News Portal

सिद्धन्तबिहिनहरूबाट सत्य पराजित भएको छ

७७ पटक

-केशवप्रसाद भट्टराई
बधाई कृष्णचन्द्र नेपालीलाई कि दीपक मनाङ्गेलाई ? भन्ने मेरो जिज्ञासामाथि कतिपय स्वनामधन्य काङ्ग्रेसी मित्रहरूको मेरा यस अघिका टिप्पणी समेतलाई जोडेर उहाँहरूका टिप्पणी र प्रश्नहरू अनि दावीहरूलाई मैले बुझे अनुसार तल प्रस्तुत छ ।
१. परिवेश र सन्दर्भः निसन्देह सौम्य, शिष्ट, त्यागी र निष्ठावान कृष्णचन्द्र नेपाली मैले सम्मान गर्ने काङ्ग्रेसी नेता हो । शेरबहादुर देउवा र रामचन्द्र पौडेल त मेरा नेता नै भए । पृथ्वी सुब्बा गुरूङलाई त म प्रतक्ष चिन्दा पनि चिन्दिन । केपी शर्मा ओलीको हकमा पनि त्यस्तै हो ।

वैचारिक आधारमा पृथ्वीसुब्बा गुरूङ्ग भन्दा कृष्णचन्द्र नेपाली मूख्य मन्त्रीमा र केपी ओली भन्दा शेरबहादुर देउवा प्रधानमन्त्रीमा मेरो रूचि र छनौटका हुन् ! मेरो आस्था पनि उनीहरूसँग जोडिएको र उनीहरूसँग मेरो लामो चिनजानले पनि मेरो त्यो रूचि र छनौट रहेको हो ।

तर देउवा र नेपाली दुवै सिद्धान्तहीन र अवशरवादी गठबन्धनको भरमा नभएर आफ्नो पौरखले, आफ्नो संगठनको बलमा, स्वस्थ्य राजनीतिक अभ्यासबाट ती पदमा पुगुन र पुग्नु पर्दछ भन्ने मेरो मान्यता र विश्वास हो ।

२. वर्तमान काङ्ग्रेस नेतृत्व कतिपय युवा स्वनामधन्य काङ्ग्रेसी मित्रहरूको वर्तमान शैलीको राजनीति, अभ्यास, दृष्टिकोण र टिप्पणीहरू र ती टिप्पणीहरूबाट उठ्ने सम्भावित प्रश्न, टिप्पणी र दावीहरूलाई मैले देहाय अनुसारका समेट्ने कोशिस गरेको छु र तिनलाई विनम्रतापूर्वक तिनलाई प्रस्तुत गर्दै छु ।

३. १. “पृथ्वी सुब्बा गुरुङ्गले हुने, कृष्ण चन्द्र नेपालीले नहुने ? दीपक मनाङ्गेलाई तिनले नायक मान्न हुने, हामीले नहुने ? ओलीले हुने, देउवाले नहुने ? प्रचण्ड–बाबुरामले हुने, हामीले नहुने ?

३. २. माकुने–झलनाथले हुने, पौडेल–सिटौलाले नहुने ? उनीहरू लूटपाट–हत्या हिंसामा लाग्दा हुने, हामीले नहुने ? ओली सरकारले भ्रष्टाचार गर्न हुने हामीले नहुने ? हामीले खानु पर्दैन, कार्यकर्ता पाल्न पर्दैन ? ओलीहरूले खाएको मात्रै हेरेर बस्ने हामीले ?

उनीहरू अनुशासनहीन हुँदा हामी हुन नपाउने ? उनीहरूले सत्ताको लागि गति छोडेर लुछाचुँडी गरिरहँदा हामीले नहुने ? गर्छौँ, गर्छौँ, गर्छौँ ! जे जे ख्यास्नु छ ख्यास ! पद र सत्ताको लागि जे जे गर्नु पर्छ गर्छौँ !

३.३ . यौटा कुरा प्रष्ट देखियो, ओलीको जतिसुकै विरोध गरेपनि मोडेल ओली नै रहेछन् । राजनीतिक आदर्श प्रचण्ड र बाबुरामको ! मानदण्ड ओलीको ! त्यसैले भनेको भन्यै छन् –ओलीले पनि त !

ओलीले हुने, हामीले नहुने ? ओलीले गरे, हामी पनि गर्छौँ ! कसैले सिकाउनु पर्दैन, कसैले भन्नु पर्दैन ! समर्थन गरे गर, नगरे नगर ! भोट हाल्न मन लागे हाल मन न लागे नहाल ! माओवादी –माकुने गूटसँगको सहकार्यबाट त्यसको भरपाई गरौँला । जहाँ जानु छ जाऊ, जे गर्नु छ गर ! हाम्रो बाटो यही हो !

हिजो एक दुई ठाउँमा हँसिया–हथौडामा भोट हाल्यौँ अव मुलुकभरी आधा आधा सिट बाँडेर लड्छौँ ! दुई तिहाई ल्याउँछौँ । ओलीले माओवादीसँग मिलेर दुई तिहाई ल्याए हामी पनि त्यसैगरी माओवादीसँग ल्याउँछौँ । ओलीले हुँदा, देउवाले किन नहुने ? देउवा के कम ? हामी के कम ? १२ बुँदे १२ बुँदे एक हौँ भन्न किन नहुने ?

१२ बुँदेका मालिकहरूप्रति प्रष्ट प्रतिवद्धता र सेवक भाव नभएका ओली फालेर त्यस्तो प्रतिवद्धता र सेवक भाव भएका माओवादी र एमालेका विद्रोही साथीहरू सँग बसेर १२ बुँदेको परिकल्पना अनुसारको नयाँ नेपाल निर्माण गर्न हामीले किन नपाउने ? यो भारत होइन, हामीलाई १२ बुँदे कै भारत चाहिन्छ, त्यही भारतको सेवा गर्छौं भन्न किन नपाउने ?

३.४ . अनि बाहिरी र उहाँहरूका बेसरोकारका प्रश्नः उनीहरूको चोर्दा हुने, अनि भोली काङ्ग्रेसको चोरिंदा, चोर्दा के हुने ? कथं संसद पुर्नस्थापना भएमा काङ्ग्रेसका चोरेर भोली देउवा भन्दा अघि कसैले संसदमा वहुमत देखाए के हुने ?

माओवादी र माकुने बोकेर, चुनावी तालमेल गरेर जाँदा काङ्ग्रेस मतदाता घरैमा बसिदिए के हुने ? एमाले सांसदहरूले ह्विप उल्लङ्घन गर्न हुने, काङ्ग्रेसी सांसदले नहुने ? एमालेका उछिट्टिएका सांसद बोकेर देउवाले सरकारको दावी गर्न हुने, भोली काङ्ग्रेसका त्यस्तै सांसद बोकेर ओलीले सरकारको दावी गर्न हुने–नहुने ?

४ अन्त्यमा तीन वर्ष अघिको आफ्नो एउटा पोस्ट –‘कुनै पनि युगमा सत्य झूठबाट पराजित भएको छैन ! तर सत्यलाई सत्य हो भनेर भन्न नसक्ने, सत्य जान्न नखोज्ने, सत्यको उपेक्षा गर्ने र सत्यको पक्षमा उभिने साहस नगर्नेहरूबाट भने सत्य पराजित भएको छ, भइ नै रहेको छ !’

प्रतिकृया दिनुहोस्