दावी गर्लान, तर धार्मिक सहिष्णुताका हिसावले एकले अरुलाई समावेश गर्दै यहाको धार्मिक समन्वयबादको विकास भएको, समन्वयका लागि बसुधाका सबै प्रजाती कुटुम्बका रुपमा सहकार्य गर्नु आवश्यक रहेको, ‘बसुधैव कुटुम्बकम्’ को मान्यता अनुसार समन्वयीकृत हुदै गएको पाइन्छ ।

यसैकारण गण्डकी त्रिकोणका तीर्थहरुको पहिचानका सबालमा त्रिकोण भित्रका प्रजातीहरुको शास्त्र, शस्त्र र सङ्गतीका चरित्रहरुका बारेमा समन्वयात्मक विवेचना जरुरी हुन्छ । यो त्रिकोणात्मक सम्पर्कविन्दू पहिचान गर्ने सबाल गण्डकीमा मात्र होइन, सिन्धु—शारदा (महाकाली), कर्णाली, कौशीकी र ब्रम्हपुत्रमा पनि लागु गर्न सकिन्छ । धराका हरेक त्रिकोणात्मक विन्दूहरुमा उर्जा विन्दू रहने र त्यसलाई चिन्ने क्षमता भएका सुपात्रहरुले आफ्नो आराध्य देवताको स्थानका रुपमा जोडने, साधना गर्ने अभ्यास गर्दै आएको पाइन्छ । यो गणितलाई ज्यामितीय वात्सुविज्ञान होस वा तन्त्र विज्ञान होस, एउटा विधिबाट उर्जा मानिएको स्थान अर्को विधिबाट पनि पुष्टि गर्न सकिने र एउटा उर्जा विन्दूको त्रिकोणको अर्को विन्दूमा पनि उर्जा केन्द्रको रुपमा विकास भएको हुन सक्ने सम्भावनाका आधारमा खोजी हुनु जरुरी हुन्छ । किनकी त्रिकोणात्मक उर्जा व्यवस्थापन जूक्तिका आधारमा साधकहरुले सिद्धी प्राप्त गरेको तथ्यलाई विर्सनु हुँदैन ।

त्रिकोणात्मक उर्जाविन्दू पहिचान गर्न शास्त्रमत (शास्त्रीय साहित्यका विवेचना), शस्त्र मत (उपकरण तथा प्रविधि) र सङ्गतीगत (स्थानीय जनज्ञान) प्रयोग गर्न सकिन्छ । शास्त्रमत सांकेतिक हुने, शस्त्रमत उपयोगको क्षमतामा निर्भर रहने, सङ्गतीमत सकेसम्म गोप्य राखिने हुनाले यस्ता अनुसन्धानहरु कठिन देखिन्छन् । कतिपय रैथाने समुदायले आफ्नो आराध्य तीर्थलाई आफ्नै समुदायमा मात्र गोप्य राख्ने र बाहिरीया परचक्रीलाई बताउनु हुदैन भन्ने मत राख्दछन् । यो स्थानीय उर्जाकेन्द्रको सुरक्षा रणनीति पनि हो । किनकी स्थानीयहरुमा एक विशिष्ट धारणा हुने गरेको छः ‘बाहिरीयालाई भन्न हुँदैन, देउता रिसाउँछन’, भन्ने धारणा राखेको पाइन्छ । सम्पदाको चोरी हुने, विधि विगार्ने, दुषित हुने र विचलन ल्याउने डरले यसो भन्ने गरिउको रैथानेहरुको तर्क हुने गर्दछ । यस्ता धार्मिक सम्पदाका कुरा कुपात्रमा पुग्यो भने अनिष्टको भागीदारी आफु हुनु पर्छ भन्ने धारणले सबैखालका धर्म विश्वासीहरुले यो सुरक्षा र नियन्त्रण जुक्ती अवलम्बन गरेको देखिन्छ । समाजशास्त्रीहरु यो सुरक्षा र नियन्त्रणको जूक्तिलाई सबैखालका समाजमा विद्यमान समन्वय र सन्तुलनको अवस्थालाई टिकाउन र निरन्तर जोगाउन विकास गरिएको सन्तुलन रणनीतिका रुपमा व्याख्या गर्दछन् ।

४. केही प्रेरक सबालहरुः
कैलाश धुरीलाई केन्द्रविन्दू बनाएर प्रकट भएका कैयन धाराहरु विभिन्न बस्तीको विचरण गर्दै महासागर भेटन जानेक्रममा विभिन्न प्रजातीका ऐतिहासिक सभ्यताहरुसँग अंकमाल गर्दै उनीहरुको जीवीका र जीवलीला व्यवस्थापनमा सहयोगी हुँदै आएका छन् । ती धाराहरु प्रति हरेक वस्ती र समुदायले फरक संज्ञानबाट सम्बोधन गर्ने तर एउटै भाव ‘मोक्ष दायिनी’ मान्ने गरेको तथ्यले धुरी र धाराका पुजारीहरुको ज्ञान भण्डारलाई एकिकृत गर्दै विश्लेषण गर्दा समग्र तथ्यप्रकटमा सहजीकरण हुने सम्भावना देखाएको छ । कैलाश धुरी र हिमवत सृंखलाका धाराहरुः सिन्धू, शारदा, कर्णाली, कृष्णाभा, कौशिकी र ब्रम्हपुत्र लगायतका गंगाहरुलाई स्थानीय समाजले दिने नाम र पुज्ने महत्वमा उनीहरुको ऐतिहासिक सभ्यता र पुर्वजका ज्ञान सूचनाले आधारभुत रुपमा प्रेरणा दिइरहेका छन् । यी हरेक हिमधारा र यसका तटमा वहने विश्वासी धाराहरुको देश–काल–परिवेश अनुसार विशिष्ट आध्यात्मिक–धार्मिक मुल्य परम्परा विकास भएको छ । यो आलेखमा सबैको विवेचना गर्ने धृष्टता नगरिकन सप्तगण्डकीको शालग्रामी वा नारायणीको कृष्णाभा खण्डको उपल्लो तटीय क्षेत्रमा विचरण र विवेचना गर्ने जमर्को गरिएको छ ।

