News Portal

असल मौरीपालनका अभ्यासहरु

७८ पटक

असल मौरीपालन अभ्यासले मह एवं अन्य मौरीजन्य उपजहरुको गुणस्तर मापदण्ड सुनिश्चित गर्छ र मानव उपभोगको लागि सुरक्षित रहेको प्रत्याभूति गर्छ । यसमा देहायका तत्व एवं सर्तहरुको सम्बोधन गर्नु पर्दछ ।

१. मौरीपालनका लागि उपयुक्त वातावरणः
क) मौरी आरक्ष धूलो धुवाँ र फोहर रहित, कीटनाशक विषादी प्रयोग नहुने, गह्रौं धातुका धाउ–कोडाकर्कट केही नभएको, रेडियोधर्मी वस्तुहरुको लसपस नहुने, आनुवंशिक तवरमा परिवर्तित वाली वनस्पति प्रयोग नभएका, फोहर पानी नजम्ने सफा सुग्घर स्वच्छ र सुरक्षित स्थानमा स्थापना गरेको हुनुपर्दछ ।
ख) माथि क) मा उल्लेख भएका वस्तुस्थिति सम्बन्धमा मौरी राख्नु अघि सुक्ष्म तवरले अवलोकन र अध्ययन गरी अभिलेख राखेको हुनुपर्दछ ।
ग) मौरी चरन सफा, सुग्घर, कोडा कर्कट केही नभएको, कलकारखाना, अस्पताल, नगरपालिकाका डम्पिंग स्थलहरुबाट निस्कने बग्ने फोहोरहरुबाट मुक्त हुनु पर्दछ ।
घ) मौरीको चरन विचरण सीमाभित्र रस तथा कुट उपलब्ध गराउने चरन वाली तथा वन्य वनस्पति बोट विरुवा प्रशस्त हुनु पर्दछ । यसमा मौरीपालकले पनि बाटो घाटो, नहर किनार, खाली पाखा पखेराहरुमा मौरीले विचरण गर्ने बोट विरुवाहरुको वृक्षरोपण गर्ने र हुर्काउने गरेर मौरीपालनको उत्पादकत्व सुदृढ गराउनु पर्दछ । मौरीले विचरण गर्ने केही वनस्पतिहरु अनुसूचीमा दिईएको छ ।

