News Portal

सिउँडीफल उत्पादन प्रविधि [Dragon Fruit Production Technology]

१८३ पटक

-पद्मनाथ आत्रेय

पृष्ठभुमी (Backgroung Information)

सिउँडी फललाई अङ्ग्रेजीमा ड्रागन फ्रुट (Dragon Fruit) भनिन्छ । यस्को वैज्ञानिक नाम Hylocereus undatus हो यो क्याक्टेसी (Cactaceae) परिवारमा पर्दछ । जिनस Hylocereus भित्र विभिन्न १६ वटा प्रजातीहरु रहेका छन् । यस्को उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पुर्वि एशियन राष्ट्रहरु जस्तै भियतनाम, थाईल्याण्ड, श्रीलङ्का, फिलिपिन्स जस्ता राष्ट्रहरुमा यसको व्यवसायिक खेती हुँदै आईरहेको छ । हाल छिमेकी राष्ट्रहरु चिन र भारत हुँदै नेपालमा पनि यसको उत्पादन हुन थालेको छ यसरी यो फल नेपालमा एक उदयिमान फल (Emerging fruit) को रुपमा रहेको छ । यसलाई यदाकदा आलङ्कारिक विरुवाको रुपमा घर सजाउनको लागी गमलामा लगाउने गरेको पनि पाईन्छ ।

यसको फल अत्यन्त आकर्षक रङ्ग र आकारको हुन्छ । यो राती फुल्ने भएको हुनाले यस्लाई noble women/Queen of the night आदी उपनामवाट पनि चिन्न सकिन्छ ।  यस्को फलको वोक्रामा कत्लाजस्तो हुने कारण यसलाई पिताया (the scaly fruit) का रुपमा पनि चिनिने गरिन्छ । एक वर्ष लगाएपछि यो फलले निरन्तर २५ वर्ष जति उत्पादन दिन सक्दछ ।

महत्व तथा उपयोग (Importance and Uses)

-यसमा विविध प्रकारका भिटामिन तथा मिनरल्सहरु पाईन्छ जस्ले गर्दा यस्को उपभोगले रोग प्रतिरोधात्मक क्षमता वढाउँछ ।
-मिठो र औषधिय गुणले भरिपुर्ण यो फल अत्यन्त लाभदायक फलको रुपमा लिन सकिन्छ ।
-यो सिधै ताजा फलको रुपमा र यस्को टिपाई उप्रान्त जाम जेली वाईन वनाएर पनि खान सकिन्छ ।
-यसवाट उच्च स्तरको आईसक्रिम, ईनर्जि ड्रिङ्क वाईन र व्रान्डी वनाउन सकिन्छ ।
-कतिपय देशहरुमा यसको मुन्टाको तरकारी खाने प्रचलन पनि रहेको छ ।
-सुकेको फूलको पत्तावाट स्पेसल चिया वनाउन सकिन्छ ।
-यसमा भिटामिन सी प्रचुर मात्रामा हुने भएको हुनाले घाउ निको वनाउन तथा पुरिनको लागी उल्लेख्य भुमिका खेल्दछ ।
-खोकी र दम रोगीका लागी लाभदायक मानिन्छ ।
-यस्को नियमित उपभोगले क्यान्सर, चिनी रोग, रक्तचाप जस्ता रोगहरुलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।
-यस्ले पाचन प्रणालीलाई मजवुत वनाउनुका साथै दाँतलाई स्वस्थ्य राख्न मद्दत पुर्याउँछ । यस्ले मोटापा घटाउनुको साथै आँखाको ज्योतीलाई राम्रो राख्न मद्दत गर्दछ ।
-कृषक तथा उपभोक्तामाझ विस्तारै लोकप्रिय हुँदै गईरहेको र मनग्य आम्दानी गर्न सकिने खालको वाली हो ।

 नेपालमा सिउँडी फल खेतिको वर्तमान स्थिती  (Present Status)

नेपालमा यो फलको व्यवसायिक उत्पादन खासै भएको छैन तसर्थ यसको तथ्याङ्क उपलव्ध हुन सकेको छैन । हाल यसको खेती फाट्ट फुट्ट रुपमा काभ्रे, दाङ्ग, धनकुटा तिर भईरहेको छ । यसको सम्भावना नेपालको कम पानी पर्ने स्थान तिर राम्रो रहेको छ । यो फल हाल नेपालमा एक उदयिमान फल (Emerging fruit) को रुपमा रहेको छ । युवा वर्गहरु तथा व्यवसायिक कृषकहरु यस खेती तर्फ दिनानुदिन वढ्दै छन् ।

