News Portal

संस्कृतिको दृष्टिमा पर्वत जिल्ला

(२३ बर्ष पुरानो लेख)

१०२ पटक

-शान्तिनारायण श्रेष्ठ
नेपालको पश्चिमाञ्चल गण्डकी अञ्चलअन्तर्गतका सात विकास जिल्लाहरु मध्ये पर्वत पनि एक हो । यो जिल्ला अन्नपूर्ण, माछापुच्छ«े र निलगिरि हिमालको काखमा छ । यस जिल्लाको उत्तरतिरबाट कालीगण्डकी बग्दै दक्षिण हुँदै गएकी छिन् र पूर्वतर्फबाट मोदी बग्दै आएर यस जिल्लाको बीच भागमा कालीसँग जोरिइ मधुवेनी बनेको छ ।

यस जिल्लामा ब्राह्मण, क्षेत्री, नेवार, ठकुरी, गुरुङ, मगर, थकाली, दमै, कामी, सार्की, आदि विभिन्न जाती गरी एकलाख तीस हजार जति मानिसहरु बसोबास गर्दछन् । राष्ट्रभाषा नेपाली भएतापनि नेवार, थकाली, गुरुङ, मगरहरुले आ–आफ्नो मातृभाषा पनि प्रयोग गर्दछन् । यहाँ मनाइने विशेष चाडपर्वहरुमा दशैं, तिहार, माघेसंक्रान्ति, फागुपूर्णिमा, चैतेदशैं, नागपञ्चमी, जनैपूर्णिमा र तीज मुख्य हुन् । साथै आ–आफ्नो जातीय रितिस्थिति अनुसार समय समयमा विभिन्न चापर्व मनाउने र पूजाआजा गर्ने गर्दछन् ।

यी पर्वहरु मनाउँदा आफ्नो गाउँठाउँ जाति र रितिस्थिति अनुसार नाच्ने गाउने चलन छ । यसको साथै वनजंगल, मेलापात र आफ्नो नातेदार अनि टाढाबाट आएका साथीसंगीको मनोरंजन खातिर रोदी वसी गीत गाउने चलन पनि पर्याप्त छ । गीत गाउँदा बाजाको रुपमा मादल मुख्य साधन हो । यहाँ अरु छिमेकी गाउँठाउँबाट आएका ठिटाहरुलाई ठिटीहरुले र ठिटीहरुलाई ठिटाहरुले २/४ दिन रोक्ने, छेक्ने चलन छ । जसलाई च्याँखे भनिन्छ ।

मुख्यतः यस किसिमको चलन गुरुङ र मगर जातिमा पाइन्छ । यहाँ यस किसिमको रंगरस गर्नमा पूर्णस्वतन्त्रता छ । जवकि “कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर, चोखो माया फुक्लो ठट्टा कसको बाबुको हो र ?” भनी गाउने गीत नै यससको उदाहरण हो । अविवाहिता ठिटाठिटीहरुले मात्र होइन कि विवाह भैसकेका र छोरा, नाती पाइसकेकाले पनि गीत गाउने चलन छ । यिनीहरु आफ्ना आमाबाबु तथा लोग्नेको अगाडि अरुसँग स्वतन्त्रपूर्वक अथवा खुलस्त दिलले गीत गाउँछन्, यसमा लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई रोक्ने, छेकवार र बाधा गर्दैनन् । शिक्षादीक्षामा पिछडिएको समाज भएतापनि यहाँको यो प्रचलन कुनै पनि सभ्य समाजसँग दाँज्न सकिन्छ ।

नेपालको मुख्य पेशा खेती नै भएकोले उनीहरु दिनभरी बडो परिश्रमसाथ खेती, बाली मेलापात गर्दछन् । यसरी काम गर्दा प्रायःजसो उनीहरु पर्म, हुड्दाको रुपमा एले अर्काको काम समेत गरिदिने गर्दछन् । अतः यसरी काम गर्दा परिश्रमको ज्यादा महसुस नहोस् र रङ्गरसद्वारा दिन बिताउन सुविधा होस् भनी यिनीहरुले कहिं दोहोरे र कतै एकोहोरे गीत यसरी गाउने गर्छन् ।

ठिटीः लेक फुल्यो लाली गुराँस, बेंसी फुल्यो तीजू नानीलै,
          यो ठाउँमा बस्ने गर्छन, केलाई माया फिंजू नानीलै ।

यो गीतलाई अरुले छोपीदिन्छन्, त्यसपछि ठिटाको पालो आउँछ ।

ठिटाः नीलो आकाश सेता हिमाल, हरियाली वन छ नानीलै,
        रमाइलो यो गाउँ छाडि, कहाँ जाने मन छ र नानी लै ?