२. मौरीपालन पकेट क्षेत्र छनौट र विकासः
स्वादिलो तर नाजुक खाद्य वस्तु र हजारौं कोमलांगी छाउरा सहित सानो कोठरी भित्र हजारौंको संख्यामा बसेरा गर्ने मौरीमा धेरै थरी साना ठूला प्राणी एवं सूक्ष्म जीवहरुबाट आक्रमण संक्रमण हुने भएकोले मौरीपालकलेमौरीको सुरक्षामा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
मौरीले आफ्नो चारा आफैले प्रकृतिबाटै खोजी गुजारा गर्ने भएकोले उसलाई सुदृढ चरनको आवश्यकता पर्दछ । यी आवश्यकताहरुको ख्याल गर्दै मौरीको सुरक्षाको लागि मौरी आरक्ष पकेटको विकास गर्न देहाय बमोजिम गर्नुपर्दछ :
क) मौरीको चरन विचरण सीमाभित्र रस तथा कुट अटुट रुपमा प्राप्त हुने चरन वाली तथा अन्य वनस्पतिका बोट विरुवाको खेती एवम् वृक्षरोपण गराएको हुनु पर्दछ । यसमा मौरीपालकले पनि बाटोघाटो, सडक, खोलानाला, नहरहरुका किनारा, खाली पाखा पखेरा, वनक्षेत्रहरुमा मौरीले विचरण गर्ने बोट विरुवा लगाउने हुर्काउने गर्नु पर्दछ । मौरीले विचरण गर्ने केही सुरक्षित एवं मौरीमैत्री वनस्पति तथा वालीहरु अनुसूचीमा दिईएको छ ।
ख) मौरी आरक्ष स्थलबाट दुई तीन किलोमिटरको सेरोफेरो भित्र अरिंगाल–वच्छ्यिुँहरुको गोलो भए नभएको बुझी पहिल्याई नष्ट गरेर मौरीलाई सुरक्षित गराएकोअभिलेख राखेको हुनुपर्दछ ।
ग) मौरी आरक्ष स्थलमा बाँदर, भालु, मलसाँप्रोहरुको विगविगी छ कि छैन अध्ययन गरी सुरक्षाको ब्यवस्था गरेर अभिलेख राखेको हुनुपर्दछ ।
घ) मौरीपाल्ने स्थलमा हिउ, तुसारो, हुरी, बतास, बाढी पहिरो आदिको जोखिम भए सुरक्षाको ब्यवस्था गरेको हुनु पर्दछ ।
ङ) मौरी आरक्षमा धुलौटे सडकको असर नपर्ने मानिसको ओहोर दोहोर भई राख्ने पदमार्ग, पशु चरन, ब्यापारिक चहलपहल आदिको घच्चा नलाग्ने गरी राख्ने ब्यवस्था गरेको हुनुपर्दछ ।
च) मौरी आरक्षको सेरोफेरोमा सफा, स्वच्छ र गह्रौं धातुका टुक्राटुक्री, घाउ आदिबाट मुक्त, रेडियोधर्मी वस्तु, पेट्रोलियम पदार्थ, रोग कीटनाशक विषादी, कारखाना, अस्पताल तथा डम्पिंग स्थलबाट निस्कने धूलो, धुँवा, वग्ने वस्तुको लसपस एवं मिसावट हुने भए प्रतिकारक उपचार गरी गराई अभिलेख राख्ने गरेको हुनु पर्दछ ।
छ) मौरी पाल्ने पकेटमा मौरी तथा मौरी उपजमा बाधा, व्यवधान वा प्रदुषण गराउने केही तत्वहरु देखिएमा तिनको निराकरण गर्न प्रतिकारात्मक उपचार गरेको र अभिलेख राखेको हुनुपर्दछ ।
ज) मौरी आरक्ष एवं चरन सीमाभित्र फोहोर पानी जम्ने खाल्डाखुल्डी भए पुरपार गर्ने गरेको हुनुपर्दछ ।
झ) मौरीले विचरण गर्ने सीमा भित्र आनुवंशिक तवरमा परिवर्तित वाली बनस्पति खेती गरेको हुनु हुँदैन । यसले मौरी उपजहरुलाई विषाक्त बनाउँछ ।

३. मौरीका प्रजातिय छनौटः
क) मौरीपालनका लागि मत्थर स्वभावका बढी परिश्रमी र उत्पादनशील, कम हुल निर्यास गर्ने, घार त्याग कम गर्ने खालका मौरी छनौट गरेको हुनु पर्छ ।
ख) व्यापक र विस्तृत चरन हुने सडक यातायातको सुगमता भएका ठाउँ, विशेषतः तराई, भित्री मधेस एवं सुगम पहाडी टार उपत्यकामा वाह्य मौरी एपिस मेलिफेरा जातको मौरीको व्यवसायिक प्रयोग गरेको राम्रो हुन्छ ।
ग) यातायातको सुगमता कमजोर भएका दूरदरारका पहाडी तथा पर्वतीय क्षेत्रमा नेपाली स्वदेशी मौरी ए. से¥याना मौरीको प्रयोग नै राम्रो भई रहेको छ ।
घ) नेपालमा पश्चिमको पर्वतिय क्षेत्रमा हजारौं वर्ष देखि रहेको मौरीका भौगोलिक प्रजातिहरुमा मिलाउने से¥याना मौरी पनि बढी उत्पादनशील हुन सक्ने देखिएको छ । यसलाई पहाडी भेगमा तलतिर ल्याएर विकास गर्नु राम्रो हुनेछ ।