 नेपालमा सिउँडी फल खेतीको सम्भावना (Possibilities)

नेपालमा उपलब्ध विविध प्रकारका धरातलिय अवस्था तथा हावापानी सिउँडी फललाई सुहाउँदो भएकोले अतिनै सम्भावना वोकेको छ ।
यसमा उच्च पौष्टिक हुने भएको हुनाले दिन प्रति दिन यसको उपभोग गर्ने मानिसहरु वढ्दो क्रममा छन् ।
सिउँडी फल उदयिमान उच्चमुल्य जाने कृषिबस्तु हो ।
हाललाई बजारको समस्या नभएको र आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न सकिने कृषि बस्तुको रुपमा सिउँडी फल लाई लिन सकिन्छ ।
कृषकहरुको आर्थिक अवस्थामा छिटो सुधार ल्याउन सक्छ भने सिउँडी फलको खेतीवाट आन्तरीक रोजगारीमा वृद्घी गर्न सकिन्छ ।
टिपाई उप्रान्त पनि यसका विविध प्रकारका उत्पादनहरु (Post harvest products) हरु वनाउन सकिने भएको हुनाले यस्को माग दिन प्रतिदिन वढ्दै गईरहेको छ ।

 सिउँडी फल खेतीका चुनौतीहरु (Challenges)

-सिउँडी फल नेपालको प्रमुख शहरहरुमा फाट्टफुट्ट रुपमा पाईएता पनि नेपालको लागी यो नयाँवाली भएकोले कृषि प्राविधिकहरुमा प्राविधिक ज्ञानको कमि छ ।
-सफल वगैचा स्थापना गर्नको लागी गुणस्तरिय विरुवा अतिनै आवश्यक हुन्छ तर गुणस्तरिय विरुवा उत्पादन गर्ने श्रोत केन्द्रहरुको अभाव रहेको छ ।
-नेपालको विविध भौगोलिक धरातलमा हुने जातको कमि रहेको छ र यस वालीमा कुनै अध्ययन अनुसन्धानहरु भएको पाईदैन ।
-विभिन्न ठाँउमा कृषकहरु आँफै चाख देखाएर सिउँडी फलको खेती गरिरहेको सन्दर्भमा उपयुक्त जात तथा गुणस्तरिय विरुवाहरुको उपलव्धता नहुनु अर्को चुनौतिको रुपमा देखिएको छ ।
-सिउँडी फलको महत्वलाई वुझेर कृषकहरु यसको व्यवसायिक खेती तर्फ धेरै अगाडी बढि सकेको अवस्थामासमग्र कृषि प्राविधिकहरुलाई यस -सम्वन्धि प्राविधिक ज्ञान जान्नैपर्ने र प्राविधिक जानकारीहरु हस्तान्तरण गर्नुपर्ने ठुलो चुनौति रहेको छ ।

मुख्य मुख्य प्रजातीहरु (Major Species)

यसका जातहरु फलको वोक्रा र गुदीको आधारमा तिन प्रकारका हुन्छन् ।

हावापानी (Climate)

सामुन्द्रिक सतहदेखी १५०० मी उचाईसम्म खेती गर्न सकिने यो सिउँडी फल उष्ण, उपोष्ण र समशितोष्ण हावापानीमा लगाउन सकिएतापनि यसको लागी उष्ण हावापानी उत्तम मानिन्छ । यसको खेतीको लागी वार्षिक औषत तापक्रम २०-३० डिग्री तथा वर्षा ५००-१५०० मी. मी. भएमा वृद्दि र विकास राम्रो हुन्छ ।

यस्ले सुख्खा सहन गर्न सक्छ तसर्थ प्रशस्त घामलाग्ने दक्षिणी मोहडा यसको व्यवसायीक खेती गर्न उपयुक्त मानिन्छ । अत्यन्त हावालाग्ने वाक्लो तुषारो तथा हिउँ पर्ने क्षेत्र यसको लागी राम्रो हुँदैन । तिव्र हावाचल्ने स्थानमा हावाको वहाव हुने दिशातिर हावा रोक्ने खालका रुखहरु लगाउनु पर्दछ ।

माटो (Soil)

