News Portal

हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गर्ने सेनीटाईजर कम्पनीमा छापा

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ९ जेठ
४२ पटक
काठमाण्डौ, ९ जेठ

स्यानिटाइजरमा मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको आरोपमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार ललितपुर स्थित एक कम्पनीमा छापा मारेको छ ।

महामारीको रुपमा फैलिएको कोभिड–१९ मा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहिन सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने बिशेष सुचनाका आधारमा छापा मारेको महाखाखाले जनाएको छ ।

ललितपुरको इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा प्रहरीले छापा मारेको हो । सेनिटाइजरमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिथानोल अल्कोहल रहेको आशंकामा औषधी व्यवस्था विभागको ल्याबमा परीक्षण गरिएको थियो । प्लस ७५ प्रतिशत सेनिटाइजर बजारमा बिक्री वितरण भइरहेको सो कम्पनीको उत्पादनलाई परिक्षण गरि प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अनुसार कम्पनीका सञ्चालक आशिष प्याकुरेललाई पक्राउ गर्नुका साथै ठूलो मात्रामा उत्पादन गरेर बजार पठाइने गरेको उक्त कम्पनीवाट ३० हजार लिटर सेनिटाइजर बरामद गरेको छ । विभागको ल्याबबाट प्राप्त रिपोर्टमा सेनिटाइजरमा २४ प्रतिशतसम्म मिथानोल अल्कोहलको मात्रा देखिएको छ ।

उक्त सेनीटाईजर मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने मिथानोल अल्कोहलले मानिसको आँखा, छाला, फोक्सोलगायत अंगलाई क्षति गराउने र ज्यानसम्म जानसक्ने विभागको भनाइ छ ।

प्याकुरेलले ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.–४ ईमाडोल शितलहाईटमा घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी नक्कली स्टिकर प्रयोग गरी सेनिटाईजर तयारी तथा प्याकिङ गरी विक्री गर्दै आएका थिए ।

महाशाखाले उक्त नम्कली कम्पनीवाट अन्दाजी २५ हजार लिटर नक्कली सेनिटाईजर, २ हजार लिटर म्यान्थल रसायन, ३६ सय लिटर इथिनिल नामका रसायनको र विभिन्न स्टिकरहरुको साथै त्रिपुरेश्वर स्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट ५ हजार लिटर गरि करिब ३० हजार लिटर सेनिटाईजर बरामद गरिएको जनाएको छ ।

लाइफ लाइन सर्जिकल हाउस नामक नक्कली कम्पनीका संचालक जिल्ला सुनसरी रामधुनी नगरपालीका वडा नं.–१ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.–४ ईमाडोल शितलहाईट बस्ने बर्ष २६ को निज प्याकुरेललाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त नामका सेनिटाईजर बजारमा विक्री वितरण हुन नदिन सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय समेत भई रहेको छ ।

पक्राउ परेका आशिष प्याकुरेललाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईने महाशाखाले जनाएको छ ।

यसैबिच नवमी नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट उत्पादित नक्कली सेनिटाईजर समेत बजारमा बिक्री वितरण भईरहेको भन्ने सुचनाका आधारमा काठमाण्डौ–१४ कुलेश्वरबाट २१ कार्टुन सेनिटाईजर बरामद गर्नुका साथै नक्कली सेनिटाईजर ओसारपसारमा प्रयोग भएका २ वटा गाडी समेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्