४. मौरीमा देखापरेको क्षेत्रीयकरण व्यवस्थापनः
असल मौरीपालन अभ्यासको उद्देश्य देशमा युगौं देखि रहेर देशको वालीनालीको उत्पादकत्व र जैविक विविधता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याउदै आएका स्थानीय रैथाने मौरीहरुको संरक्षण र सम्वद्र्धन गर्ने र सुगम सम्भाब्य क्षेत्रमा ब्यवासायिक मौरीपालन प्रवद्र्धन गरी धेरै भन्दा धेरै स्वच्छ र स्तरीय मह उत्पादन गराउने समेत भएकोले प्राकृतिक तवरमै देखा परेको घार मौरीहरुका क्षेत्रीयकरण प्रकृयाको कदर गर्दै त्यही अनुसार ब्यवस्था गरेको राम्रो हुनेछ । असल मौरीपालन अभ्यासका स्वामित्वकर्ता र व्यवसायीहरुले यस दिशामा सजग हुन आवश्यक छ ।

क) नेपालमा युगौं देखि बसेरा गर्दै आएका एकै रुप स्वरुप स्वभावका घारे मौरी ए.डोस्र्याटा र भीर मौरी ए. लेवोरियोसाले निश्चित क्षेत्रमा सीमित भई क्षेत्रीयकरण अपनाएर बाँची रहे जस्तै एकै प्रकृति र स्वभावका एशियाली घार मौरी ए.से¥याना र युरोपेली घार मौरी ए. मेलिफेराले पनि खास गरी नेपालका चितवन र दाङ्ग उपत्यकाहरुमा देखा परेको क्षेत्रीयकरणलाई स्वीकार गर्नु नेपालको मौरीपालनको हितमा हुने देखिन्छ । सबै सरोकारवालाले यस प्रवृत्तिको कदर गर्नु राम्रो हुन्छ ।
ख) नेपालको सुगम र सहज एवं ब्यापक र विस्तृत चरण उपलब्ध हुन सक्ने तराई, भित्री मधेस तथा सडक पुगेका होचा नदी उपत्यका तथा पहाडी टार एवं उपत्यकाहरुमा ए.मेलिफेरा मौरीमा आधारित भएर ब्यवसायिक मौरीपालन गर्दा राम्रो हुनेछ ।
ग) कमजोर यातायात भएका दुर्गम पहाडी तथा पर्वतीय क्षेत्रमा स्थानीय रैथाने मौरी ए.से¥याना विभिन्न पारिप्रजातिमा आधारित संरक्षण मौरीपालनलाई प्रोत्साहित गर्दा राम्रो हुनेछ ।
घ) सम्भाव्य वातावरणीय र पारिस्थितिक तथा आर्थिक, सामाजिक प्रभाव अध्ययन नगरी अरु विदेशी मौरी आयात गर्नु मौरीपालनको हितमा हुने छैन ।

५. मौरीपालन गोलाका सामयिक व्यवस्थापनः
मौरीपालनको उत्पादन प्रभावकारिता र उत्पादित वस्तुको गुणस्तरमा असल सामयिक व्यवस्थापनको विशेष महत्व रहन्छ । तसर्थः मौरीपालन र उपज व्यवस्थापनको अनुगमन र मूल्याङ्कन गर्दा विशेषतः देहायका कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।
क) नियमित किसिमले साप्ताहिक तवरमा मौरी घार खोली गोला निरीक्षण गर्ने र आवश्यकता अनुसार सामयिक व्यवस्थापन गर्ने गरेको हुनुपर्दछ ।
ख) खासगरी शीतकाल र वर्षाकालको अन्त्यतिर घार खोली भित्र वाहिर सफागर्ने, कुनै रोगव्याधको संकेत देखिएमा जैविक एवं भौतिक तवरले उपचार गर्ने व्यवस्था गरेको हुनुपर्दछ ।
ग) कमजोर मौरी गोलाले विभिन्न रोगव्याध तथा प्राकृतिक दुश्मनहरु निम्त्याउने र गम्भीर उपचारको आवश्यकता बढाउने भएकोले त्यस्ता कमजोर गोलाहरुलाई संयोजन र समान गराएको एवं उत्प्रेरक प्राशन दिई कृयाशील वनाएको हुनुपर्दछ ।
घ) मौरीपालकले आफ्नो मौरी गोला राखेका वा राख्ने आरक्षस्थलको सरसफाइ गरी फोहोर पानी जम्ने खाल्डाखुल्डी पुरेको र चरन वाली कृषकलाई पनि सरसफाइ गर्न लगाएको हुनुपर्दछ ।
त्यस्तै मौरीले प्रयोग गर्ने पानीको श्रोतमा कुनै रसायनिक, विषादी, रेडियोधर्मी वस्तु, गह्रौ धातुका धाउ तथा कुडाकर्कट, कलकारखाना अस्पाताल एवं डम्पिंग स्थलका फोहोर आदि मिसिएको छ कि हेरी सरसफाई गरेको हुनुपर्दछ ।
ङ) प्रतिकुलताबाट मौरीलाई जोगाई स्वस्थ कृयाशील तुल्याउन मौसम अनुसार आवश्यक छोपो, ओत–छहारी, घार परिवेष्टन आदि गरेको हुनु पर्दछ । त्यस्तै घार भित्र मौरीले छोप्न नसकेका चाका चौकसहरु हटाउने र घारमा सम्वातनको व्यवस्था गरेको हुनुपर्दछ ।
च) मौरीलाई कृत्रिम खाना दिंदा प्रदुशित मह, खुदो, फलफूलहरुको झोल, विग्रेको मह दिएको हुनुहुदैन ।
छ) बीष लागेका, रोग लागेका, परजीवी सुलसुलेले ग्रस्त परेका मौरीगोलालाई आरक्षबाट अलग्याई छुट्टै राखेको हुनुपर्दछ ।