प्रशस्त मल भएको वलौटे देखी दोमट किसिमको माटोमा यसको व्यवसायिक खेती गर्नु राम्रो हुन्छ ।माटोको पि. एच. ५.५-७ सम्म भएको माटो यसको लागी उपयुक्त मानिन्छ । वालुवा भएको क्षेत्र, नदिले कटान गरेको वगर क्षेत्र तथा कम मलिलो भएको ठाँउ पनि यसको लागी उपयुक्त नै मान्न सकिन्छ । यस्को लागी पानी जम्ने ठाँउ राम्रो हुँदैन तसर्थ यदि व्यवसायिक खेती गर्दै हुनुहुन्छ भने राम्रोसँग निकासको व्यवस्था मिलाएर मात्र विरुवा लगाउनु पर्दछ ।

प्रसारण (Propagation)

यस्को प्रसारण लैंङ्गिक तथा वानस्पतिक दुवै तरिकावाट गर्न सकिन्छ । विउवाट विरुवा उत्पादन गर्दा ढिलो हुने, विरुवाको वृद्दी विकास हुन समयलाग्ने  तथा माउवोटको जस्तो हुवहु गुण नआउने  भएको हुनाले त्यती उपयुक्त हुँदैन । वानस्पतिक तरिकामा कटिङ्ग तथा ग्राफ्टिङ्ग विधि उपयुक्त विधिहरुमा पर्दछन् । कटिङ्ग गर्दा फल राम्रोसँग दिईरहेका माउवोटहरु छनौटगरी त्यस्का हाँगाहरुवाट विरुवा निकाल्नु पर्दछ । कटिङ्गको लम्वाई कम्तिमा २०-३० से.मी. सम्मको हुनु पर्दछ ।कटिङ्ग छिप्पिएको हाँगाहरुवाट निकाल्नु पर्दछ र यसमा प्रशस्त आँखाहरु भएको, स्वस्थ्य हुनु पर्दछ ।हाँगाकाट्दा तलको भाग छड्के काट्नु पर्दछ जस्ले गर्दा जरा आउने भाग वड्न जान्छ । माउवोटवाट काटिसकेपश्चात काटेको ठाँउ पुरिन (Healing) ३-४ दिन छाँया पर्ने स्थानमा राख्नु पर्दछ । कटिङ्ग गर्दा माउवोट तथा विरुवाको लागी निकालिएको भाग दुवैमा घाउ वन्ने हुनाले काटिसके पश्चात माउवोटको काटिएको ठाँउमा वोर्डो मिश्रण/पेष्ट लगाउने र विरुवा पनि वोर्डो मिश्रणमा डुवाएर मात्र रोप्नु पर्दछ । कटिङ्गलाई पोली व्यागमा राख्नु पर्दछ र पोलि व्यागमा माटो मल र वालुवा १:१:१ को मिश्रण वनाई हाल्नु पर्दछ । नियमित सिंचाई, गोडमेल तथा नर्सरी व्यवस्थापनका अन्य पक्षहरुलाई विशेष ध्यान दिनु पर्दछ । वढि पानी भएमा जरा कुहिने समस्या हुने हुनाले विशेष ध्यान पुर्याउनु पर्दछ ।

उष्ण हावापानीमा विरुवा रोपण गरेको करिव १४ महिनामा फूल फुल्न शुरु गर्दछ । तर यसको उत्पादन जात हावापानी र वगैचा व्यवस्थापनमा भर पर्दछ । यस्को व्यवसायिक उत्पादन ३ वर्षपछि शुरु हुन्छ ।

सिउँडी फल नर्सरी बिरुवाको गुणस्तर (Quality of nursery sapling)

-सिउँडी फलको जात पहिचान भएको हुनुपर्छ र कटिङ्ग लिंदा फल फल्न शुरु भइसकेको परिपक्व बोटबाट मात्र लिनु पर्दछ ।
-बिरुवा स्वस्थ, रोग कीरा मुक्त, एउटामात्र काण्ड भएको, जराको राम्रो विकास भएको र नबांगिएको हुनु पर्दछ ।
-बिरुवा (कटिङ्ग/कलमी/बिजु) को उचाइ १.५ देखि २.० फिट भएको हुनु पर्दछ ।
-सिउँडी फल बिरुवा बिक्रि वितरण गर्नु अगाडि बोटलाई उपचारगर्ने र प्याकगर्ने जस्ता कामहरु गर्नु पर्दछ ।
-विरुवा प्याकिङ्ग गर्दा प्याकमा जात छुट्टीनेगरी ट्याग/लेवलिङ्ग गर्पर्दछ ।

रेखाङ्कन तथा रोपण (Layout and Planting)

