News Portal

मलेसियाबाट २४ शव र ३ जनाको अस्तु नेपाल ल्याइयो, १० शव भने अझै उतै

मलेशियामा एक दशकमा मात्रै ३ हजार नेपाली कामदारको मृत्यु

ईसगरमाथा संवाददाताकाठमाण्डौ, १० साउन
१११ पटक
काठमाण्डौ, १० साउन

मलेसियाबाट एकै दिन नेपाली कामदारका २४ जनाको शव ३ जनाको अस्तु नेपाल आएको छ । नेपाल एयरलाइन्सको उडान नम्बर ४१६ मार्फत शनिवार उत्तल शव र अस्तु नेपाल ल्याईएको हो ।

नेपालमा शव ल्याएकाहरुमा दैलेकका लोकवहादुर शाही, सल्यानका बुद्धिराम कामी, बर्दियाका मनीराम चौधरी, बैतडीका कर्णबहादुर बुढाथोकी, जाजरकोटका सन्दीप विक, बागलुङका सुनिल बीसी र तनहुँका झापटबहादुर थापा रहेका छन् ।

त्यसैगरी पाँचथरका दलबहादुर मोक्तान, ललितपुरका कृष्णकुमार राई, सुनसरीका होमबहादुर गुरुङ, बाराका रामचरित्र कानु, सिन्धुपाल्चोकका अमरबहादुर माझी, सिरहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारू र ओखलढुंगाका सोमरबहादुर तामाङको शव ल्याइएको हो ।

त्यस्तै, झापाका शम्भु विक, मोरङकी कमलादेवी भण्डारी, झापाका लोकबन्धु लावती, नवलपरासीका मति तामाङ, पाल्पाका यमबहादुर सनारी, ओखलढुंगाका दलमान तामाङ र झापाका गोविन्द बोहराको शव पनि नेपाल आइपुगेको छ ।

नवलपरासीका मोहनप्रसाद चौधरी, डडेलधुराका मीनबहादुर विष्ट र सिरहाका रोशनकुमार यादवको भने अस्तु मात्रै आएको थियो । परिवारको सहमतिमा मलेसियामा नै काजकिरिया गरेपछि तीन जनाको अस्तुमात्रै पठाइएको थियो । तीन महिनाको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार १० जनाको शव भने अझै उतै रहेका छन् । दूतावासका अनुसार निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय उडान रोकिएकाले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एयरलाइन्सको विमान नपठाइदिएकाले मलेसियामा मृतक कामदारको शव रोकिएको थियो ।

दूतावासका अनुसार अझै १० जनाको शव पठाउन बाँकी छ । कोरोनाबाट मात्रै मृत्यु भएका ३५ जनाको शव भने स्वदेश आउन पाएन । वैदेशिक रोजगार बोर्डले घरसम्म निःशुल्क रूपमा शव लैजाने प्रबन्ध मिलाएको थियो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पछिल्लो समयमा पारिवारिक तनावका कारण आत्महत्या गर्नेको संख्या बढिरहेको छ । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र दीर्घरोगले मर्ने पनि बढेका छन  ।

गत आर्थिक वर्षमा मात्रै २ सय ८१ जना नेपालीको मृत्यु भइसकेको छ । प्रमुख श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा हुने गरेको छ । गन्तव्य मुलुकमध्यको डाटा अनुसार सबैभन्दा बढी नेपालीको मृत्यु मलेसियामा हुने गरेको छ ।

पछिल्लो एक दशकमा मात्रै ३ हजार जनाको मृत्यु भइसकेको छ । राजदूत पाण्डेका अनुसार हृदयघात र रोगको सिकारबाट मृत्यु भइरहे पनि पछिल्लो समय आत्महत्याको दर चिन्ताजनक ढंगले बढेको छ ।

अन्तर्राष्ट्रिय संस्था मोइसको दुई वर्षअघि प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार श्रम गन्तव्य मुलुकमा प्रतिकूल वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेकाले कामदारको मृत्यु भइरहेको छ । प्रतिवेदनमा श्रम गन्तव्य मुलुकमा प्रतिकूल वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेकाले कामदारको मृत्यु भइरहेको उल्लेख गरिएको छ ।

असमान तापक्रम, कीटनाशक औषधि तथा रासायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, अधिकतम शारीरिक परिश्रम, पेसागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रमका कारण मृत्युदर बढिरहेको मोइसको निष्कर्ष छ । यसका साथै अनुभव र सूचनाको कमीले कामदार सडक दुर्घटनामा पर्नु पनि प्रमुख समस्याका रूपमा छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका प्रायःजसो श्रमिकको मृत्युका कारण स्पष्ट रूपमा खुल्दैन । वैदेशिक रोजगार र स्वास्थ्य क्षेत्रबीचको सम्बन्धलाई अझ ध्यान दिनु जरुरी रहेको मन्त्रालयले जनाएको छ ।

मलेसियामा मृत्यु भएका सबैले क्षतिपूर्ति पाउने अवस्था भने अझै छैन । तोकिएबमोजिम कामको सन्दर्भमा मृत्यु भएका कामदारका परिवारले आजीवन रूपमा दैनिक तलबको ६० प्रतिशतसम्म रकम पाउँछन्  । हाल मलेसियामा एक लाख ७० हजार नेपाली वैधानिक रूपमा कार्यरत छन  ।

प्रतिकृया दिनुहोस्