ठिटीः सन्तोषसँगै एकै मुठी जहाँ खान पाउँला नानीलै,
        जहाँ मिल्छ सुखशान्ति, त्यहीं ठाउँमा जाउँला नानीलै ।

ठिटाः कर्म आफ्नो सँगै जान्छ जहाँ गएपनि नानीलै,
         तिमी हामी मिली सबे यही राम्रो छनि नानीलै ।

यसरी एकले दुःख, दर्द र विरहमा अर्कोले सहानभूति दर्शाउँछन् । यस्तै यस्तै रङ्गरसिला गीत गाउँदा गाउँदै रात परेको उनीहरुलाई पत्तै हुँदैन । आफ्नै धूनमा गीत गाउँदै काम गर्दै गरेका हुन्छन् । जव अँध्यारोले उनीहरुलाई छोप्दै लैजान्छ तव मात्र गीतको क्रममा अधुरोपनाको अनुभव गर्दै आ–आफ्नो घर लाग्छन् ।

यसैगरी गुरुङ, गुरुङस्यानीहरुले पनि दिनभरी कामको थकाई मेटाउन बेलुकी अंगेनाको छेउमा भेला हुन्छन् र गीत गाउन शुरु गर्छन् । उनीहरुमा पहिले ठिटाले गीतको थालनी गर्नुपर्ने हुन्छ । त्यसैले उसले नजान्ने जस्तो बनी गीत गाउन शुरु गर्छ ।

ठिटा: अँधेरी खोला गुयली पाक्यो चरीले चाखेको
        गीतलाई गाउन जानेको छैन, बचनै राखेको ।

यसलाई गुरुङ भाका भन्छन् र यो भाका लम्बिएर जान्छ । जब ठिटीको पालो आउँछ र उसले ठिटालाई जान्नेछौ भनी फुल्याउँछ ।

ठिटी: लोकाचार किन पार्नु आफू जानी जानी
        सुसेल्दैमा थाहा हुन्छ गीत गाउनेको बानी ।

ठिटो: रङ्ग छैन ढङ्ग छैन ताल सूर
        दुःखी बाउको गरीव छोरा के जानेको छु र ?

यसरी ठिटा नजान्ने जस्तो भै स्यानो बन्न चाहन्छ तर ठिटीको ल्याउँदै लैजान्छ ।

ठिटी: नचिनेको होइन नजानेको होइन तिम्बुरकोझंम
        जान्ने सुन्ने भएँ भनी फुल्यो आज गम्म ।

यसरी उनीहरुले गीत गाउँदा अरु भाका पनि फेरि फेरि गाउने गर्दछन् । जसमध्ये ‘सुनिमया’ भन्ने भाका विरहलाग्दो हुन्छ र यो भाका धेरैजसो एकोहोरे गाउने गर्दछन् । यसमा स्वर ज्यादै तान्नुपर्ने हुन्छ । जस्तैः

सुनिमया मधुवेनी तिरिथैमा, सुनीमया घामै र लाग्दैन
सुनीमया साथीसँग विछोड हुँदा, सुनीमया रमाइलो लाग्दैन ।
सुनीमया डाँडै र काटी कुलो ल्यायो, सुनीमया खेत होला भनेर
सुनीमया चारै र दिशा नजर लायो, सनीमया भेट होला भनेर ।

यस्तै मगर जातीहरुमा पनि सालेजो भाकामा गाउने विशेष चलन छ, यो गाउँदा यिनीहरु मध्ये एक जनाले गीत झिक्ने र अरुले छोप्दछन् ।

धारनीको कोदाली मेरो धरती धसुँला
आहो … सालेजो धरती धसुँला ….. ।
जो भनी आयो सोही उठी गयो को भनी बसुँला
आ..हो …. सालेजो को भनी बसुँला ।

सालेजो भाकाको अलवा ‘काँधैमा गुर्जाउली फूल, हेर हेर बैसंको नक्कल’ र रोइला भाकामा पनि गाउने गर्दछन् । बेंसी तिर ब्राह्मण, क्षेत्री र दमैकामीहरुले रे रे साईंलो र अन्य बिभिन्न भाकामा गीत गाउँछन् ।

वर्षामान उर्लि आयो रमरसी खोला साइलो….
नखाँदैमा चिसो पानी खाय कसो होला साइलो…. ।

यो भाका निकै छिटो तया चर्को गाउने गर्दछन् ।

छपक्कै वन भरी–२ आहा…. तिम्रो माया छ मेरो मनभरी ।
दिल खसे चिनुँला–२ आहा…. माया अघि मपछि हिनुँला ।

