News Portal

भिम रावलद्वारा सांसद पदबाट राजीनामा

ईसगरमाथा संवाददाताकाठमाडौ, ३ श्रावण
३६ पटक
काठमाडौ, ३ श्रावण

नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट आईतवार राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील समेत रहेका रावलले सांसद पदबाट राजीनामा दिएपछि राजनीतिक क्षेत्रमा तरङ पैदा भएको छ ।

अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका रावलले संघीय संसद् भवनबाहिर पत्रकारमाझ राजीनामा पत्र वाचन गरेका थिए । उनले उक्त पत्र सभामुख अग्नि सापकोटालाई बुझाएर फर्किएका थिए ।

राजीनामा पत्रमा ‘पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,’ भनिएको छ ।

उक्त पत्रमा ‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’ उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा लिन लागेको विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामा दिएका हुन् । (फाईल फोटो)

प्रतिकृया दिनुहोस्