फलफूल खेतीकोलागी रेखाङ्कन प्रक्रिया अत्यन्तै महत्वपूर्ण हुन्छ । व्यवसायीक फलफूल खेती गर्ने हो भने दिर्घकालीन सोचाई राखेर मात्र काम गर्नु पर्दछ । किनभने विरुवा लगाउंदा गरेको गल्तीलाई पछि सुधार्न कठिन वा प्राय असम्भव नै हुन्छ जसले गर्दा ठुलो क्षती हुन सक्छ । रेखाङ्कन भन्नाले विरुवा कति दुरीमा कहाँ रोप्ने भन्ने ठाँउ किटान गर्ने कार्यलाई जनाउछ । उपयुक्त पद्घतिबाट रेखाङ्कन गरी विरुवा लगाउन सकेमा बगैंचा आर्कषक देखीने मात्र हैन, अन्तरबाली लिन, गोडमेल, मलजल तथा काँटछाँट गर्न विषादी छर्कन, फल टिप्न र बगैंचा व्यवस्थापनका अन्य कार्यहरु गर्न समेत सजिलो हुन्छ ।

प्राय सिउँडी फल लाई वर्गाकार, आयाताकार अथवा षड्कोणाकारमा रोप्दा राम्रो हुन्छ तर जग्गा अलिक धेरै भिरालो परेको छ भने लाइनमा कन्टुर वनाएर गह्रा कान्ला प्रणाली (Contour system) मा पनि रोप्न सकिन्छ ।

खाडलको तयारी (Preparation of Pit)

खाडल कत्रो खन्ने भन्ने कुरा माटोको प्रकार र गहिराईमा भर पर्दछ । जग्गाको रेखाङ्कन गरेपछि बिरुवा लगाउनु भन्दा डेढ दुई महिना अगावै बिरुवा लगाउने खाडल खन्नु पर्दछ । खाडल कत्रो खन्ने भन्ने कुरा माटोको प्रकार र गहिराईमा भर पर्दछ तर साधारणतया सिउँडी फल रोपण गर्नको लागी खाडल ६० से. मि. लम्बाई, ६० से. मि. चौडाई र ६० से. मि. गहिरो खाडल खन्नु पर्दछ । राम्रोसंग घाममा सुकाएर अथवा सुकेका पातहरु पोलेर राम्रो संग कुहिएको कम्पोष्ट मल अथवा गोवर मल (१-२ डोको/खाडल) हाली माथिल्लो सतहको माटोसंग मिलाइ राख्नु पर्दछ ।

सिउँडी फल खेतीको लागी दुरी (Planting distance)

यसको व्यवसायिक खेती गर्दा विरुवा वोट देखी वोट र लाईन देखी लाईनको दुरी २-३ मिटरको फरकमा रोप्न सकिन्छ । कुनैपनि फलफूल कति दुरिमा रोप्ने भन्ने कुरा उक्त ठाँउको हावापानी, माटो, सिंचाईको उपलव्धता तथा छनौट गरिएका जातहरुमा निर्भर गर्ने कुरा हो । यसरी हेर्दा एक हेक्टरमा ११०० देखी २५०० सम्म विरुवा अटाउन सक्दछ । हाल उच्च घनत्वमा विरुवा लगाउने प्रचलन वढ्दो छ ।

विरुवा रोप्ने समय (Time of planting)

लगाउने समय प्राय ठाँउ अनुसार फरक पर्दछ तर प्रायजसो सिउँडी फलको रोपण वर्षायाम शुरुहुने वेला (जेष्ठ/असार) मा गर्नु उपयुक्त हुन्छ । सिंचाइको एथेष्ट सुविधा भएको ठाँउमा विरुवा पोली पटमा छ भने फाल्गुन/चैत्र तिर पनी लगाउन सकिन्छ ।

 गोडमेल तथा मलखाद (Intercultural Operation and Manuring)

