News Portal

डिजिटल सामानले आँखामा पार्ने असर र समाधानका उपाय

७८ पटक

-डा. वसन्त पौडेल(वरिष्ठ दृष्टि विशेषज्ञ)
आजको युग डिजिटल युग हो । डिजिटल युगसँगै दिन दिनै नयाँ नयाँ प्रविधिहरु विकसित भइरहेका छन् । मोवाइल, कम्प्युटर, ल्यापटव, टेलिभिजन, ट्यावलेट आदि । इन्टरनेटको वढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन वढ्दो छ । गाउँ होस या शहर बालबालिका, युवा कि पाको उमेरका, देशमा होस या विदेश संसार एउटेै छाना भइसकेको छ । प्रविधिको विकाससँगै विकृति र विनास पनि वढिरहेको छ ।

सोसल मिडियाको बढ्दो प्रयोग, कोरोना भाइरसको माहमारीसँगै कार्यालयको काम घरवाट (work form home), अनलाइन पठनपाठन लगायतका कारणले गर्दा यसको प्रयोग दिनानुदिन वढ्दो छ । अविभावकहरुले आफ्नो व्यस्तताको कारणले साना–साना वालवालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन् भने कतिपय अभिभावक एकातिर बच्चाहरुलाई यस्ता सामग्री दिएर अर्काेतिर घन्टौंसम्म सोसल मिडियामा व्यस्त हुने गरेको पाइन्छ ।

हामीहरुले फुर्सद मिल्यो की सोसल मिडियामा जतिपनि समय कटाइदिन सक्छौ । दिन होस या रात, धेरै समयसम्म मोवाइलमा गेम खेलिरहने, चाहिने नचाहिने साइटहरु घन्टौसम्म युट्यवमा भिडियोहरु हेर्ने जस्ता बानीको विकास भइरहेको पाइन्छ, युवा पुस्तामा ।

आजभोलि साना साना बालबालिका रोए वा खाना खान मानेनन् भने मोबाइल/ ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ । यो खराब बानी बालबालिकाहरुले सानै उमेरबाट नै आफ्ना अभिभावकमार्फत सिकिरहेका हुन्छन् । जसको कारण लामो समयसम्म बच्चाहरुको बानी नै मोबाइल/ल्यापटप चलाउने भइसकेको हुन्छ । यसको सबैभन्दा बढी असर बच्चाको आँखा, दिमाग र व्यक्तित्व विकासमा समेत पर्छ । जस्तै:

–सानो–सानो कुरामा रुने–कराउने वा छिटो–छिटो रिसाउने ।
–मोबाइलबिना एक ठाँउमा शान्तसँग बस्न नसक्ने वा रिसाइ रहने ।
–पढाइ/लेखाइमा ध्यान नदिने, सानो सानो कुरामा झगडा गरिरहने ।
–परिवारका सदस्यसँग कुराकानी गर्न नचाहने तर एकान्तमा बस्न मन पराउने ।
–कोही आफन्त इष्टभित्र कसैको मतलव नगर्ने इत्यादि ।

कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरणले आँखामा के–कस्ता असर गर्छन् ?
कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतका उपकरणकले आँखामा तत्कालीन तथा दीर्घकालीन असर गर्छ । तत्कालीन असरहरुः आँखा पोल्ने, बिझाउने, टाउको दुख्ने, आँखाबाट आँसु आउने, आँखा रमरम हुने, निद्रा लागेजस्तो हुने, थकान महशुस हुने, छिटो–छिटो रिस उठने लगायतका समस्या हुन्छन ।

दीर्घकालीन असरहरुःआँखाको पावर कम हुँदै जाने, आँखा एकदम सुख्खा हुने, आँखा सधै रातो भइरहने, मन्द मन्द टाउको दुख्ने, आँखामा मासु पलाउने, आँखाको नानी तथा रेटिनामा असर पर्दछ । लगातार कम्प्युटर तथा मोबाइल चलाउँदा आँखालाई बल पर्छ ।

– लगातार एकोहोरो रुपमा कम्प्युटर तथा मोबाइल चलाउँदा आँखामा भएको आँसुको तह उडेर जान्छ ।
– आँखामा भएको आँसुको तह उडेर गएपछि आँखाको नानीमा असर पुग्छ ।

बालबालिकाहरुमा आँखाको समस्या कसरी पत्ता लगाउने ?
बालबालिकाहरुको बढी समय नजिकको काममा नै बित्ने भएकाले आँखाको समस्या छ कि छैन भनेर पत्तालगाउन सबैभन्दा गाह्रो हुन्छ । त्यसैले अभिभावकहरुले निम्न कुराहरुमा ध्यान दिन सके आफ्ना बालबालिकामा आँखामा समस्या छ छैन सजिलै पत्ता लगाउन सकिन्छ ।
–मोबाइल वा टिभी धेरै नजिकबाट हेर्ने ।
–थोरै टाढाको खेलौना, सामान वा मानिस चिन्नको लागि आँखा सानो पारेर हेर्ने वा घाँटी टेडो गरेर हेर्ने ।
–आँखा धेरै झिम्काउने वा आँखा धेरै माँड्ने ।
–पढ्न/लेख्न बसेको बेलामा टाउको दुख्ने वा आँखाबाट आँसु आउने ।
–डेडो आँखा हुनु ।
–अस्वभाविक रुपमा कुनै वस्तु धेरै नजिक ल्याएर हेर्नु आदि ।