६. केही विशेष व्यवस्थापन अभ्यासहरुः
उत्कृष्ट सामाजिक जीवन जिउने मौरीका केही विशेष कृयाकलापहरु हुन्छन् । तिनलाई उचित व्यवस्थापन नगरी बेवास्ता गर्दा मौरीपालकले गम्भीर समस्याहरु झेल्नुपर्ने हुन्छ । त्यसकारण त्यस्ता कृयाकलापको व्यवस्थापन तर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्ता परिस्थितिहरुको अनुगमन कर्ताले देहाय बमोजिम अवलोकन गर्नुपर्दछः
क) मौरीको हुल निर्यास, बितपाते कर्मी, घार त्याग, वृद्धोद्धार, लुटपाट आदि विशेष कृपयाकलापहरुको कहिले र कसरी व्यवस्थापन गरेको हो तिनको पूरा अभिलेख राखेको हुनुपर्दछ ।
ख) माथि (क) मा उल्लेख भएको विशेष कृयाकलापहरु जस्तै गोला स्थानान्तरण, कृत्रिम प्राशन, शीतकालीन परिवरेटन, गोला वृद्धि विभाजन र विस्तार आदि विशेष व्यवस्थापन कार्यहरुको पनि अभिलेख हेरी अनुगमन गर्नुपर्दछ ।
ग) मौरीस्थानान्तरण गर्दा स्थानान्तरण गरी लैजाने क्षेत्रको पूर्वावलोकन गरी त्यहा रोग व्याध हुन सक्ने, प्राकृतिक दुश्मनहरुको आक्रमण हुन सक्ने, अस्पताल एवं कलकारखानाका निष्काशनहरु खुला वगिरहेको छन् कि, नजिकमा नगरपालिकाका डम्पिंग स्थलहरु छन कि, कृषि रसायन विषादी, रेडियोधर्मी वस्तुहरु, गाह्रो धातुका धाउ कुँडाकर्कट यत्रतत्र मिल्किएका छरिएका, फैलिएका छन कि अध्ययन गरी आवश्यक सरसफाइ र व्यवस्थापन गरेर मात्र मौरी स्थानान्तरण गरेको हुनुपर्दछ ।
घ) स्थनान्तरण गर्ने क्षेत्रमा मौरी चर्ने किसिमको आनुवंशिक तवरमा परिवर्तन गरिएका वालीहरु खेती गरिएको छ छैन यकिन गरेर त्यस्तो वालीमा फूल नफुल्ने समय पारी स्थानान्तरण गरेको हुनुपर्दछ ।
ङ) गोला वृद्धि वा विस्तार गर्दा रोगी वा समस्यायुक्त गोलावाट गरेको हुनु हुंदैन ।