साधारणतया कलमी सिउँडी फल रोपेको १४ महिना देखी फूल फुल्न थाल्दछ तर व्यवसायिक रुपमा तेश्रो वर्ष देखि राम्रो फल दिन थाल्दछ । मलखाद तथा खाद्यतत्व दिने कुरा माटोको मलिलो पना, प्रकार तथा गुणस्तरमा निर्भर गर्ने कुरा भएता पनि फल टिपे पश्चात गोडमेल गर्दा १०-१५–के.जी. कम्पोष्ट मल, ७० ग्राम नाइट्रोजन (Urea), ९० ग्राम फस्फोरस (Super phoshate) र ४० ग्राम पोटास  (Murate of potash) प्रति वर्ष प्रति वोट दिनु पर्दछ ।कम्पोष्ट मल प्रतिवर्ष २ केजी वढाउँदै लगेर २० केजी/वर्ष/वोट सम्म हाल्न सकिन्छ ।मल हाल्दा रिङ्ग वनाएर मल जताततै पर्ने गर्नेगरी हाल्नु पर्दछ ।जथाभावि रासायनिक मलको प्रयोग गर्नु हुँदैन किनभने रासायनिक मलले फलको गुणस्तर निर्धारण गर्ने TSS, TA, TSS/TA, reducing sugar र जुसको प्रतिशतमा नकारात्मक असर पार्दछ जस्तै उदाहरणको लागी नाइट्रोजनको मात्रा वढि भयो भने माथि उल्लेखीत सम्पुर्ण कुराहरु घट्न जान्छ । फल दिने वोटमा नाईट्रोजन को मात्रा कम र पोटासकोमात्रा वढाएर हाल्दा राम्रो हुन्छ । मलखाद व्यवस्थापन गर्दा फूल फुल्नुभन्दा अगाडि, फल विकास हुने वेलामा तथा फल हार्भेस्टिङ्ग गरिसके पछि वर्षको ३ पटक मिलाएर दिनु पर्दछ ।

 सिंचाइ (Irrigation)

धेरै पानी पर्ने तथा जम्मा हुने ठाँउ सिउँडी फलको लागी उपयुक्त हुँदैन ।सुख्खा सहन गर्न सक्ने वाली भएता पनि धेरै सुख्खा ठाँउमा छापोको व्यवस्था गरि चिस्यानलाइ कायम राख्न सकिन्छ भने पानी जम्मा हुने ठाँउमा निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।छापो हाल्दा कुहिएर मल हुने खालका पदार्थहरुको प्रयोग गर्नु पर्दछ जस्ले गर्दा चिस्यान जोगाइराख्नुका अलावा कुहिएर मलखादको काम पनि गर्दछ र माटोमा लाभदायक शुक्ष्म जिवाणुको संख्यामा वृद्वि गर्दछ । पानी कम हुने ठाँउमा सिउँडी फलको वगैचामा सिंचाई गर्नको लागी थोपा सिंचाई अति नै उपयोगी हुन्छ । थोपा सिंचाईको प्रयोग गरेर कम पानीले नै लामो समयसम्म र निरन्तर सिंचाई गर्न सकिन्छ ।

अन्तरवाली (Intercropping)

नयाँ स्थापना गरेको सिउँडी फल बगैचामा लाईनहरुको वीचमा १-१.५ बर्षसम्म जमिन लगभग खाली नै रहन्छ तसर्थ उक्त समयसम्म प्रतिस्पर्धा नगर्ने खालका चना, केराउ, मास, मुंग, तोरी जस्ता वालीहरु लगाउन सकिन्छ तर फल दिन थालेपश्चात अन्तरवाली लगाउनु त्यति उपयुक्त हुँदैन किनकी यस्ता वालीहरुले मुख्य वालीसँग खाद्यतत्व, पानी तथा प्रकाश जस्ता श्रोतको लागी प्रतिस्पर्धा गर्ने गर्दछन् ।सिउँडी फल नजिक नजिक लगाईने भएको कारण पनि अन्तरवाली खासै लगाईएको पाईदैन । व्यवसायिक उत्पादन लिने समय नभईञ्जेल सम्मको लागी खालि जमिनमा अन्तरवाली लगाउदा मुख्य वाली सिउँडी फललाई समेत फाईदा नै हुन्छ किन भने अन्तरवाली गर्दा झारपात नियन्त्रण, गोडमेल, सिंचाई, मलखाद आदीको व्यवस्था हुने भएकोले सिउँडी फलको वृद्घि विकास पनि राम्रो संग हुन पाउँछ ।