कुनैबेला काली गंण्डकीको मुहान मुक्ति क्षेत्र भन्ने सुनीयो, कागबेनी पुगेर हेर्दा लाग्यो जलप्रवाह मुक्तिनाथ क्षेत्रको भन्दा उपल्लो क्षेत्रबाट बढी आएको छ । अहिले पश्चिमी सिमा नदी महाकालीको मुहानको चर्चा गर्दाे मुहान पहिचानका सबालमा धेरै जलप्रवाहको हैसीयत राख्नेलाई मुहान मान्ने तर्क चले झै मलाइ पनि लाग्यो काली गण्डकीको मुहान मुक्ति पर्वत नभइ उपल्लो मुस्ताङ्ग तिरबाट आइरहेको छ ।

अर्को सुचनाले बतायो, शालग्रामी कृष्णभाको मुहान त दामोदर कुण्ड हो र काली गण्डकीका हरेक तटमा शालग्राम शिला पाइन्छ । जिज्ञाशु मन न हो, सन्देह गर्दै विचरण गर्ने संकल्प गरियो । समयले वि.सं. २०७० मा संजोग जुरायो । तर दुनीयाको प्रतिकृया संकलन गर्नाकाका खातीर भेष बदलीयो र कागवेनी देखि मुक्तिनाथ हुदै पश्चिम झोङ्ग देउरालीपार गरेर काली गण्डकीका पूर्वी तटमा मिसिन आउने शाखा गंगाहरुका बेनी र बस्ती चहार्दै दामोदर क्षेत्र तिर लागियो । मुक्ति पर्वत देखि दामोदर पर्वत सम्मका ५ शाखा नदीहरुमा, डाँडा र कन्दराहरुमा विचित्र आकार र रंगका शालीग्राम शिलाहरु पाइयो, तर पाँचौ भन्दा माथिका कुनै पनि शाखा नदीमा शालग्राम पाइएन र पाँचौ भन्दा तलका शाखाहरुमा पनि पाइएन । काली गण्डकीमा जतिपनि शालग्रामको उपलब्धता छ, ती सबै कागबेनी सहितका पाँच शाखा धाराबाट कालीमा मिसीने र कालीको रुद्रतासँगै बहदै तल्लो तटीय क्षेत्रमा आइ प्रकट हुने गरेको थाहलाग्यो ।

दामोदर क्षेत्र जाने हालको चलन चल्तीको बाटो डिही गाउँ पारिको सुर्खाङ्ग बेनीमा भेटिने यारा खोलामा पुगेपछि के तथ्य देखियो भने दामोदर क्षेत्रको शाखा जलधारा भन्दा ठुलो जलप्रवाह त अझ उपल्लो मुस्ताङ्ग तीरबाट आइरहेको छ । शालीग्राम शिलाको प्राप्तीको श्रोत र काली गण्डकीमा समाहित हुने बेनी त यी पाँच शाखा धाराहरु मात्र रहेछन् भन्नेकुरा पुस्टी भयो । स्थानीय समुदायसँग गरिएको सम्बादले पनि त्यो तथ्य पुष्टी गर्यो । तर काली गण्डकीको मुहान दामोदर कुण्ड क्षेत्र नभई अझ उपल्लो क्षेत्रमा रहेछ भन्ने संकेत गर्यो ।

दामोदर कुण्ड यात्राका क्रममा यारागाउँमा एक विहान शंखको ध्वनी सुनियो, कौतुहलता सहित जिज्ञाशा भो, लुरी गूम्बाका लामाले शंख बजाउने चलन रहेछ । भेट्ने रहर जाग्यो, तर गन्तव्य छोडन मिलेन । मनमा भेटको अनुराग पलायो, ती लामासंग मेरा धेरै जिज्ञाशाको समाधान होला भनेर । तर यात्रा दामोदर कुण्डमार्गमा अघी बढ्यो । संयोग, २ घण्टा पछि हिडेका उनी घोडसवारीमा हामीलाई लूरी गुम्बा पूर्वको उकालोमा भेटीन आइपुगे । उनले लुरी गूम्बाको तीन वर्ष, तीन महिना र तीन दिनको ध्यान पाठशाला, शंख बजाउने प्रचलनका बारेमा थाह दिए । हिउँवर्षा भइरहेकोले पदमार्ग कठिन हुँदै गएपछि दामोदर कुण्ड यात्राको त्यो रात हाम्रो टोली उनीसँगै भेडीगोठमा रात्री विश्रामको संजोग पनि जुर्यो ।

त्यो दिन विजया दशमीको पर्वपनि थियो, हामी दामोदर कुण्डको यात्रा कल्पनामा रोमान्चीत र अनिश्चीत हिमाली मौसमले चिन्तीत पनि थियौं । दामोदर पर्वतका विभिन्न देउराली र भञ्ज्याङ्गपार गर्दै एकादशीको रात्रीकालमा दामोदर कुण्डमा पुगीयो र दैवले जुराएको विश्रामस्थलमा ओत लागियो । भोलिपल्ट विहान हिमवर्षाले सबैतीर सेताम्मे हिउँले ढाकीएको थियो । मन कौतुहल हुदै विश्रामस्थलबाट दामोदर कुण्डमा प्रातः दर्शन गर्न आउँदा एउटा युवा हंश पानीमा पौडी खेलिरहेको देखियो । हाम्रो आगमन पछि हंश उडेर पुर्वतीर लाग्यो । हामी आफ्नो सनातनी संस्कार गर्दै सूर्यको चापसँगै फिर्ती यात्रामा लाग्यौ ।