आँखाको समस्याबाट बालबालिकाहरुलाई बचाउन धेरै महत्वपूर्ण छ । यस्ता समस्या शुरु भएमा र समयमै सावधानी नअपनाइएमा दिन–दिनै बच्चाको आँखा कमजोर हुँदै जान्छन् । जसको कारण बच्चाहरुमा दृष्टिदोष हुने र आँखा टेढो हुने सम्भावना हुन सक्छ । यसले गर्दा बच्चाको पढाइ/लेखाइका साथ–साथै मानसिक विकास, व्यक्तित्व विकास, समाजिक विकासमा पनि नकारात्मक असर पर्ने र भविष्यमा कुनै काम गर्दा आत्मबल कमजोर हुने हुन्छ । जसले परिवार र समाजमा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन सक्छ ।

समाधानका उपायहरुः
–बन्दकोठाभन्दा बाहिरी वातावरण जस्तै खुल्ला चौर, बगैँचा, घरको आँगन, छत, उज्यालो घाम आउने ठाउँहरुमा बालबालिकाहरुलाई कम्तिमा दिनको दुई तीन घण्टा खेल्न प्रोसाहन गर्नुपर्दछ ।
–अध्यारो कोठामा धेरै समयसम्म त्यस्ता सामानहरु नचलाउने, चलाउनै परे कोठाको बत्तीहरु बाली चलाउनु पर्दछ ।
–आँखाको नजिकै राखी नचलाउने, कम्तिमा पनि आँखावाट ५०/६० सेन्टिमिटरको दुरीमा राख्ने ।
–एकोहोरो हेरिरहँदा असर पर्ने हुँदा एक पटकको लागि बढीमा तीस मिनेटको समयसम्म प्रयोग गर्ने ।
–बेलाबेलामा आँखाको परेला झिम्काइरहने, साथै अलि टाढाको कुराहरु हेर्ने ।
–बेलाबेलामा आँखाको सरसफाईमा ध्यान दिने ।
–करिब ९० प्रतिशत मानिसमा आँखालाई सही तरिकाले सफा गर्न आउँदैन ।
–पानीमा आँखा डुबाउने वा आँखा पानीले पखाल्ने दुबै सफा गर्ने गलत तरिका हुन् ।
–आँखाको वरिपरि मात्र सफा गर्नुपर्छ । आँखा भित्रको सफाई आँखा आफैंले गर्ने गर्छ ।
–सही तरिकाले आँखा सफा गरेमा पनि आँखाका धेरै समस्या आफै हटेर जान्छन् ।
–आँखाको स्वास्थ्यका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । हरियो सागसब्जी फलफूलको प्रशस्त सेवन गर्ने गर्नुपर्दछ ।
–जाँड, रक्सी, खैनी, सुर्ति, चुरोटजस्ता नसालु पदार्थ सेवन गर्नु हुँदैन ।
–ल्याबटव तथा कम्प्युटर १ सय १५ डिग्रीको एङ्गलमा चलाउनुपर्छ ।
–कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदा समय समयमा बेस्सरी आँखा झिम्काउनुपर्छ ।
–२० मिनेटसम्म लगायतार यी उपकरण चलाएको छ भने २० सेकेण्डसम्म टाढा हेर्ने र २० सेकेण्ड आँखा बन्द गर्ने गर्नुपर्दछ ।
–आँखालाई धेरै बल तथा तनाव दिनु हुँदैन ।

कुन अवस्थामा मानिसहरु चिकित्सकको परामर्शमा जान आवश्यक हुन्छ ?
आँखाको अवस्था थाहा पाउन हरेक ६/६ महिनामा नियमित आँखा परीक्षण गर्न आवश्यक हुन्छ । कतिपय आँखाका समस्याहरु थाहा नै नपाइ हुने गर्दछन् । त्यसैले समय समयमा नियमित आँखा परीक्षण गरी चिकित्सको परामर्श लिनु पर्दछ । बालबालिकाहरुलाई पहिलो पटक विद्यालय भर्ना गर्नुभन्दा पहिला आँखाको परीक्षण गराउनु पर्छ । समयमै आँखाको परीक्षण गराएर भविष्यमा निम्तने आँखाको समस्याबाट बँच्न सकिन्छ । त्यसैले समय समयमा नियमित आफ्नो आँखा परीक्षण गराउनु राम्रो हुन्छ ।

(डा. पौडेल दृष्टि आँखा अस्पताल, वीरगञ्जमा कार्यरत छन् । )

प्रतिकृया दिनुहोस्