अन्तरवालीको योजना सावधानी पुर्बक गर्नु पर्दछ । अन्तरवाली व्यवस्थापनमा माटो,  हावापानी र जातलाई विशेष ध्यान दिनु पर्दछ । मुख्यतयाः अन्तरवालीले मुख्य वाली संग स्थान, खाद्यतत्व, पानी र प्रकाशको लागी प्रतिस्पर्धा गर्नु हुदैन ।उदाहारणको लागी खाद्यतत्व र चिस्यानको प्रतिस्पर्धा हटाउन गहिरो जरा भएको वाली सँग माथिल्लो सतहमै रहने जरा भएको वालीको व्यवस्थापन गर्न आवश्यक छ । त्यसै गरी प्रकाशको लागी प्रतिस्पर्धा हटाउन होचा वालीहरु छांया मन पराउने किसिमको रोज्नु पर्दछ । मुख्य वालीले उत्पादन दिन थाले पछि अन्तरवाली तथा फिलर क्रपहरु हटाई हाल्नु पर्दछ । माटोको र्उबरा शक्तिलाई कायम राखि रहनको लागी उचित मात्रामा मलखाद तथा खाद्यतत्व व्यवस्थापन गर्नु पर्दछ ।अन्तरवालीको रुपमा साना र ठुला पात हुने तरकारी वालीहरु अन्नवालीको तुलनामा राम्रो मानिन्छ । अन्तरवाली व्यवस्थापनमा माटो, हावापानी र जातलाई विशेष ध्यान दिनु पर्दछ । मुख्यतया अन्तरवालीले मुख्य वाली संग स्थान, खाद्यतत्व, पानी र प्रकाशको लागी प्रतिस्पर्धा गर्नु हुदैन ।

 तालिम तथा काँटछाँट (Training and Prunning)

गर्मी समयमा यस्को वृद्दि विकास अत्यन्त छिटो हुन्छ भने जाडो समयमा धेरै सुख्खा मौसम र चिसो हावापानी भएको ठाँउमा केही ढिलो गरी वढ्दछ । यसको वगैचा व्यवस्थापन गर्दा जति पनि हाँगाहरु आउँछन् तिनिहरुलाई माथी वढ्ने सपोर्टको आधारमा वढ्न दिनु पर्दछ । जमिनको सतहसँग मिलेर हाँगाहरु गयोभने माटोले क्षती पुर्याउनुको साथै फूल फुल्ने, परागसेचन तथा फल फल्ने प्रकृयालाई नकारात्मक असर पार्दछ । यसको वगैचा व्यवस्थापन गर्दा काँटछाँट अत्यन्त महत्वपुर्ण कृयाकलापमा पर्न आउँछ । दाँयावाँया फैलिएका तथा तल जमिन तिर फर्किएका, रोगी र अनावश्यक हाँगाहरुलाई हटाउँदै एउटा हाँगालाई मात्र खम्वामा जाने गरी व्यवस्था मिलाउने । मुख्य यसमा रोपेको वर्ष धेरै काँटछाँटको आवश्यकता पर्दछ । यसमा गरिने तालिम तथा काँटछाँट जात, वगैचा व्यवस्थापन र सपोर्ट सिस्टममा निर्भर गर्दछ । हरेक टिपाई पश्चातको तालिम तथा काँटछाँट अत्यन्त महत्वपुर्ण हुन्छ यस्ले नयाँ मुना र हाँगाहरु पलाउनका साथै अर्को वर्ष फूल फुल्ने र फल फल्ने प्रकृयामा सकारात्मक असर पार्दछ ।

अनावश्यक हाँगाहरु नियमित हटाउने र २-३ वटा मुख्य हाँगाहरुमात्र माथी जानेगरी वढ्न दिनु पर्दछ । पोलको माथी सिरानमा टायर अथवा कुनै घुमाउरो/चारपाटे सपोर्ट राखेर फूल फुल्ने र फल फल्ने हाँगाहरु फैलन सहजहुने वातावरण मिलाउनु पर्दछ ।

यसको लागी सपोर्ट चाहिने हुनाले रोप्नु भन्दा अगावै काठको वा सिमेन्टको चार पाटा परेको खामो करिव १-२ फिट गाडेर राख्नु पर्दछ । खामोको उचाई वगैचामा काम गर्ने व्यक्ती अनुसार पनि भर पर्दछ तर साधारणतया जमिनको सतहदेखी ५-६ फिट उचाईको राम्रो हुन्छ । विरुवा रोप्दा उक्त खम्वाको दुई तर्फ वा चार तर्फ लगाउन सकिन्छ । काठको भन्दा सिमेन्टको खम्वा टिकाउ हुने हुनाले यो प्रयोग गर्नु राम्रो मानिन्छ ।