लुब्रा गुम्बामा बोन समुदायको आस्थाको धरोहर मानिन्छ । त्यहा गुम्बाको चार बुर्जा र गजुरमा शैव मतको त्रिशुल राखिएको छ । ल्होमन्थाङ्गको प्रशिद्ध गुम्बामा काठका लामा र ठुला खाँबो तथा दलीनहरुमा संस्कृतमा मन्त्रहरु लेखिएको छ र महाकाल शिव तथा भैरबहरुको मूर्ति र आकृति कुदीएका स्थानमा पुजन भइरहेको देखिन्छ ।

त्यसैगरि ल्हो राजप्रसादमा गरिएको एक सम्बाद (२०७५)मा पुर्वी ताल (छोसेर) पश्चिमीताल(छोनुप) र बुटी मैदान (मन्थाङ्ग)को रहस्य संगै काली गण्डकीको मुहान क्षेत्रमा रोङ्गती (रोङ्गबाको तीर्थः दक्षिणका मान्छेको तीर्थ) रहेको तथ्य आफना पुर्वजले बताएको भन्दै एकजना जेष्ठ नागरिकले रहस्य खोले । आफना बाजेले बताएको र बाबु पनि बाजेसंगै पुगेको तर आफु जान नपाएको बताउने ती जेष्ठनागरिक ६८ वर्ष पुगेको बताउथे ।
हिन्दु सनातन संगै बौद्धमत र बोन मतको त्रिवेणीमा उपल्लो कालीगण्डकी क्षेत्रका तीर्थहरु पुजिन्छन् । सनतनीहरु मुक्तिनाथ प्राय जान्छन्, दुर्लभ संयोगले दामोदर कुण्ड जान्छन तर बोन र बौद्धमतका स्थानीयहरु ती दुइसगै अन्य तीर्थहरु पनि जाने गरेका छन् । तिनीहरुको सुचना र ज्ञानका आधारमा नियाल्नेहो भने भाषागत संज्ञा मात्र फरक छ, पुजीने देवता शिवपार्षद नै देखिएको छ, त्रिदेवहरुको संयोग, त्रिमतहरुको संयोग र त्रिकोणात्मक तीर्थको संयोग जुर्न गएको छ । यीनै प्रकरणहरुले दक्षीणका लागि लुप्त रहेको तीर्थरहस्य उपल्लो कालीगण्डकी क्षेत्रमा साधकहरुको प्रतिक्षामा कुरी बसेका छन् ।

५. धार्मिक समन्वय र धर्मको समाजशास्त्र
हिमालयका यी धाराबेसीहरुमा रहेका हिन्दू, बोन र बौद्ध दर्शनमा विश्वास राख्नेहरुका मौलिक धार्मिक दर्शनले मानवलाई सामाजिक नियन्त्रण, समृद्धिका लागि परिचालन र सन्तुलनका लागि सामाजिकीकरण गरिरहेका छन् । मानवको भौतिक सुखका लागि प्रविधि र क्षमताको विकासका प्रयासहरु स्तुत्य मानिन्छन् भने आत्मिक सुख अर्थात परव्रह्म तर्फको साक्षात्कार र मोक्षताका लागि आध्यात्मिकताको मार्गबाट सम्भव हुने गहिरो विश्वास छ । परव्रह्म सम्मको पहुँचका लागि सृष्टिले विभिन्न ऊर्जावान परिस्थिति निर्माण गरेको छ । ती परिस्थितिको पहिचान गर्न सत्संग, ध्यान र धार्मिकताका माध्यमहरू प्रयोग हुँदै आएका छन् ।

सनातन सभ्यता विकासको ऐतिहासिक कालचक्रमा बहुकोटी देवता र बहुअवतारको सन्दर्भले विविध कल्पकाल र विभिन्न नमुना सुपात्रहरुले दिशा निर्देश गरेको सन्दर्भ दशाबतार प्रकरणहरुमा पाइन्छ । यसले दिएको संकेत परव्रह्मको ऊर्जा सम्पर्कका लागि कतिपय व्यक्ति माध्यम बनेका छन् युग द्रष्टा वा योगीका रुपमा । कतिपय जनावर माध्यम बनेका छन् पवित्र र मित्र शक्तिका रूपमा, कतिपय वृक्ष, लता र झार समेत उर्जावान स्रोत बनेका छन् बुटीका रूपमा । कतिपय भौगोलिकताले दृष्य–अदृष्य ऊर्जा केन्द्रका रूपमा मानवको सिद्धि र चेतना वृद्धिमा टेवा पु¥याएका छन् भने ती क्षेत्रमा रहेका जलसम्पदाहरूले सबैको एकीकृत ऊर्जा संग्रह गरेर प्राणीजगतको हितका लागि ऊर्जा प्रवाह गरिरहेका छन् । धार्मिकताका हिसाबमा यस्तो जीवनदायिनी ऊर्जाश्रोतलाई ईश्वर वा इष्टदेव मान्दछ र ऊर्जा नीहित सम्पदालाई ईश्वरीय अवतार मान्दछ । यसैले बहुदेवता र बहुकोटी देवताको मान्यता राख्ने सनातन हिन्दू दर्शनले मनुष्य, जनावर, सरिसृप, पंक्षी, वनस्पति, शिला, नदी, पर्वत, गुफा, वायु, अग्नी जहाकहीँ उर्जाको अनुभव गरेको छ ।