माघे संक्रान्ति, फागुपूर्णिमा, चैत्र दशैं र तीजमा यस जिल्लाका बिभिन्न स्थानमा मेला लाग्दछ । सो मेलाहरुमा दिन भरी किनमेल र हिंडडुल गर्छन् र रातमा खाल जमाइ गीत गाउँछन्, यस्तो मेलामा ब्राह्मणहरुले विशेषगरी–

खोलापारी चौर, चौर पारी तीन चौर, माया लाउन दिन्छौ र ?
भीरमुनिको खरी, काटौं भने दिनभरी, आटौं भने छिनभरी ।

यस किसिमका गीत गाउँछन्, जसलाई चुट्के भाका भनिन्छ । अरु जातीहरुले यानुमया, निरीमया, ठूली, रेलिमै झ¥यो खस्यौली, आदि भाकाको गीत गाउने गर्दछन् । गीत गाउन बसेर तुरुन्त गीत शुरु भएन भने गीतैले यसरी सोध्छन् ।

ठिटाः ठूलो रुख केलाई काट्यो यानुमया बाखरीलाई खोर
       सरासरी चल्ने डुङ्गा यानु मया आज कसो भोर ?

ठिटीः दैलो मुनि फुलवारीमा यानुमया फूल सारौं दम्मै छ
       आफ्नु मनमा के छ के छ यानु मया भन्नेलाई सम्मै छ ।

प्रायः उनीहरुले गीत मिठासमा लैजान्छन् । कहिलेकाँही ढोकाबाजी पनि चल्न जाने हुन्छ, किनभने गीतको सिलशिलाएकातिर गए यसो हुने हुन्छ ।

ठिटीः एउटा हात काँधेवाला निरमया ठूली एउटा हात ढोका
       कालोपोते नपाउनेलाई निरमया ठूली तिलहरीको धोका

ठिटी: मुक्तिक्षेत्र जाँदा खेरी, निरमाया, ठूली वास प¥यो थाक
       पछि लाग्ने बनाइ दिउँला निरमया ठूली नलगाउ है धाक ।

यसरी ठोका बाजीको गीत गाउँदा गाउँदै उनीहरु सीमासम्म पुग्दछन् । यस्तो गीत कसैलाई मज्जा लाग्छ त कसैलाई मज्जा लाग्दैन । तैपनि यस्तो गीत गाउँदा जतिसुकै अलि अश्लिल जस्ता शब्द प्रयोग भएको भएतापनि गीतको खाल उठेपछि साबिक झैं मिलजल र सद्भावनापूर्ण भातृत्व स्नेह कायम राख्दछन् । नव जंगलमा घाँस, दाउरा काट्न जाँदा निम्न भाकाले गीत गाउने गर्दछन् ।

१. म गए जाउँलिकी माया, कालो पानी उर्लने भेलैमा
जत्ति बस्यो झन् उत्तिमाया, जाउँ घर लौ बरु बेलैमा ।

२. रेलुमै घाम लाग्यो टापुमा,
उराठे लाग्ने सरादी खोला रमाइलो रापुमा ।

३. गोठाले घाँसै काट्यो हाक डाली भोर्ला मायाले
जहिले जाउँला माटै मुनी उहिल्यै माया मोर्ला मयाले ।

४. हातको मेरो रुमाल मैलो, धोइ दिने कोही छैन है ।
विरानु देशमा मैमरी गए, रोइदिने कोही छैन है ।

५. हातैमा लिउँला कलमै मसी, बसुँला पोखरा …… भनिदेउ.. ।
बरु है खाउँला पाँचै र मुठी, बसुँला पोखरा…… भनिदेउ… ।

यस किसिमले बिभिन्न भाकाको गीत गाउने गर्दछन् । यसको अतिरिक्त सोरठी, जलिया, भैलो, असारे, पुरानो नानीर लै, भै छ नानी लै आदि अनेकौं किसिमका भाका हालेर गीत गाउने चलन छ र लाखे, गाइजात्रा, रोपाँइ, बाघजात्रा, सोरठी, ख्याली, बौंडाई आदि रोचक लोकनृत्यहरु बेलाबेलामा प्रदर्शन गर्ने चलन परम्परानुगत चलिआएको छ ।

(हाल गण्डकी प्रदेश अन्तर्गत रहेको पर्वत जिल्ला तत्कालीन गण्डकी अञ्चल अन्तर्गत छँदा अर्थात् वि.सं. २०२३ साल माघ २० गते राष्ट्रिय दैनीक पत्रिका गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा प्रकाशित स्थानीयस्तरको प्रचलित लोकसंस्कृति सम्बन्धी यो लेख लोक संस्कृतिका अन्वेषकहरु र त्यस बारे चासो राख्ने सबैको जानकारीका लागि उपोगी हुने ठानी लेखकको अनुरोधमा पुनः प्रकाशित गरिएको छ । (सम्पादक)

प्रतिकृया दिनुहोस्