News Portal

मन्त्रिपरिषद् बैठकद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक र मङ्सिरमा निर्वाचन हुने

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ८ जेठ
१७ पटक
काठमाण्डौ, ८ जेठ

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राती सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दावी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खारेज गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

यसैबिच प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । शनिबार आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर उनले घोषित मितिमै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

उसैबिच विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा चालिएको प्रतिगामी कदमविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको यो प्रतिगामी कदमले मुलुकलाई नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलेको जनाएको छ ।

बैठकपछि शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा दाबी गर्न हस्ताक्षर गर्ने प्रतिनिधिसभाका १४९ जना सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियतपूर्ण किसिमले प्रतिनिधिसभाको विघटन गरी संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने काम भएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्