पूर्वजले ऊर्जा अनुभव गरेका प्राणीविशेष र स्थान विशेषलाई पवित्र तीर्थ र मोक्षमार्गका रूपमा ग्रहण गर्दै र लोक व्यवहारमा अनुकरण गराउँदै आएका छन् । यही धर्म, धार्मिकता र समाज बीचको अन्तरंग सम्बन्धले त्यहाँको धर्मको समाजशास्त्र निर्माण हुँदै आएको छ ।
समाजलाई उर्जाले संगठित गरेको, त्यो उर्जा पञ्च तत्वमा, जीवमा, जलमा, स्थलमा, वनस्पतिमा सर्वत्र उर्जा रहेकाले हरेक उर्जा इश हो र त्यो पुज्य, प्राप्य तथा अनुकरणका लागि आफुमा योग्यताको खाँचो छ भन्ने सन्देश सहित मानव जातीलाई संगठन, सन्तुलन र परिचालनका लागि धर्मले जीवन जीउने कला सिकाएको छ । देश–काल–परिवेश अनुसार धर्म सापेक्ष छ र जीवन जीउने कला एवं धार्मिकताका विश्वास तथा पाठशालाहरु पनि विभिन्न छन् । यसकारण समाजशास्त्रीहरुका लागि धर्म र धार्मिकताका क्रिया, सामाजिक विश्वास तथा पाठशालाहरु, सामाजिक संरचना तथा सम्बन्धहरु अध्ययनका विषय बन्न पुगेका हुन् ।

नेपालको हिमालपारीको बस्ती मुस्ताङमा कैयन यस्ता तीर्थहरु रहेका छन् जो प्राचिनकाल देखिनै निर्विघ्न पैदल यात्रा मार्फत सम्पन्न गरिने मोक्ष स्थानस्थानका रुपमा पहिचान बनाएका छन् । यो मोक्ष क्षेत्रमा ब्रह्मा, विष्णु र शिव तथा सरस्वति, लक्ष्मी र काली एवं नाग देवता तथा बुद्ध र बोन आस्थाका पवित्र साधना केन्द्रहरुसँग जोडिएका महत्वपूर्ण स्थान रहेको विश्वासले सनातन हिन्दु मात्र नभइ बोन र बौद्धमतका व्यक्तिहरु पनि तीर्थाटनका लागि ती क्षेत्रमा विचरण गर्दै आएका छन् । जसरी संगीतका सात सुरहरुले फरक फरक अस्तित्वमा रहेर पनि समन्वयात्मक ध्वनी प्रबाह गरिरहन्छन, त्यसरी नै गण्डकी त्रिकोणका बस्ती र कालीगण्डकी मुहान क्षेत्रका समुदायहरुमा त्रिकोणात्मक धार्मिक समन्वयका आधारमा शालग्रामी सभ्यताका धुनहरु गुन्जीरहेका छन् ।

शालग्रामी क्षेत्रका तल्लोतटीय बस्ती र तीर्थहरुका बारेमा तल्लो तटीय पाठशालाहरुमा निकै नै चर्चाहरु हुदै आएका छन् र उपल्लो तटीय बस्तीका सूचनाहरुको पहुँच कम भएको सन्दर्भमा यस आलेखमा उपल्लो तटीय क्षेत्रकोे चर्चालाई मात्र समेटिएको छ । उपल्लो तटीय सबालहरुमा पनि काली गण्डकी उपत्यका लेते–कोवाङ्ग क्षेत्रदेखिनै धर्म क्षेत्रसँग जोडिएका स्थानहरु पनि करिव १ दर्जन स्थानहरु छन् । गूरुसांबो गुफाका रुपमा चिनीएको धवलाचल काखको पद्मसम्भव ध्यान केन्द्र, टीटी ताल कुन्जोको झाँक्री ताल, नारी झोवाका रुपमा महालक्ष्मी स्थान, विष्णुकोगदा स्थापना भएको मानिने ढुम्बाताल संगै काकभुशुण्डीको साधनास्थलका रुपमा चिनिएको तिलिचो ताल र काक—गरुड सम्वाद स्थानका रुपमा चिनिएको कागबेनी समेतकै चर्चा पनि पाठकहरुका लागि रोचक हुन सक्छ । तर यहा कागबेनी भन्दा माथिल्लो क्षेत्र, जो तल्लो पहाडी र मैदानी क्षेत्रका बासिन्दाका लागि अप्रकट र दुर्गम हुन पुगेको छ , ती क्षेत्रका बारेमा केन्द्रित भएर चर्चा गर्न गोजिएको छ ।

