News Portal

मृत भेटिएका नेपाली सेनाका भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानेको पुष्टि

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ९ साउन
३१ पटक
काठमाण्डौं, ९ साउन

चितवन जिल्लाको शारदानगरस्थित घोल भन्ने ठाँउमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको खुल्नमा आएको छ ।
काठमाडौंदेखी सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भनि खुलेको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमा चितवन प्रहरीले सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले दिएको जानकारिमा बैना गरिएको जग्गा पासका लागि चितवन आएका भरतको उनकै साथी गंगाधर ढकालले हत्या गरेको बताएका छन् । गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएका र भरतको चेक प्रायजसो गंगाधार आफै राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।
बयानमा भरतको हस्ताक्षर सजिलो भएकाले आफैंले उनको हस्ताक्षर गरेर पैसा निकालेको बताएका छन् । भरतको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट साउन २ गते गंगाधर आफैंले भरतको हस्ताक्षर गरी,थाहा नै नदिईकन ९ लाख रूपैयाँ निकालेका थिए ।

काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए र साथी गंगाधरलाई चितवन जानका लागि लिन आउन बोलाए । गंगाधरकै मोटरसाइकलमा आएका उनीहरू त्योे दिनको राति चितवनको एक होटलमा बास बसी ६ गते भरत गुरूङ भरतपुर–१९ शारदानगरस्थित माइला बुवाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे ।

त्यसपछि गंगाधरकै मोटरसाइकल चढेर बजारतिर निक्लिए । त्यहि दिन राति उनीहरूले एक होटलमा बसेर अत्यधिक मदिरा सेवन गरेको एसपी अधिकारी बताउँछन् । ‘भरत सोझो रहेछ, रक्सी पनि अत्यधिक खाने रहेछ,’ अधिकारीले भने, ‘रातभर रक्सी खाएर गंगाधरले भरतलाई मोटरसाइकलमा राखेर डुलाउँदा बिहानै भएछ ।’

प्रहरिले दिएको जानकारी अनुसार बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए । ‘भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे। गंगाधरले झोलामा रहेको हतियार ‘एसएमजी’ झिकेर भरतको टाउकोमा एक राउण्ड गोली हानेछन्, एसपी अधिकारीले भने, ‘त्यसपछि मृतकलाई तानेर घोलमा फालेर हिँडेछन् ।’

गंगाधरले आफ्नो कपडा, जुत्ता र मोटरसाइकलमा लागेको रगत केही पर गई कुलोको पानीमा पखालेका थिए । उनी भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा हतियार फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका थिए । दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर निस्किएका थिए ।

गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो । एसपी अधिकारीले प्रहरीको ज्ञान, सीप, प्रविधिको पूर्ण प्रयोग गरी घटना भएको केही घण्टामै आरोपितलाई पक्राउ गर्न सफल भएको बताएका छन् ।

प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको छ । भरतका आफन्तहरूले हत्यामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाहीका माग गरेका छन् । धादिङको भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएको प्रहरिले बताएको छ । सेतोपाटी

प्रतिकृया दिनुहोस्