News Portal

अनादि शिवपुरी दिव्य धाम कालाञ्जर शिरपु हम्पाल

३९७ पटक

-यज्ञवहादुर थापा

हम्पाल एक ऐतिहासिक पवित्र धाम हो । यो अनादि शिवपुरी अर्थात शिरपु दिव्य धाम हो । हम्पाल धाम कालाञ्जरको शीर हो भने यसका फैलावट यसका अवयव हुन् । उत्तरतर्फ हिमालहरु, दक्षिणमा फेवाताल तथा पोखरा उपत्यका, पूर्वमा कास्की र पश्चिममा म्याग्दी र काली नदीको बीचमा शिवपुरी हम्पाल धाम अवस्थित छ । हम्पाल दुई शब्द हम र पाल बाट बनेको दिव्य धाम हो । केही विद्वानहरुले यसलाई हिम तथा हिंउँको पला हिमपला वा हिम पहरा वा हिम पहाड हो भन्ने भनेर व्याख्या गरेका छन् । हम्पाल वा हिमपाल वा हम्पाल जे नै होस् भगवान शिव र पार्वतीलाई जनाउने शिवपुरीको उच्चतम शव्दावली हो ।

भगवान शिवले आफ्नै स्वरुपको मानव रुप सृजना गर्न मनोकांक्षा राखेका र शक्तिसमेत प्राप्त गरेकाले जोसुकैले शुद्ध मनोकामनाका साथ कामना गरेमा सो पूरा हुने र मुक्ति मार्ग मिल्ने पवित्र धाम शिवपुरी हम्पाल नै हो । यहाँको शिवपुरीलाई मानिसहरुले शिरपुर अर्थात शिरपु भनेर संवोधन गर्दै आएका छन् । यो पवित्र भूमि शिवपार्वतीको स्वच्छन्द क्रीडाभूमि हो । भगवान शिव र पार्वतीको आनन्द रुप हम्पाल पहाड रहेकोले यो मनोकामना पूरा हुने र दर्शन प्राप्त गर्न सक्ने दर्शनीय भूमि र मुक्ति भूमि हो ।

चार धामसँगै यो धामको दर्शनविना मानवमुक्ति असंभव नै छ । किनभने आदि कर्ता भगवान शिव पिता रहेका र मातासमेत जीवन्त रहनु भएकाले आफना सन्तान उद्धार र मुक्ति मातापिताबाटै मात्र संभव भएकाले हम्पाल धाम पवित्र धाम हो । हम्पाल धाम शालग्राम स्थित धाम पनि हो । शालग्राम भन्नाले पर्वत पुत्री सैलजाको जन्म ग्रामे, क्रिडा ग्रामे, तपो ग्रामे सैलजा गाउँ हो । सैलजाको पश्चिम भएर वहने नदी कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन्छ । पार्वती माताले निराकार रुपमा रहेका शिवलाई भेट्न ज्योतिर्लिंङ्गको स्थापना पार्वत क्षेत्र हम्पालमा गर्नुभएको हो । शिव पार्वतीको समुच्च रुप शिवलिंग यही ज्योतिर्लिङ्ग हो ।

भगवान शिवले यसै स्थानबाट कालोत्पति सृजना गर्नुभयो । कालको उत्पति र काल माथिको विजय कालाञ्जर क्षेत्रबाट नै मानव मात्रले गर्न सकिने भएकोले यस स्थानलाई कालाञ्जर भनिएको हुन सक्छ । यसको फैलावट मुस्ताङ्ग, मनाङ्ग, पर्वत, कास्की, पाल्पा, तनहुँसमेतका जिल्ला पर्दछन् भन्ने कुरा यहाँ पाइने शिलाले पुष्टि गर्दछ । कालाञ्जरको अर्थ कालजयी भन्ने हो । काल भनेको भूत, वर्तमान र भविष्य जनाउने मापक हो । यसै काललाई जित्ने भन्नु नै कालजयी हो । कालाञ्जरको मुख्य तीर्थ भनेको हम्पालको दर्शन गर्नु हो ।