कृष्णाभाको तल्लो तल्लो तटीय क्षेत्रमा पनि शालग्रामी पहिचान पाइएको छ । चितवनको सोमेश्वर क्षेत्र र गोद्धक क्षेत्रबाट वहने गंगाहरुमा पनि शालग्राम पाइने भएकाले माडी उपत्यका समेत शालग्रामक्षेत्रका रुपमा चिनीएको छ भने देवचुली आसपासमा अनुसन्धान प्रयास बाँकी नै छ । स्थलगत अध्ययन अवलोकनका आधारमा कृष्णाभाको उपल्लो तटीय क्षेत्रमा मुक्तिनाथ, कागबेनी, दामोदर कुण्डभन्दा अझै दुर्गममा रहेको तथ्यले शालग्रामीको वास्तविक मुहान अझपनि पहिचान गर्न बाँकी नै छ । कतिपय साधकहरुले कृष्णाभाको शिर भागमा कालीको प्राकट्य क्षेत्र हुनु पर्ने र नौ धाराहरु मूलरुपमा श्रेष्ठ मानिने तर्क गरिरहेका छन् । यहि तर्कलाई आधार मानेर खोजीगर्ने हो भने पनि शालग्रामी प्रवाह गंगा पाँचवटा पहिचान भएकाले अव बाँकी चार गंगा पहिचानका लागि खोज अभियान आवश्यक देखिन्छ । शालग्रामी कृष्णाभाका नौ धाराहरुको प्रकट चर्चाका लागि समयले कुन काल र पात्रलाई रोजेको छ, त्यो अझै गर्भमा छ ।

शालग्रामीको उपल्लो तटीय क्षेत्र जसलाई समग्र मुक्तिक्षेत्र समेत भनिन्छ, यहा शंख, चक्र, गदा, पद्म, शिव, शक्ति, गंगा, व्रह्मा, सरस्वति, विष्णु, लक्ष्मी, शेषनाग, नागराज, गरुड, विभिन्न भैरव तथा झाँक्री, बुद्ध शास्त्रमा वर्णित ताराहरु, गुरुसाङ्वो, गुरु रिम्पोछे पद्यसम्भव, बोनशास्त्रमा वर्णीत ध्यान क्षेत्रहरु, पूर्व जन्मको ऊर्जासँग समन्वयन गर्ने ध्यान तथा वोधी स्थल र वोधी वृक्ष समेतको सन्दर्भ जोडिएका स्थानहरु छन् ।

तीर्थका बारेमा गरुड पूराणको तीर्थ माहात्म्य (गरुड पूराण, २०७० : २२५) गोरखपुरबाट प्रकाशन हुने कल्याण पत्रिकाको तिर्थांक (कल्याण, २०६९ : १५४–१५५) मात्र नभर पद्म पूराणको उत्तरखण्डमा भगवान शिवले नारद मुनीलाई बताएको सन्दर्भमा भगवान महादेवले देवी पार्वतीलाई बताएको सन्दर्भ अनुसार उत्तर हिमालयमा प्रकट हुने गण्डकीमा नारायण सदा रहने तथा ऋषि, देवता, रुद्र, नाग, यक्ष सहित विष्णु भगवानका २४ अवतारका मुर्ति रहेका छन् (पद्मपूराण, २०४४ : ५५०)। जस अनुसार मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, राम, परशुराम, कृष्ण, बुद्ध, कल्की, महर्षि कपिल लगायतका विद्यमान रहेको तथा भगवान शिव पनि विष्णु सँगै रहेकोले हरिहर क्षेत्रका रुपमा चिनिन्छ (पद्मपूराण, २०४४ : ६४३) (नरसिंह पूराण, १९५८ : २९१—३०४) ।

विष्णु पूराणमा बताइएको चर्चा अनुसार बशिष्ठजीले परासरलाई सूनाएको सन्दर्भलाई पराशरले मैत्रेयसँग गरेको संवाद अनुसार ब्रह्म उर्जाका निकट प्रथम चरणमा व्रह्मा, विष्णु र शिव तत्व रहेको र क्रमशः देव तत्व, प्रजापतिहरु दोस्रो र तेस्रो चरणमा रहेको बताइएको छ भने चौथो चरणमा मनुष्य, पशुपंक्षी, सरिसृप तथा पाँचौ चरणमा वृक्ष, गुल्म र लताहरु रहेको बताइएको छ । यस प्रकरण अनुसार व्रह्म उर्जाको निकटताका यी पक्षहरु हरेक पछिल्लो चरणका तत्वले अगिल्लो चरणका तत्वको सम्पर्कबाट नै व्रह्मउर्जाको निकटता प्राप्त गर्ने तरिकाको रुपमा बताइएको छ । यो व्रह्म मुर्त
(क्षर) रुपमा विश्व र अमुर्त (अक्षर) रुपमा परव्रह्म हो भन्ने सन्देश पनि विष्णु पूराणले दिएको छ । व्रह्मका लागि जन्तु जगत र वृक्ष जगतका सबै सदस्यहरु समान सम्भावना एवं महत्वका छन् र पारस्परिक अन्तरउर्जाका सहयोगमा व्रह्म निकटता वा मोक्षता प्राप्त गर्दछन् (विष्णु पूराण, प्रथम अंश, अध्याय २२, श्लोक ५५—६५)।

यी सन्दर्भहरुले के देखाउँछ भने प्रकृतिमा रहेका महापुरुषहरु मात्र होइन, जन्तु जगतका अरु कुटुम्ब र वनस्पति जगतका उर्जा केन्द्रहरुले पनि मानवको मोक्षताका लागि, परब्रम्ह प्राप्तीको मार्गमा सहायक हुन सक्छन् । यसैले धरामा रहेका हरेक धुन र ध्वनीहरुको बहुआयामिक समन्वयका आधारमा यहाँ इश्वरीय उर्जाको प्रवाह भइरहेको छ ।