च) रोगव्याध, सुलसुले एवं किरा प्रवृति दुश्मनको उपचारमा जैविक एवं भौतिक विधिले भ्याएसम्म रसायनिक एवं प्रतिजैविक उपचार गरेको हुनु हुदैन । रसायनिक औषधी, विषादी, प्रतिजैविक औषीध प्रयोग गरेको अवस्थामा छ हप्तासम्म उपचार गरेको गोलावाट मह एवं अन्य उपज समेत काढ्नु हुंदैन ।
छ) मौरीको चरन सीमाभित्र वा स्थानान्तरण गर्ने क्षेत्रमा गुराँस, चिमाले, वुलु, अँगेरी जस्ता ग्रायनोटक्सिन जस्तो लागू पदार्थ पैदा गर्ने वनस्पति छ छैनन् अध्ययन गरी अभिलेख राख्ने, त्यस्ता वनस्पतिमा फूल फुल्ने वेलामा मौरी, नलैजाने, हटाउने वा त्यस्ता फूलवाट मौरीलाई अन्यत्र डो¥याउने, मोड्ने व्यवस्था गरेको हुनुपर्दछ ।

७. मौरीगोलावाट मह आदि उपज काढ्ने व्यवस्थाः
नेपालमा मौरीजन्य उपजमा परम्परागत रुपमा मह तथा मैनलाई लिइने गरेको छ । हिजो आज कुट, मौरीलिसो (propolis), रोयलजेल, आदि प्रति पनि नेपाली मौरीपालकले अभिरुची देखाउन थालेका छन् । तसर्थः सबै मौरी उपजहरुको उत्पादनलाई देहाय वमोजिम लिनु पर्ने हुन्छः
क) मौरी गोलावाट मह काढ्ने व्यवस्थाः
१) परिपक्क भएको मह मात्र काढ्ने गरेको हुनु पर्दछ । चाकाको ९०५ कोष टालेको मह परिपक्क हुने भएकोले ९०५ टालेको मह मात्र काढने गरेको हुनु पर्दछ । कम टालेको, छाउरा चौकसमा भएको र छाउरा मिसिएको चौकसको मह काढनु हँुदैन ।
२) आधुनिक घारबाट मह काढ्दा भण्डार कक्षबाट काढेको हुनु पर्दछ । मह काढ्न मह मदानी (Honey Extractor) को प्रयोग गरी काढेको हुनुपर्दछ ।
३) मुढे, खोपे धारबाट मह काढ्दा दुवै छेउतिरका मह भरेर पुरा टालेको चाकाबाट मात्र काढेको हुनुपर्दछ ।
४) मह काढ्न प्रयोग गर्ने चक्कु स्याँगी, मह मदानी, मह हाल्ने, राख्ने भाँडा खिया नलाग्ने स्टेनलेस स्टिलको वा लेप लगाएको अन्य धातुका वा खाद्य स्तरका प्लाष्टिकले बनेको हुनुपर्दछ ।
५) रोग लागेको, रसायनिक वा प्रतिजैविक औषधीले उपचार गरेका, विषादी लागेको गोलावाट मह काढनु हुंदैन ।
६) धुलो धुवा भएको, हुस्सु कुहिरो लागेको ओसिलो अवस्थामा खुला वातावरणमा मह काढ्नु हुंदैन । त्यस्तै मौरी गोलाहरुको वीचमा पनि खुला अवस्थामा मह काढनु हूँदैन । मौरी गोलाहरुको विचमा नै मह काढनुपर्ने भएमा झुलको पर्दाले छोपेर मात्र काढ्ने गरेको हुनुपर्दछ ।
७) मह काढ्दा रसको प्रवाह राम्रो छदै गरेको हुनुपर्दछ ।