विभिन्न पुराणहरुले कालाञ्जरलाई अन्य चार धाम जत्तिकै महत्वपूर्ण एक विशेष धाम मानेको छ । यसै क्षेत्रमा कालीगण्डकी नदीतटमा तथा बेशीक्षेत्रमा ३ थरीका महत्वपूर्ण शालिग्राम शिला पाइन्छ । यो अद्भूत विशेषता हो । कालो, सेतो र हरियो रंगको शालिग्राम २४सै आकारमा पाइन्छ । २४ आकार भनेको भगवानको २४ अवतार हो । यसले के संदेश दिन्छ भने भगवानले २४ सै अवतार यसै ठाउँमा लिए । कालाञ्जरको शीर हम्पालको दर्शन गर्नु भनेको ब्रह्मा, विष्णु, महेश्वरको एकमुष्ठले दर्शन हो भने माता देवी भवानीको अनुग्रह प्राप्त गर्नु हो ।

जडिवुटीका दृष्टिले यो क्षेत्रको व्याख्या गर्दा समुन्द्र मन्थनबाट निस्केको कालकूट विष लिन वाध्य बनेका शिवादिदेव महादेवले विश्व ब्रह्माण्ड शान्तिका लागि कण्ठमा राखेर यसै पावन कालाञ्जर क्षेत्रमा शयन गरेका र यसै क्षेत्रको जडिवुटी सेवन गरी आफ्नो जीवनसमेत सुरक्षित राखेको विषय शास्त्रमा उल्लेख छ । यसबाट के थाहा हुन्छ भने अग्निदाह समन गर्न सक्ने शक्ति जडिवुटीहरु यसै कालाञ्जर क्षेत्रमा रहेछ भन्ने आभाष दिन्छ । कृष्णसार तथा कृष्णमृग यही कालाञ्जरको हम्पाल क्षेत्रमा पाइन्छ । यसलाई कृष्ण मृगस्थली पनि भन्ने गरिन्छ । जुन महाभारतको वनपर्वमा उल्लेख छ ।

पवित्र यस धामको विस्तृत रुप कालाञ्जरमा निराकार शिवादि देवहरुका रुप महादेव निलकण्ठेश्वर महादेव रुद्रेश्वर तथा रुद्र महादेवको प्रिय वासस्थान रहेको शिव पुराणमा उल्लेख गरिएको छ । शिवादि शिव यसै पावन क्षेत्रमा निराकार रुपमा रहेका भन्ने कथन छ भने यिनै निराकार शिवादि शिव सिंहवाहन देवी माताका साथ कालाञ्जर क्षेत्रमा रहेका भन्ने किंवदन्ति पनि छ ।

व्यास ऋषि, पराशर ऋषि, मार्कडेण्य ऋषि, अगस्त्य ऋषि, धौम्य ऋषि, भुसुण्डी ऋषि जस्ता महान् विख्यात ऋषिहरुको तपोभूमि र कर्मभूमि पनि यही कालाञ्जर धाम क्षेत्र हो । शालग्राम यसै पावन क्षेत्रमा विराजमान छन् । हिमालय पर्वत पुत्री पार्वती शैलपुत्री शैलजाको जन्म तथा भगवान महादेव र पार्वतीकी क्रिडास्थल पनि यही कालाञ्जर क्षेत्र नै हो भन्ने कुरा पुराणहरुले उल्लेख गर्दछन् । भरतले यसै क्षेत्रमा ३ जन्म लिए ।

कालाञ्जरको क्षेत्रलाई आधार बनाई वगी रहने कालीगण्डकी आसपास मुख्य गरी हम्पाल र पुलाहाश्रमको काखमा रहेर भरतले तपस्या गरेका र जप तपको शक्तिका कारण उनको कृति संसारभर फैलियो अतः महाभारत कालमै यस क्षेत्रको नाम पनि भारत रहन गएको हो ।

