
निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई वैधानिकता दिएको छ । सनाखत भएसंगै दुबै नेतृत्वको समूहलाई निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र समेत पाएका छन् ।
एमालेबाट झण्डै एक तिहाई केन्द्रीय सदस्य र संघीय सांसदलाई लिएर नेपालले नयाँ पार्टी दर्ता गरेका हुन् । निर्वाचन आयोगमा नै पुगेर एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले नयाँ दल दर्तामा सनाखत गरेका छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादी दर्ता भएको जानकारी दिए ।
वरिष्ठ नेता झलनाथ खनालले दिल्लीस्थित राजदुतावासबाटै सनाखत गरे । आयोगले नयाँ दल दर्ताको प्रक्रियादेखि नै संलग्न भएको खनालको सनाखतलाई मान्यता दिइएको छ । नेता खनाल उपचारकै क्रममा दिल्ली छन् ।
महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको श्रेष्ठले बताए । लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पु¥याई दल विभाजन भएको छ ।