विरुवा रोप्दा पाटा परेको भाग सिमेन्टको खम्वामा टाँसिने गरी रोप्नु पर्दछ । जसै विरुवा वढ्दै जान्छ यस्को काण्डवाट जराहरु छोड्दै जान्छ र खम्वामा समाउँदै माथी वढ्छ । खम्वामा सजिलै सँग जाओस भन्नका लागी डोरी अथवा सुतरीले वोटलाई खम्वामा वाँध्नु उपयुक्त हुन्छ । विरुवा रोपिसकेपश्चात सिचाई, छापो हाल्ने तथा नियमित गोडमेल गरिरहनु पर्दछ ।

तालिम तथा काँटछाँटका केही उद्देश्यहरु (Objectives)

-मुनाको उचित व्यवस्थापन गर्नको लागी ।
-हाँगाहरु लामो/छोटो वनाउनको लागी ।
-नयां हाँगाहरु लाई व्यवस्थित रुपले विकास गर्नको लागी ।
-हाँगाहरुको प्रधानता हटाउनरवढाउनको लागी ।
-नियमित फल फल्ने बनाउनको लागी ।
-खप्टिएका र प्रकाश राम्रो सँग नपाउने हाँगाहरु हटाउनको लागी ।
-रोगी तथा कमजोर हाँगाहरुलाई हटाउनको लागी ।

फूल फुल्ने  र फल लाग्ने प्रक्रिया (Flowering and fruiting)

ड्रागन फलको फूल रातीको समयमा फुल्दछ । यसको फूल सेतो वास्नादार र आकर्षक हुन्छ । साधारणतया चैत्र/वैशाख (April/May) तिर फुल्दछ । ठाँउ तथा जात हेरेर यसको फूल ३५-४५ दिनमानै परिपक्व हुन्छ । त्यसकारण यसवाट उत्पादन लिनको लागी त्यती लामो समय कुर्नु पर्दैन । यसरी चैत्र/वैशाख वाट फुल्न थालेको फूल कार्तिक मङ्गसिर सम्म नियमित फुलिरहने र फलिरहने हुन्छ । यसरी एकै वर्षमा धेरैपटक फल टिप्न पाईन्छ । परागसेचन साधारणयता हावा तथा कीराहरुवाट हुने गर्दछ । हावाको वहाव राम्रो नभएको र कीराहरुको कृयाकलाप उल्लेख्य नभएका स्थानहरुमा कृतिम रुपमा हातले परागसेचन गरेमा पनि राम्रोसँग फल लाग्न सक्दछ । हातले परागसेचन गराउँदा  फूल फक्रन भन्दा अगावै साँझ ४ देखी विहान ११ वजे सम्म गर्न सकिन्छ । यसरी गरिएको परागसेचनवाट गुणस्तरिय फल पाउन सकिन्छ ।

यसको एउटै वोटले धेरै समयसम्म फल दिईरहन सक्दछ । जात हेरेर यसको फल १५० ग्राम देखी १ के जी सम्म हुन सक्दछ ।

कृतिम रुपमा परागसेचन गराँउदा परागकणहरु व्रसको सहायताले संकलन गरी स्त्रीकेशरमा छुवाईदिने गर्नु पर्दछ । यसरी २ वटा फूलवाट संकलन गरिएको परागकण करिव १०० फूलमा परागसेचन गर्नको लागी पुग्दछ । खुल्ला सेचीत भन्दा कृतीम तरिकावाट गरिएको परागसेचन वाट उत्पादित फलहरु गुणस्तरिय हुन्छन् । फूल फुलेको ४-५ दिनमा फुल सुक्छ र फल लाग्दछ । यसको फूल रातीमा मात्र फुल्दछ ।

सिउँडी फलमा लाग्ने मुख्य मुख्य कीराहरु/रोगहरु [Major insect/pests/diseases of dragon fruit and]

साधारणतया सिउँडी फलमा रोग तथा कीराहरुको खासै समस्या देखिदैन । तर ढुसीवाट लाग्ने केहि रोगहरुले आक्रमण गरेको पाईन्छ । केही कमिला, लाही कीरा, तथा कत्ले कीराहरुले नयाँ कलिला भागहरु र फूलमा असर पार्ने गरेको देखिन्छ । कतिपय ठाँउमा औंसा पार्ने कीरा, मुसा तथा चराहरुले फूल तथा फलहरु खाएर क्षती गर्ने गरेको पाईन्छ ।

