News Portal

नेपालकै लामो, विशाल, अनौठो, मनोरम र आकर्षक अलपेश्वर गुफा

७३ पटक

-भवानीप्रसाद शर्मा
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार देखी भण्डै एक किलोमिटर पैदल यात्रा वा सदरमुकाम कुश्माको सिमावर्ती क्षेत्रमा पर्ने मोदीखोलाको पारिपट्टि वा दक्षिणपट्टिको ज्ञादी क्षेत्रमा पर्ने भाग जसलाई कटुवाचौपारीको नामले चिनिन्छ । कुश्मा नगरपालिका वार्ड नं ९ मा पर्ने उक्त कटुवाचैपारी स्थितको कुजे विसौनामा एउटा ठुलो गुफा छ जसलाई अलपेश्वर नामले चिनिन्छ । यस गुफालाई नेपालकै सवैभन्दा लामो, विशाल, आकर्षक, अनौठो र मनोरमदृष्य भएको गुफा मानीएको छ ।

वर्षौदेखि शुसुप्त अवस्थामा अलपिएर रहेको हुँदा कटुवाचौपारीवासीले यसलाई अलपेश्वर गुफाको नामाकरण गरेका हुन् । पौराणिक कथन वा श्री स्वस्थानी व्रतकथा अनुसार सत्य युगमा सतिदेवीका सवै अंग पतन भैसकेपछि सोहि ठाउँवाट भगवान् शिव महादेव अलप भएको हुनाले पनि यस गुफालाई अलपेश्वर नामाकरण गरिएको उल्लेख गरिएको छ ।

कुश्माको बडागाउँमा रहेको अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल र खरेहामा रहेको खरेहा–अधिकारी फाँटको झोलुङ्गे पुलवाट मोटरसाईकलमा १० मिनेटमा र पैदल १५ मिनेटमा उक्त गुफामा पुग्न सकिन्छ । यसको साथै कुश्मा फलेवास सडकवाट अन्य सवारीका साधनमा समेत गुफासम्म पुग्न सकिने सडक निर्माण गरिएको छ । सदरमुकाम कुश्मा बजारवाट दक्षिण तर्फ तल झाप्रे बगरमा रहेको मोदीखोलाको पुलवाट पनि १५ मिनेटमै यो गुफामा पुग्न सकिन्छ ।

गुफा भित्र चार ठाउँमा २५ फुट देखि ३० फुट सम्मका भ¥याङ्गहरु राखिएको छ । गुफा भित्र हिमाल जस्तै सेताम्य टल्केका कलाकृतिले भरिएका पहरा तथा ढुङ्गाहरु रहेका छन् । त्यसैगरि गुफा भित्र शिव पार्वतीका आकृती, गाईका थुनका आकार, गणेशको मुर्ति, हात्तिका सुँढ तथा आकार, सिवलीङ्ग, पाँच पाण्डव, सरस्वती विभिन्न देवीदेवताका आकर्षक तथा कलात्मक मुर्तिहरुको साथै अनेक किसीमका कलात्मक र मनमोहक आकृतिहरु देख्न सकिन्छ ।

गुफा भित्रका आकृति देख्दा यहाँ पुग्ने जो कोहिलाई पनि छुट्टै संसार भित्र पुगे जस्तो भान हुने गर्दछ । अन्य गुफाहरुमा भन्दा यो गुफा भित्र पाईने आकृतिमा निकै फरक रहेका छन् । गुफाको अर्को आकर्षकको रुपमा गुफाभित्र रहेका हजारौ चमेराका बथानहरुलाई समेत लिन सकिन्छ ।
करिब ७ सय ५० मिटर लामो यो गुफा भित्र जो कोही पनि सजिलै जान सक्दछ । गुफा भित्र विजुली वत्तिको समेत व्यवस्था गरिएको छ । गुफाको भित्र ठाउँठाउँमा पानिका गहिरा हदहरु र भ¥याङ्ग अग्लो लामो भएको हँ“दा होसियारी भने अपनाउनुपर्ने हुन्छ । गुफा हेर्नहरुको लागि सहयोगीको आवाश्यकता गरेको खण्डमा समितिले सहयोगीको समेत व्यवस्था गर्नेगरेको छ ।

उक्त ठाउँमा गुफा छ भन्ने थाहा पाएपछि २०४१ सालमा पत्ता लगाउनको लागि स्थानीय बासिन्दाले प्रयास गरेपनि असफल भएका थिए । पछि यो गुफा लाई २०६३ वैशाख १ गते स्थानीय सहासि युवाहरुले पत्ता लगाएरै छाडे । स्थानीय रामप्रसाद अधिकारी लगायतका २१ जना युवाहरुले सहासका साथ पत्ता लगाएका थिए । उनीहरु एकै चोटी ७ सय ५० मिटर लामो यो गुफाको एक द्वारवाट भित्र पसेर अर्को द्वारावाट निश्कीएका थिए । युवाहरुको प्रवेस पछि स्थानीय नारायणप्रसाद अधिकारीको अध्यक्षतामा गुफाको वारेमा प्रचारप्रसार तथा संरक्षण समिति समेत गठन गरि सस्थागत रुपमा कार्यप्रारम्भ गरिएको थियो ।