८. मौरीका शत्रुजीव तथा रोगव्याध व्यवस्थापन :
एउटा सानो बन्द कोठरी भित्र हजारौ कोमलांगी छाउरा र स्वादिलो खानाको भण्डारण साथ वीसौ पचासौ हजारको संख्यामा मौरीको वसेरा हुने भएकोले मौरीगोलामा विभिन्न शत्रुजीव (pests, predators and parasites) तथा शाकाणु, विषाणु, ढुँसी एवं प्रोटोजोवा (जीवाणु)हरुको आक्रमण एवम् संक्रमण हुने गर्दछ ।
यस्ता जीवहरुबाट मौरीको संरक्षण गर्न विभिन्न उपचार विधि तथा सामग्री प्रयोग गर्नु पर्ने हुन्छ र यसले महमा दुषण प्रदुषण भित्रिन सक्ने जोखिम समेत बन्दछ । तसर्थः मौरीका शत्रुजीव तथा रोगव्याध व्यवस्थापनमा देहाय वमोजिम सावधानी अपनाएको हुनुपर्दछ ।
क) शत्रुजीव तथा रोग व्यवस्थापनमा सम्भव भए सम्म भौतिक तथा जैविक विधि अपनाएको हुनु पर्दछ । यस्ता विधिमा गोला मजवुत बनाउने, घार भित्रको सरसफाइमा सचेत रहने, मौरीले छोप्न नसकेका चाकाहरु घारबाट निकाली सुरक्षित राख्ने, आरक्षणको २/३ किलोमिटरको सेरोफेरोमा अर्रिगाल, बच्छिउँका पोलोहरु मार्ने, मास्ने, बाँदर, भालु, मलसाँप्रो आदिले घार पल्टाउन नसक्ने गरी राख्ने आदि कृयाकलापहरु अवलम्बन गरेको हुनुपर्दछ ।
ख) मौरीमा बयस्क मौरी र छाउरा अवस्थामा लाग्ने रोगव्याध फरक हुने भएकोले उपचार पनि वेग्ला वेग्लै हुन्छ ।
ग) गोलालाई मजबुत र बलियो बनाएर वयस्क अवस्थाका (रानुलाई फुल पार्नबाट रोक्ने) रोगहरुको धेरै हदसम्म रोकथाम हुनसक्छ ।
घ) रोगाएका गोलालाई एक डेढ हप्ता प्रजननशून्य गराएर मौरीलाई नै रोगी र मरेका छाउरा हटाई सफा गर्न प्रेरित गर्न सकिन्छ अथवा चाका टक्टक्याएर पनि मरेको छाउरा हटाउन सकिन्छ ।
ङ) शत्रुजीव तथा रोग रोकथामको लागि कमजोर गोलाहरुको संयोजन गराउने, प्रोटिनयुक्त चारा प्रशस्त खुवाउने, गोलालाई भोकाउन नदिने, संक्रमित गोलालाई अलग्याउने घारमा ओस जम्न नदिने जस्ता कृयाकलाप अपनाएको हुनुपर्दछ ।
च) भ्यारोवा ज्याकोव्सोनी (Varroa jacobsoni) तथा ट्रोपिलिल्याप्स क्लयारी (Tropilaelaps clareae) जस्ता वाह्य परजीवी सुलसुलेको रोकथाम गर्न गोलाका भाले छाउरा हटाउने, नष्ट गर्ने, गोलालई एक डेड हप्ता छाउरा विहिन बनाउने जस्ता जैविक विधि र मौरीका शरीरवाट सुलसुले झार्ने बटुल्ने र नष्ट गर्ने जस्ता भौतिक विधि अपनाएको हुनुपर्छ ।
छ) उपचारमा प्रयोग भएका औजार उपकरणहरु वेला वेलामा सरसफाइ र निसंक्रमण गरेको हुनुपर्दछ ।
ज) शत्रुजीव तथा रोग व्याध व्यवस्थापनमा अपनाइएका विधि प्रकृया र सामग्रीको तथा तिनको नतिजा सम्बन्धी विवरणको अभिलेख राखेको हुनुपर्दछ ।

९. परागसेचनका लागि मौरी व्यवस्थापन : 