हालको भारत वास्तवमा पौराणिक कालमा अन्य नामहरुले चिनिने गरिन्थ्यो । विभिन्न खण्ड र उपखण्डमा विभाजित भारतमा अझै पनि भारत यही हो भनेर किटान गर्न सकिने ठाउँ छैन । अतः भारतको नामाकरण पौराणिक कालमा नै यसै कालाञ्जरको जड भरतले तपस्या गरेका र समग्र भरतहरुले यसै पावन क्षेत्रमा राजकाज र तपस्या समेत गरेकाले भरतको प्रभावबाट नै भारत भनिएको हो यही कालाञ्जर क्षेत्र नै त्यतिवेलाको भारत हो । यिनै भरत राजाले पुन जन्म लिनु परे यसै क्षेत्रमा जन्म होस् भनी भगवानसँंग आराधना गरेका छन् ।

रामायणमा उल्लेख गरिएको दोर्णाचंल पर्वत पनि यसै कालाञ्जर क्षेत्रको पर्ने हम्पाल पहाड हो भनेर यहाका स्थानीयहरुले भन्ने गरेका छन् । लङ्का युद्दमा वाँनर सेनासहित भाइ लक्ष्मण वाण लागी ढले पछि उनीहरुको उपचारको संजिवनी वुटी लिन प्रियभक्त हनुमानलाई यही क्षेत्र पठाइएको थियो र यसै कालाञ्जर क्षेत्रबाट संजिवनी वुटी लगेको भन्ने कथन छ । उक्त कथनको पुष्ट्यांइ गर्ने आधार दोर्णागिरि पर्वत हो । धवलागिरि निलगिरि र दोर्णागिरि पर्वत गिरिराजले राज गरेको हुँदा यसै क्षेत्रलाई लिन सकिन्छ ।

शास्त्रहरुमा महत्वपूर्ण शास्त्र वेद र गीता नै हो । यसपछि पुराणहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । १८ पुराणमध्ये १४ वटा पुराणले मात्र कालाञ्जरको महिमा वर्णन हुनु नेपाल र नेपालीका लागि कम महत्वपूर्ण छैन । उपनिषद र स्मृतिहरुसमेतले कहाँ के कति कालाञ्जरको महिमा वर्णन गरेका छन् खोज कै विषय बनाउनु परेको छ । निचोडमा भन्नुपर्दा चारधाम तीर्थ गरे पछि कालाञ्जरको शीरमा रहेको हम्पाल धाम तथा सैलजा धाम महत्वपूर्ण धाम हो । यो धाम शुद्द मन वा भावनाले भगवानलाई जलाभिषेक, शरीर जलसिंचन र पाउ मात्र पदार्पण गर्नाले अक्षय मोक्ष प्राप्ति गर्न सक्ने एक मात्र पावन भूमि नै हो ।

पछिल्ला समयहरुमा समेत यो क्षेत्र विशेष चर्चामा आइरहेको छ । विविध रुपधारी फुतुंगे महाराजको तपस्थली यसै पावन क्षेत्र कालाञ्जर शीर हम्पाल नै रह्यो । मानसरोवर कैलाश पर्वतको स्पष्ट रुप दिने विविध तीर्थ धामहरुमध्ये एक उत्तम तीर्थ धाम हो । यो क्षेत्र कंहाँ पर्दछ भन्ने विषयमा धेरै मानिसहरु अझै अन्जानमा छन् ।

कालाञ्जर धामको मुख्य विशेषता भनेको जीवाश्मको रुपमा रहेको शालिग्राम शिला पावन नदी कालीगण्डकी नागाकार चक्रीय नदी हिमालय गिरिराजले राज गरेको कालाञ्जर तथा गिरिराज पर्वतहरु र कहिलै अवरुद्द नहुने गरी एकै मार्ग लिएर वहने काली साली नदीको प्रवाह हो । हम्पालको शीर र काखमा पाइने जीवनदायिनी जडिवुटी र मृग तथा वन्यजन्तुको शालिनताले यस क्षेत्रको जीवन मुक्ति मार्ग प्रष्ट देखाउँछ ।