गुफाको प्रचार प्रचार तथा संरक्षण र संम्वर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नको लागि स्थानीयवासीले अलपेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्र नामक सस्था दर्ता गराई कार्य गर्दै आइरहेका छन् । समिति सँग कुनै पनि आर्थीक स्रोत नभए पनि चन्दा, भैलोवाट रकम संकलन एवं स्थानीय श्रमदान समेतवाट आकर्षक प्रवेशढारको साथै गुफा सम्म आउन जानको लागि पक्की सिंढीहरु निर्माण गरिएको छ । गुफाको नजीकै एकतले पक्की सत्तल, व्यवस्थीत शौचालय र खानेपानीको समेत व्यवस्था गरिसकिएको छ ।

त्यसैगरि गुफाको माथील्लो भागको मुखमा रहेको ओडारलाई व्यवस्थित गरि दर्शनार्थी तथा भक्तजनलाई वस्न मिल्ने वनाइएको छ । यस ओडारमा दिनहुँ विहान वेलुकी भजन कृतन तथा शिवधुनी लगाउने र शिवको आरधना गर्ने गरिन्छ । समितिले प्रत्येक वर्षको वलाचतुदर्शी र महा–शिवरात्रीमा महोत्सवको आयोजना गरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

त्यसैगरी यस गुफामा नित्य रुपमा पुजाआजाको लागि एकजना पुजारी राखिएको छ । विशेष गरि महाशिवरात्रीमा शिवधुनी लगाउने र बालाचतुदशीमा सत्विज छर्ने गरिन्छ । बैशाख महिना शिवको महिना भएको हुँदा सो महिनाभर र प्रत्येक हप्ताको सोमवार विशेष प्रकारले पुजा आजा गरिदै आएको छ । त्यसवाहेक जनै पुर्णिमा र तिज लगायत अन्य महत्वपुर्ण पर्वतहरुमा समेत गुफामा नियमित रुपमा पुजाआजा संचालन गरिन्छ । यहाँ सामुहिक ब्रतवन्धको साथै विभिन्न जोडीहरु विवाहको लागि समेत आउने गरेको गुफा संरक्षण समितिका निर्वतमान् अध्यक्ष सुरेश पिसी बताउँछन् ।
वर्षा याममा गुफा भित्र खोलाको पानी पस्ने भएको हुँदा असार देखि असोज सम्म ४ महिना भने गुफा भित्र प्रवेस गर्न सकिदैन । यो गुफा नेपालकै लामो र ठुलोको साथै गुफा भित्र सवैभन्दा धेरै कलाकृति र मुर्तिहरु भएको समितिको दावि छ ।

 

गुफा हेर्नको लागी स्वदेशी तथा विदेशी दर्शनार्थी तथा पर्यटक समेत आउने गरेका छन् । पछिल्लो समयमा विभिन्न विद्यालय तथा क्याम्पसवाट शैक्षिक भ्रमणको रुपमा विद्यार्थीहरु समेत गुफाको दर्शन गर्न आउने गरेका छन् । दर्शनार्थीहरुले यो गुफालाई आफुहरुले देखेको मध्येमा अहिले सम्मकै आकर्षक देवीदेवता र कलाकृतिले भरिएको भन्ने गरेका छन् । एक वर्ष अगाडी गुफा दर्शन गर्न आएका स्पेन र अर्जेन्टीनाका नागरिकहरुले यो गुफालाई मन पराएर गुफाको विकासको लागी रकम समेत दिएर गएका थिए । उनीहरुले आफुहरु पर्केपछि त्यको वारेमा आफ्नो देशमा प्रचारप्रसार गर्नुको साथै रकम समेत संकलन गरि पठाइदिने आश्वासन दिएका थिए ।

सदरमुकाम कुश्मामा रहेको प्रख्यात गुप्तेश्वर गुफाको करिव दुई किलोमिटरको दुरीमा रहेको यो गुफाको आवश्यक संरक्षण तथा सम्व्रद्र्धन गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटक मित्राउने वलीयो माध्याम वन्ने छ । कुश्मा र ज्ञादी क्षेत्रलाई जोड्ने नेपालकै पहिलो अग्लो झोलुङ्गे पुल र मोदी खोलाको माथी निर्माण भएको नेपालकै नमुना पुलको कारण पनि यो क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपुर्ण मानीएको छ । त्यसको लागि स्थानीय गाविस, जिल्ला विकास समिति र स्थानीय संघसस्थाले मात्र होइन नेपाल पर्यटन विकास वोर्डले पनि उचित ध्यान दिएमा यो गुफा मुख्य आकर्षणको केन्द्र बनी जिल्लाको नामलाई उचो राख्न सहयोग पुग्ने छ । त्यसैले सवैले एकपटक अलपेश्वरको दर्शन किन नगर्ने ? हरिओम् !

प्रतिकृया दिनुहोस्