केही ढुसीवाट हुने ढुसीजन्य रोगहरु जस्तै Gloeosporium agaves, Macssonina agaves, Dothiorellasp. and Botryosphaeria dothidea र भाईरस वाट हुने भाईरल रोग (Cactus virus X), र व्याक्टेरियावाट हुने व्याक्टेरियल रोग  (Xanthomonas sp. and Erwinia sp.) हरु पनि रिपोर्ट गरिएको छ । यस्ता रोग तथा कीराहरुवाट वचाउनको लागी नियमित रुपमा वगैचा निरिक्षण गरी सरसफाई गर्ने, शुरुका चरणमा रोग तथा कीरा देखिएमा हातले टिपेर फाल्ने, गुणस्तरिय विरुवा लगाउने तथा रोग पहिचान गरी विषादिको प्रयोग गरि सजिलैसँग व्यवस्थापन गर्न सकिन्छ ।

सिउँडी फलको परिपक्व अवस्था (Maturity indicies)

काँचो फलको वोक्रा हरियो रङ्गको हुन्छ भने पाकेका सिउँडी फलहरु जात अनुसार कुनै राता त कुनै पंहेला हुन्छन् ।

यसरी फलको रङ्ग हरियो वर्णवाट रातो/पंहेलोमा परिवर्तन हुन थालेको ४-५ दिनमा फल टिप्नको लागी तयार हुन्छ ।

सिउँडी फलको फल टिपाई  (Harvesting)

फल पाकेको थाहा भए पछि सिकेचरको प्रयोग गरी हातले एक एक गर्दै टिप्नु पर्दछ । फल टिपे पश्चात सुरक्षित साथ झोलामा राख्नु पर्दछ ।

 उत्पादन (Yield)

उत्पादन समग्र वगैचा व्यवस्थापन, प्रति ईकाई विरुवा संख्या, जात तथा हावापानीमा भर पर्ने कुरा हो । साधारणतया १०-१५ मे.टन./हेक्टर उत्पादन सजिलैसँग लिन सकिन्छ ।

-लेखकः शितोष्ण वागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्गका वागवानी विकास अधिकृत हुन् । 

सन्दर्भ सामाग्रीहरु (References):

Agri Farming. 2020. Dragon Fruit Cultivation Guide. Available at: https:// www. agrifarming .in/dragon-fruit- cultivation (Accessed: 4th June, 2020).

Atreya, P.N. 2077. Commercial Dragonfruit Production Technology. Warm Temperate Horticulture Centre, Kirtipur, Kathmandu, Nepal.

Atreya, P.N. 2071. Pomegranate: An Emerging Fruit (Technical Book). Fruit Development Directorate. Department of Agriculture (DoA), Kirtipur, Kathmandu.

Atreya, P.N., C.M. Shrestha, B.D. Suvedi and S.P. Pandey. 2020. Emerging fruits of Nepal: Pomegranate, Kiwifruit, Avocado, Dragon fruit and Grape ; Opportunities, Challenges and Ways forward. 11th National Horticulture Seminar (6-7th Feb, 2020),  Kirtipur, Kathmandu, Nepal.

Bakashi, P. and M. Iqbal. 2019. Dragon Fruit Plantation Guide. Available at: https://www.krishisandesh.com/dragon-fruit-plantation-guide (Accessed: 4th June, 2020).

Chattopadhaya, T.K. 1998. A Text Book on Pomology (Sub tropical fruits), Vol III, Kalyani Publishers, New Delhi.

Ernest M. and E. T. Bullard. 1970. Handbook of Tropical and Sub tropical horticulture, Department of State Agency for International Development, Washington D.C.

FAO. 2019. List of countries by dragonfruit production.  Food and Agriculture Organization Corporate Statistical Database (2018), Available at: https://en.wikipedia.org/wiki/ List_of_countries_by_dragonfruit_production (Accessed: 3rd Feb, 2020).

FRDI. 2020. Dragon fruit. Fruit Crop Research and Development Institute (FRDI), Horana, Available at: https://www.doa.gov.lk/FCRDC/index.php/en/2015-09-22-05-59-43/54-sd (Accessed: 4th June, 2020).

Hartmann, H. T., D. E. Kester, F.T. Davis, R. L. Geneve . 2002. Plant Propagation ; Principles and Practices. Prentice Hall of India Private Limited, New Delhi.

Shrestha, G.K. 1996. World Commercial Fruits at a Glance. Technica Concern, GPO Box 3602, Kathmandu, Nepal.

Tepora, T.F.2019. Problems and Opportunities of dragon fruit production in the Philippines, College of Agriculture, Food, Environment and Natural Resources (CAFENR), Cavite State University, Indang Cavite, Taipae, Taiwan.

प्रतिकृया दिनुहोस्