कालाञ्जर स्थित हम्पाल तथा सैलजा पवित्र धाम हो । यो जस्तो पावन भूमि केही वर्ष यता केही चर्चामा आउन थालेको छ । मूलतः यसले पहिचानको मूर्त रुप वि.सं २०६९–७० सालमा पर्वत जिल्लाको साविक धाइरिंङ्ग गाविस ५ मिलनचोकका वासिन्दाको सक्रीय पहलमा यस पावन भूमिले सप्ताहव्यापी ज्ञान महायज्ञद्वारा मूर्तस्थान दिन थालीएको हो । यस कार्यको अभियन्ता र जीवन्त आवाज सर्जकमा स्वयं यस लेखकको पनि नगण्य भूमिका रहेको पनि कतैबाट छिपेको छैन ।

पौराणिक कालमा पोखरा उपत्यका जलामय हुनुपर्छ यही जलामय सागर कैलाश मानसरोवरको सुक्ष्म रुपमा रहेको छ भनेर बुझ्न कठिनाइ छैन । अनौठो र प्रथम विशेषता के छ भने हिमालय राजा गिरिराज पुत्री शैलजाको क्रीडाभूमि हालको शालिजाको शीर हम्पाल शिव महादेव र देवी पार्वतीको शीर रहेको र सो शीर उपर सेतो मोति हिमालयहरु मुकुट रुपमा पहिनेको प्रतित हुन्छ । मन नै लोभ्याउने धार्मिक पर्यटकिय स्थल हो । चार धाम भन्दा प्रभावशाली कालाञ्जर धामको भित्रको पवित्र तीर्थस्थल शिवपुरी धाम तथा शिरपारु अर्थात शिरपुर वा शिरपु हम्पाल दर्शन जीवन मोक्षका लागि एक पटक अनिवार्य गर्नु पर्दछ ।

दोस्रो ठूलो बिशेषता के छ भने कालाञ्जरको शीर र कपाटबाट उत्पन्न जल ३ भिन्नाभिन्नै ठाउँलाई सिंचायामान गराउँदै अन्ततः कालीनदीमा नै समाहित हुन्छन् । तीमध्ये पूर्वतर्फ बहने भुरुङ्ग मादि पाती मोदी खोला पश्चिम तर्फ बहने पुङ्गदी खोला र दक्षिण तर्फ बहने लुङ्गदी खोला हुन् ।

निलकण्ठेश्वर महादेव तथा कालाञ्जरको शीरबाट बाह्रै महिना उत्पन्न जल पत्थरिलो टाकुराबाट नै धारामयी प्रवाहले पृथ्वी सिंचन गरेको आभाष हुन्छ । यहाँ श्रध्दालुजन जेष्ठ शुक्ल पक्षमा अक्षयतृतीया नुहाउने र पितृ श्राध्द पनि गर्ने गर्दछन् । यस क्षेत्रको जलको कहिल्यै क्षय नहुने किंवदन्तिले यस ठाउँमा गरिने पितृ श्राध्द पनि क्षयी नहुने र पितृले पिण्ड सहजै गर्ने हुँदा तर्पण दिने गरेको पाइन्छ ।

तेश्रो मूलभूत विशेषता के भने १८ पुराणहरुमध्ये १४ वटा पुराणले कालाञ्जरको महिमा र शक्तिको व्याख्यान गरेका छन् । वास्तवमा भन्नुपर्दा मानव जातिकै सुप्रशिध्द ग्रन्थ महाभारतको वन पर्वमा कालाञ्जर महिमा वर्णनमा लोक दुनियाँले आराम लिने पर्वतको नाम कालाञ्जर हो । देवहरुको हृदय रहेको यस क्षेत्रमा स्नान गर्नाले हजारौं गाई दान बराबरको फल प्राप्त हुन्छ र सबै संशय मेटिएर स्वर्गलोक प्राप्ति हुन्छ भन्ने विश्वास छ । यसरी यस क्षेत्रको महिमा अपार र मुक्तकंण्ठले गरिएको छ ।