६. कालीगण्डकी मुहानका लुप्त तीर्थहरु
कालीगण्डकीको मुहान क्षेत्रमा लुप्त रहेका मुख्य तीन तीर्थ धाराहरुको यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।
६.१. शालग्रामी पञ्चधारा : कालीगण्डकी नदीमा शालीग्राम शीला प्रवाह हुनमा सहयोगी हुने पाँचवटा शाखा जलधाराहरु छन् । कागवेनीदेखि उत्तर पूर्वी मोहडाका दामोदर हिमाल क्षेत्रबाट काली नदीमा मिसिन आएका शालग्रामी पञ्चधाराहरुमा चक्रनदी वा कागखोला भनिएको झोङ खोला, छुक्साङमा मिसिन आएको नरसिंह खोला, त्यो भन्दा उत्तरमा क्रमशः भेटिने ताङ्गे खोला, दामोदर पर्वत क्षेत्रका धाराहरुको समुच्य धेह खोला र सुर्खाङमा मिसिने यारा खोलामा शालीग्राम शीलाहरू पाउन सकिन्छ । यी पाँच जलप्रवाह क्षेत्रमा पदयात्रा गर्दा पहाडका खोचहरूमा समेत विभिन्न आकृति र रंगका चक्र शीलाहरू पाउन सकिन्छ ।

सुर्खाङमा मिसिएको यारा खोलाको संगम भएको धिही गाउँ भन्दा उत्तर तर्फको काली नदीमा शालीग्राम शीला नपाइने कुरा स्थानीय ग्रामवासीहरूले पनि बताएका छन् । उनीहरूका अनुसार सबै भन्दा धेरै शालग्राम पाइने त धेह खोलाको क्षेत्र हो । धेह खोला दामोदर हिमालको जलप्रवाहबाट बनेको हुनाले त्यसमा शालीग्रामको उपलब्धता बढी हुनुका कारणमा दामोदर हिमाललाई शालीग्राम हिमाल पनि भन्ने गरिएको छ ।

दामोदरकुण्ड क्षेत्रलाई त्यहाँका रैथाने समुदायले आफ्नो भाषमा ‘उद्गेन री’ भन्दछन् । त्यसको अर्थ हुन्छ ‘गुरुको वन’ । दामोदर क्षेत्रमा पहिला गुरु रिम्पोछे र गुरु पद्म सम्भवको वन भएको क्षेत्र हो र त्यहाँ मानव जीवनको हितका लागि आवश्यक पर्ने १०८ थरीका जडिबूटी छन् भन्ने स्थानीयहरुले विश्वास गर्दछन् । कतिपय बेला हिउँ वर्षा नभएर सुख्खा भएका बेला पशुधनका लागि चरन अभाव हुँदा उपल्लो मुस्ताङका कतिपय वस्तीका निवासीहरूले त्यही गुरुको वन अर्थात् दामोदर कुण्ड क्षेत्रमा पशुहरू चराउन लग्ने गरेकोले ३ महिनासम्म त्यही बस्ने गरेको बताएका छन् (बराल, २०७३) ।

६.२. महाकाल र महादेवी
मार्कण्डेय पूराणमा उल्लेख गरिएको १०८ पवित्र शक्ति पीठहरुमा शालग्रामकीे महादेबी र कालञ्जरकी कालीको चर्चा छ । म्याग्दीको मालीका क्षेत्र कालञ्जरकी कालीको स्थान भएझैं शालग्राम क्षेत्रमा महादेवीको स्थान कहा होला भन्ने सबाल अझै पनि अनुसन्धानको विषय बनेको छ । कतिपयले मक्कामा रहेका म्लेक्षेश्वर शिवलाई लुप्त राखेझै शालग्राम क्षेत्रमा महादेवी पनि लुप्त रहेको संकेत गरेका छन् । शालग्राममा महादेबीस्थानका रुपमा रहेको शक्तिपीठ नै शायद काली गण्डकीको नौधारा क्षेत्र हुनु पर्दछ , तर कता होला कालीको मुर्त स्वरुप ? यहि जिज्ञाशाले कालीगण्डकीको मुहान क्षेत्रमा कालीको पीठ पहिचान गर्न खोज अभियानहरु निरन्तर चलिरहेका छन् ।

ल्होमन्थाङ्ग क्षेत्रमा पहिले बोन सम्प्रदाय र पछिल्ला दिनमा तिव्वती लामा सम्प्रदायको विधिमा तन्त्रसाधना तथा आराधनाका अभ्यास चल्ने गरेका छन् । गुम्बाका ढोका तथा मझेरीहरुमा संस्कृतका श्लोकहरु लेखिएका काष्ठ खाँबो र बलोहरु देखिनु र भित्र महाकाल भैरव र महाकालीको विशाल प्रतिमा पनि पाइन्छ भने गजुरमा महाकालीको मुर्ति पनि स्थापना गरिएको पाइन्छ । पछिल्लो दिनमा महाकालीको मुर्तिमा पहाडी क्षेत्रका सनातनी हिन्दुहरुको चासो देखिन थाले पछि गजुरको महाकालीको मुर्ति लुप्त राख्न थालीयो भन्ने कुरा रैथाने स्रोतहरुले पहिचान नखोल्ने शर्तमा बताएका छन् ।
रैथानेहरुले तिव्वती लामा परम्परा अनुसार साधना गर्ने यो महाकाल गुम्बा र दामोदर कुण्डको सरल रेखामा दामोदर कुण्डक्षेत्र जाने बाटोमा लुरी गुम्बा रहेको छ । यो लुरी गुम्बाको गुफामा साधकहरुलाई सिद्धी प्राप्तीेका लागि ३ वर्ष ३ महिना ३ दिनको साधना पछि दिक्षा प्रदान गर्ने परम्परा छ । यसका साथै त्यहाको देव आराधनाका लागि शिवालयका झै शंख बजाउने परम्परा छ । त्यहाका लामा पुजारीले लुरी गुम्बामा मात्र होइन आफ्नो बसोबास गर्ने यारा गाउँको घर पुगेको बेला पनि प्रातःकाल शंखध्वनी सहित पुजा गरेको पंक्तिकारले पनि अवलोकन अवसर पाएको छ । हिमालयको यो कन्दरामा समुन्द्रमा पाइने शंखको ध्वनी सहितको पुजा आराधनाको प्रचलन कसरी सुरुभएको होला भन्ने जिज्ञाशा अनुसन्धानकै विषय बनेको छ । यहा रहेको अन्य तीर्थहरुमा दामोदर कुण्डमा जान गृहस्थलाई अनुमति भएको र अन्य तीर्थमा गृहस्थलाई अनुमति नभएकोले खुला चर्चामा ल्याउन उचित नहुने साधकहरु बताउँछन् ।


