News Portal

तीन गुणा बढ्यो चिराइतोको बजार भाऊ

ईसगरमाथा संवाददाताकाठमाण्डौ, २९ साउन
५४ पटक
काठमाण्डौ, २९ साउन

प्रतिमन (४० केजी) ३५ हजार रुपैयाँमा विक्री हुदै आएको चिराइतो कोरोना महामारीका कारण बजार भाउ नपाउदा व्यबसायिक किसान निरास बनेका थिए । बजार भाउमा समेत गिरावट आउदा ८ देखि १० हजार रुपैयाँमा विक्री गर्नुपर्ने अवस्था आएको थियो ।

चिराइतोको बजार भाउ नपाएका किसानले थन्काएर राख्न वाध्य भएका थिए । यो वर्ष भने झापामा २५ देखि ३० हजार प्रतिमन विक्री भइरहेको किसानले बताएकाछन् । सिरिजंगा गाउँपालिका–८ याफुदिनका कृषक खड्ग गुरुङले पनि विक्रीका लागि तयार गरेर राखेको चिराइतोको मुल्यमा गिरावट आएपछि घरमै राखेका थिए । पछिल्लो समय भारततर्फ चिराइतोका मुल्यमा सुधार आएसँगै कृषक खुसी छन् ।

अहिले प्रतिमन चिराइतो झापामा २५ देखि ३० हजार रुपैयाँमा कारोबार भइरहेको स्थानीय व्यवसायी सविन बानियाँले भने । यो गत वर्षको भन्दा करिब ३ गुणाले बढी हो । ‘केही वर्षअघि ३२ हजार रुपैयाँ प्रतिमन पनि तिब्बत लगेर बेच्यौँ, त्यसपछि लगातार घटेको चिराइतोको मुल्य अहिले फेरि सुधार भएको छ,’ व्यवसायी बानियाँले भने ‘चीनतर्फको नाका बन्द भए पनि भारततर्फ कारोबार भइरहेको छ ’। अलैंची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण डेढ वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतो लगायत सामानको निकासी पनि ठप्प बन्दै आएको छ । विक्रीका लागि ओलाङ्चुङगोलासम्म पुर्याएका चिराइतो व्यापारीले फर्काएको ओलाङ्चुङगोलाका स्थानीय तथा फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले जानकारी दिए ।

अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकोप्टरबाट समेत तिब्बत लगिएको थियो । स्थानीय व्यापारीका अनुसार चार वर्षअघि एक लाख प्रतिक्विन्टल रहेको मूल्य तीन वर्षअघि ३० हजार थियो । गत वर्ष भने आठ हजारमा झरेको हो ।

मूल्य बढाउने घटाउने भन्ने कुरा ठूला अन्तर्राष्ट्रिय व्यापारीहरूको हातमा हुने किसानहरु बताउँछन् । ‘अन्तर्राष्ट्रिय स्तरका ठूला व्यापारीहरुले चिराइतोको मुल्य निर्धारण गर्छन् । कृषकले पाउने भनेको मूल्य थोरै मात्र हो । किसान सविन बाानियका अनुसार ‘ठूला व्यापारीहरुले सस्तोमा खरिद गरेर स्टक गर्छन् अनि भाऊ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाऊ घटाउँछन्’ ।

राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ । ताप्लेजुङका सुरुम्खिम, खेवाङ, मामांखे, याम्फुदिन र फक्ताङलुङ लगायतका स्थानमा चिराइतो उत्पादन हुने गर्दछ । वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा गत आर्थिक वर्षमा १६ हजार ३ सय ३४.१० केजी चिराईतो संकलन भएको छ । जसबाट २ लाख ४४ हजार पाँच सय बढी राजश्व संकलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङकी सीता योगीले जानकारी दिइन् । उनका अनुसार जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गर्दछ ।

असार, साउनदेखि असोजसम्म यसको फूल फुल्छ । फूल परिपक्व भएपछि चैत महिना अघि नै बोट उलेल्नुपर्छ । एक हजार पाँच सय भन्दा माथिको उचाइमा सप्रिने चिराइतोबाट आम्दानी लिन रोपिएको अढाई वर्ष पर्खनुपर्छ । चिराइतो जंगली जनावरले नखाने र रोग कीरा समेत नलाग्ने बिरुवा हो ।

समुद्री सतहबाट करिब १५ सयदेखि चार हजार मिटर उचाइसम्म पाइने चिराइतो एक जडीबुटी हो । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवर्द्धक टनिक र बियरमा तीतोपन ल्याउन समेत प्रयोग गरिन्छ । ‘स्वेरसिया चिराता’ वैज्ञानिक नामको यो जडीबुटी कीटाणुनासक मानिन्छ ।

प्रतिकृया दिनुहोस्