चौथो दामोदर कुंण्डदेखि मोदीवेणीसम्मको भाग कालाञ्जर क्षेत्रमा समावेश गरिनुमा शालग्राम शिलाको प्राप्ति हो । पुराण ग्रन्थहरुले शालिग्रामलाई विष्णुको साक्षात रुपसँग तुलना गरेका र ब्रह्मा, विष्णु, महेशको अंश समेत समाहित भएकोले यसलाई जीवाश्म रुपमा लिइएको छ । विशेष खालको यो दुर्लभ शिला यसै पावन क्षेत्र मुस्ताङ दामोदर कुण्डदेखि म्याग्दी बेनीको काली नदी तटीय क्षेत्र पर्वतको जलजला गाउँपालिका र कुस्मा नगरपालिकाको तटिय मध्यभागमा पाइने हुँदा यी क्षेत्रहरुलाई शालिग्रामे क्षेत्र पनि भन्ने गरिन्छ । विभिन्न रुप, रंग र आकारमा रुपमा विराजमान शालिग्राम कालाञ्जर क्षेत्रमा पाइने हुनाले कालाञ्जरलाई पवित्र धामको रुपमा लिइएको हो ।

पाँचौ विशेषता वनस्पति तथा वन्यजन्तु र विशेष गरी काला मृगको बारेमा पुराणहरुले बरावर उल्लेख गरेका छन् । छैठौ विशेषता के छ भने हिमालय तथा पहाडी कालाञ्जर क्षेत्रमा सयौं थरीका जीवनदायिनी जडिवुटी पनि यसै क्षेत्रमा पाइने मत्स्य पुराणमा उल्लेख गरिएको छ ।

सातौं र प्रमुख विशेषता भनेको मनोकामना सिद्द हुने क्षेत्र हो । यस क्षेत्रलाई कालाञ्जर प्रभु कालजयी ईश्वर रहने कालाञ्जर दिव्य धामका रुपमा लिनु पर्दछ । अतः कालाञ्जर दिव्य धामको मुख्य तीर्थस्थल शिवपुरी हम्पाल हो ।
पुराणहरुमध्ये शिवमहापुराण, श्रीमद्भागवत् महापुराण, स्कन्द पुराण, पद्म पुराण, लिंङ्ग पुराण, बृहन्नारदीय पुराण, मत्स्य पुराण, कुर्म पुराण, वाराह पुराण, अग्नि पुराण र गरुण पुराणहरुले कालाञ्जर पर्वतको महिमाबारे उल्लेखनीय प्रशंसा गरेका छन् । भारत वर्षको मुख्य केन्द्र यही कालाञ्जर क्षेत्रलाई बुझाउँछ । यसै भारत क्षेत्रमा सृष्टिको प्रारम्भ भएको हो । भगवान शिव निराकार रुपमा रही सृष्टि संचालन गर्नुपर्दा यसै क्षेत्रमा रही लुप्त रहे । लुप्त रहेपछी आफ्ना पुत्रहरु ब्रह्मा, विष्णु र महेश्वरलाई रज, सत, तमको विभाग दिई सिंहवाहिनी देवीको साथमा आफू निराकार रहँदै आएका छन् ।

यस पवित्र पावन भूमि सुर असुरहरुको मात्र क्रिडास्थल हैन, भगवान शिव र पार्वती दुवैको तपोभूमि हो । देवादि देवहरु ऋषि मुनिहरु साधु सन्तजनहरुको तपोभूमि र सिद्धभूमि हो भने भगवान शिव र पार्वतीको कर्म भूमि हो । शिव पार्वतीको सङ्गम क्रिडास्थल भूमि पनि हो । असल भावनाका साथ मनोकामना लिई योगायुक्त भई ध्यानयोग गर्नाले सम्पर्ण मनोकामना पूरा हुने सिद्द क्षेत्र यही हो ।

कालजयी भगवान विराजमान भएकाले यस क्षेत्रलाई कालजयी भगवान अर्थात कालाञ्जर धामका रुपमा स्थापित गरिनु पर्दछ । नेपाल र नेपालीका लागि कालाञ्जर उल्लेखनीय हुँदाहुँदै पनि यस क्षेत्रका आसपास बस्ने आम नागरिकको भाग्यको विषय पनि हो । यसलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत ब्यापक प्रचार प्रसार गर्नु आवश्यक छ । ‘अस्तु ।’
(लेखक अधिवक्ता हुन् ।)

प्रतिकृया दिनुहोस्