News Portal

छाता ! (कविता)

६० पटक

-घायलश्री

शरदको यो समय
घरहरु मात्र होइन प्रकृति पनि
रङ्गिन भएका छन्
तर म भने
शिशिर यामको बूढो रुख झैं
रङ विहिन मन बोकेर
साँझको पेट भर्न
आफ्नै झुपडीमा
काजी बाको नाउँको रङ पोतिरहेको छु ।

सयकडा दसको ब्याजमा
सत्र बेते भैंसी
सपना फुलाउन
गोठ पसेको भोलिपल्टै
चिर निद्रामा परेपछि
आफ्नो नाउँको यही झुपडी
काजी बालाई सुम्पिएको दिनदेखि
घाम उदाएर नअस्ताइन्जेलसम्म
शीत फुलेर नओइलाइन्जेलसम्म
मेरा एकजोर अँनिदा आँखाहरु
पिरको कुवामा डुबेका छन् ।

अभावले घुम्रिएको कपाल
असमानताले ठोकिएको निधार
शोषणले कलेटिएको अनुहार
विभेदले कोतरिएको मुटु
संस्कारले कुप्राएको ढाड
भोकले सुकेको पेट, र

दुःखले चिरिएका एकजोर पैताला
कतै बिसाउने ठाउँ नपाएपछि
हिँड्दैहिँड्दै आज
हजुरको महलको गेट अगाडि
आइपुगेको छु
साँझ झमक्कै भएछ
पुग्नुछ टाढा
पानी परिरहेको छ त्यसैले
कमरेड !
एउटा छाता
सापटी दिनुहोस् न !

प्रतिकृया दिनुहोस्