परागसेचन वनस्पति जगतको महत्वपूर्ण प्रकृया हो । परागसेचन हुन सकेन भने वाली सहित बोट बिरुवामा घोगा, बाला, फल, कोशा, बीउ बिजन केही लाग्दैन । मौरी बोट बिरुवाको सबैभन्दा प्रभावकारी र भरपर्दो परागसेचन गराउने एजेण्ट हो । यस हिसाबले मौरी मानिसको महत्वपूर्ण पारिस्थितिक सहयात्री बनेको छ । तसर्थ वाली तथा फलफूलको परागसेचनको लागि मौरीलाई देहाय बमोजिम परिचालन गर्नुपर्दछ :
क) वालीमा–फलफूलमा राम्रोसंग फूल फुलेपछि मात्र मौरी लैजानु पर्दछ ।
ख) वालीको श्रोत र घनत्व अनुसार मौरी गोला प्रयोग गरेको हुनुपर्दछ ।
ग) मौरीलाई लक्षित वाली फलफूलमा केन्द्रित गराउने गरेको हुनुपर्छ ।
घ) घारमा छाउरा जनन र मह भण्डारणका लागि प्रशस्त स्थान उपलब्ध गराएको हुनुपर्छ ।
ङ) वाली तथा फलपूmल कृषकहरूमा परागसेचनको महत्त्व बुझाउन विशेष सचेतना कार्यक्रम चलाएको हुनुपर्दछ ।
च) वाली तथा फलपूmलमा फूल फुल्न थालेपछि अन्तिम फूल रहेसम्म कुनै विषादी प्रयोगमा निरुत्साहित गर्ने गरेको हुनुपर्छ ।
छ) परागसेचनका लागि देहायका कुराको ख्याल गर्नुपर्छ :
– मौरीगोलामा ६० प्रतिशत खुला छाउरा भएको ६/७ वटा चाका हुनुपर्छ ।
– वालीको घनत्व अनुसार प्रति हेक्टर (२० रोपनी = ३० कट्ठा) क्षेत्रफलमा कम्तिमा चार गोला मौरी हुनुपर्छ ।
– रस र कुट जम्मा गर्न र छाउरा जनन गर्न चाका आघारसहितका खाली चौकसहरू प्रशस्त उपलब्ध गराउनुपर्छ ।

१०. रानु मौरीको हेरविचार र संरक्षण :
रानु मौरी गोलाको महत्वपूर्ण सदस्य हुन्छ । बीसौं पचासौं हजारको संख्या हुने जमातमा एउटा मात्र रानु हुन्छ । त्यही एक्लो रानुले गोलालाई एकमुष्ट वशमा राख्ने र अनुशासित तवरले संगठित गरी परिचालन गरेको हुन्छ । यस्तो महत्वपूर्ण सदस्यलाई मौरीपालकले देहाय बमोजिम हेरविचार र संरक्षण गरेको हुनुपर्छ  :
क) घार खोल्ने वित्तिकै सर्वप्रथम रानुको अवस्थिति खोज्ने गरेको हुनुपर्छ ।
ख) बीसौं पचासौं हजारको जमातमा हुने एक मात्र रानुको सहज पहिचानका लागि उसको पिठ्युँमा कुनै चम्किलो टिका लगाएको हुनु पर्छ ।
ग) रानुलाई समाउँदा उसको पेटमा कुनै दबाव नदिई छाति मुनि सबै खुट्टाहरूमा एकमुष्ट समाउनु पर्छ ।
घ) गोलामा नयाँरानु भित्र्याउँदा रानु पिँजडा प्रयोग गरेको हुनुपर्छ ।
ङ) कुमारी रानु र भर्खरै भाले लागेको रानु भएको गोलालाई धेरै बिथोल्नु हुंदैन ।

च) गोलामा नयारानु भित्र्याउनु अघि पुरानो बुढी रानु वा विकास भई रहेका रानुकोशहरू हटाएको हुनुपर्दछ ।
छ) हुर्कन लागेका रानुकोशहरूको कोष रक्षकद्वारा व्यवस्थापन गर्ने गरेको हुनुपर्दछ ।
ज) रानुको पखेटा कत्रने काम जोखिम पूर्ण हुन्छ । सकेसम्म पखेटा कत्रनु हुंदैन ।
झ) भाले लागेका नयारानु भए मात्र पखेटा कत्रने गरेको हुनुपर्छ । एक वर्षमा एउटा मात्र पखेटा कत्रने गर्दा रानुको उमेर झट्ट थाहा पाउन सकिन्छ ।

–नेपाल असल मौरीपालन अभ्यास कार्यन्वयन निर्देशिका –२०७४ वाट

प्रतिकृया दिनुहोस्