६.३. रोङ्गती/रोङ्गबाको तीर्थ:
कालीगण्डकीको शिरभागमा रहेको ल्होमन्थाङ्ग भन्दा अझ उत्तरी हिमालय क्षेत्रबाट काली गण्डकी नदीको प्रबाह आउँछ । यहाँ कृष्णाभाको रुप कालो नभइ कञ्चन सङ्गलो देखिन्छ । यहाका दुइ गाउँहरु छोसेर र छोनुप नामका गाउँहरुमा आन्तरिक गृहस्थ कर्ममा बोन शास्त्र विधिमा र बाहीरी दुनीया अभ्यासमा तिव्वती लामाबादी बौद्ध परम्परामा पुजा र साधना गर्ने प्रचलन छ । यी दुइ गाउँको नामाकरणमा जोडिएका छोसेरले पुर्वी ताल र छोनुपले पश्चिमी ताल भन्ने जनाउँछन् । अर्थात यहाँ पहिले ताल थियो र ताल खुलेर सुके पछि बस्ती बसेको हो भन्ने बुझिन्छ । भौगर्भिक अनुसन्धान अनुसार यो तालको पानी पहिले हिमालयको उत्तर दिशामा बगेर ब्रम्हपुत्रमा मिसिन्थ्यो, तर हिमालयको उठान भएपछि उत्तर बाहीनी कृष्णाभा पूर्व बाहीनी हुदै मुक्तीनाथ क्षेत्र स्पर्श गर्दै म्याग्दीदेखि दक्षिणबाहीनी बनेको तथ्य पाइन्छ । हाल पनि मुलरुपमा काली गण्डकीको मुहान क्षेत्रको यात्रा गर्दा छोसेर क्षेत्रबाट एक धारा र छोनुप क्षेत्रबाट एक धारा मिसिएको देखिन्छ ।

स्थलगत अवलोकनका क्रममा ३ वर्ष पहिले ल्होमन्थाङ्ग राजप्रसादमा स्थानीय जेष्ठ नागरिकहरुसँग भएको एक छलफलको क्रममा एउटा विषयलाई प्रवेश गराउँदै यो क्षेत्रमा नाग, तारा, विष्णु र ब्रम्हा तथा सस्वतीको स्थान भएझै गौरी र महादेबको पनि गोप्य स्थान हुनु पर्छ, त्यसलाई यहाँका जान्ने लामाहरुले अर्कै नाममा साधना गरेका हुन सक्छन, त्यसबारे केही जानकारी छ की भनेर छलफल चलाइएको थियो । त्यतिबेला एकजान ६८ वर्षीय जेष्ठनागरिकले नयाँ तथ्यबारे संकेत गरे र आफनो बाजेले देखेको र जानकारी दिएको तर आफु जाने संयोग नजुरेको भन्दै उत्तरी दुइ धाराहरुको बीच जसो पर्ने स्थानमा रोङ्गती (रोङ्गबाको तीर्थ) भन्ने ठाउँ रहेको बताए । ती अग्रजले दिएको जानकारी अनुसार उक्त रोङ्ग ती (रोङ्ग अर्थात दक्षीणको मान्छेको तीर्थ)मा आउने ब्राम्हण जस्ता देखिने तीर्थालुहरुको बर्षमा एक पटक मात्र देखिने र ऋषि पुजे देखि पीतृ पुज्नेसम्म मात्रै आउने चलन रहेको बारे आफ्ना बाजेले बताएको पनि खुलाए । योसँगै गंगााको छहरो भएको त्यस स्थानमा नीगालोको सानो घारी पनि रहेको र बोन धर्म मान्नेहरुले झाँक्रीको साधना गर्दा त्यहाको निगालाको पात ल्याएमा चाडै सिद्धी पाइने बताउने गरेको पनि उनले खुलाए । दक्षिणका रोङ्गबाहरुको तीर्थ भएकाले आफुहरुको चासो कम रहेको तर बाजेले ‘रोङ्गबाहरुको ठुला देवता रहेछन र पो रोङ्गहरु दुख झेलेर पनि आउँदा रहेछन’ भन्ने गरेको बताए । उनका बाबुको पालामा नुन कारोबार गर्ने र जीविकाको जोहो गर्ने तीर ध्याउन्न गएको तथा खम्पासँगको सैनिक अपरेसन पछि बाहीरीयालाई यहा प्रवेश रोकिएपछि र स्थानीयको नुन व्यापार बन्दभएपछि त्यो तीर्थका बारेमा चर्चा गर्ने कोही नआएको उनले बताए ।

यो स्थानहुँदै मानसरोवर तथा कैलाश यात्रा मार्गपनि भएकाले उहिलेका अग्रजहरुका लागि यो मार्ग उपयोगी भएको हुन सक्छ । तर ऋषी पुजेदेखि पितृ पुज्नेसम्म अर्थात ऋषी तर्पणी वा जनै पूर्णिमादेखि सोह«श्राद्धसम्मका दुइ महिनाको अवधी संकेत गरेको देखिन्छ । त्यसो त ऋषि तर्पणीमा दामोदर कुण्डमा जनै मन्त्रण गर्ने, गायत्री साधना गर्ने र ऋषिहरुलाई तर्पण गर्नेकामका लागि तागाधारी साधकहरु जाने चलन आजभोलि पनि छ । जनै पुर्णीमामा दामोदर कुण्ड पुगेका साधकहरु ल्होमन्थाङ्ग उत्तरको रोङ्गतीर्थ जाने र यो क्रम पितृ तर्पण पक्षसम्म चल्ले गरेको संकेत मिल्दछ ।

सम्भवत काली गण्डकीको उपल्लो मुहान क्षेत्रमा रहेका नौधाराहरुमा पाँच शालग्रामी दामोदर हिमालको परिक्रमा क्षेत्रबाट प्रकट भएका छन् भने बाँकी चार धाराहरु मानसरोवर जाने मार्गमा पर्ने छोसेर र छोनुप क्षेत्रमा आउने कालीगण्डकीका श्रोतधाराहरु हुनु पर्दछ । यी श्रोत धाराहरुको पहिचान पछि मात्र महादेवको साधनाको गुप्त रहस्य बोकेको रोङ्गतीर्थको विन्दू पहिचान गर्न सकिएला । यसकालागी भाद्र—आस्वीन मासकै जनै पुर्णिमा देखि सोह«श्राद्धका ६० दिनहरु नै मौसमी अनुकुलताको समय जुराउनु उपयुक्त देखिन्छ । यो खोजकालागि समय र पात्रको चयन पनि उनै हरिहरले यथारुप गर्ने छन् ।

७. उपसंहारः कालीगण्डकी मूहान क्षेत्रमा रहेका शालग्रामी पञ्च धारा, महादेवी र महादेव साधनास्थल रोङ्गतीर्थको अनुसन्धानले लुप्त तीर्थको पहिचान मात्र नभइत्रिकोणात्मक धार्मिक समन्वयको समेत प्रकटीकरणमा योगदान पुर्याउन सक्ने छ । सनातन हिन्दुका लागि दुर्गम मानिएको सो तीर्थ बोन र बौद्धमतका साधकहरुका लागि पहुँचको भएकाले बोन र बौद्ध साधकहरुको सहयोगमा नै तीर्थको पहिचानमा योगदान पुग्न सक्ने छ । गण्डकी हिमालयको सभ्यता विकासमा हिन्दु, बौद्ध र बोन समुदायको त्रिकोणात्मक समन्वयका प्रयासमा नै सार्थक रहेको र गण्डकी त्रिकोणको आध्यात्मीक अनुसन्धानमा यहि समन्वयबादी दृष्टिकोणलाई आधार लिनु उचित देखिन्छ । समुदायको धार्मिक चेतना र समन्वयात्मक सहिष्णुता सामाजिक सम्बन्धको ढाँचाका आधारमा निर्माण हुने गर्दछ । त्यसैले त सामाजिक विकासमा अन्तर—धार्मिक सम्बन्ध र समन्वयत्मक शैलीले विकासको दिशा निर्धारण गर्दछ । गण्डकी सभ्यताको अनुसन्धानमा गण्डकी त्रिकोणका तीर्थहरुसँग जोडिएका सामाजिक सम्बन्ध र संस्कारगत रणनीति समेतको ढाँचा नियाल्नु उचित हुन्छ । इति ।

कृतज्ञताः यो आलेखको रचना गर्भमा प्रेरित गर्ने र सुझाव टिप्पणी दिने काली गण्डकी जलसंस्कृतिका अध्येयता डा.कुलराज चालिसे, लुरी गुम्बाका पुजारी सिता लामा, विभिन्न पटकको स्थलगत अवलोकनका क्रममा यात्रा संजोगमा जुटने झलकलाल श्रेष्ठ, कमल पौडेल, रुद्र तिमिल्सेना, अरुण बास्कोटा, स्थानीय बोन र बौद्ध परम्पराबारे जानकारी दिने आम्ची तथा ज्योतिष ग्याच्छो विष्ट र अन्य लामाहरुका साथै स्थलगत सूचना प्रदान गर्ने उपल्लो मुस्ताङ्गका स्थानीय अग्रजहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
-लेखक बराल, समाजशास्त्रमा विद्यावारिधि हुन् र पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापनमा संलग्न छन् ।
सन्दर्भ:
कल्याण (तीर्थाङ्क) (२०४६), गीताप्रेसः, गोरखपुर
गरुड पूराण (२०७०), तिलकप्रसाद लुइटेल र डम्बरुप्रसाद उपाध्याय घिमिरे (अनु.) विद्यार्थी पुस्तक भण्डारः काठमाण्डौं
नरसिंह पूराण( १९५८), मुम्मडी कृष्णराज ओडयर, श्री तत्वनीधि खेमराज श्रीकृष्णदासः बम्बई,
पद्म पूराण (२०४४), जयदयाल गोयन्दका(सं.) गीताप्रेसः गोरखपुर
विष्णु पूराण (१९६७) , सम्पादक पं. श्री रामप्रसाद शर्मा आचार्य, संस्कृति संस्थानः बरेली भारत
बराल, रामचन्द्र(२०७३),मुक्तिक्षेत्र तीर्थाटन, खोज पाठशाला प्रा.लि, पोखरा
(देवघाट क्षेत्र विकास समिति तनहुँको देवाघाट दर्पण वर्ष १५ अंक ५, २०७७ बाट साभार गरिएको आलेख)

प्रतिकृया दिनुहोस्