
काठमाडौंमा जारी नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत आज समूहगत रुपमा छलफल सुरू भैरहेको छ ।
महाधिवेशनमा पेस भएको प्रतिवेदनमाथि भखरै अर्थात ८ बजेदेखि समूहगत छलफल हुन लागेको एमाले प्रचार प्रसार विभागले बताएको छ ।
बिभागका अनुसार शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि उपर छलफल गर्न १० वटा समूह गठन भएका छन् । समूहलाई छलफलका लागि आज आठ बजेदेखि चार घण्टा समय दिइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो ।
छलफल सकिएपछि पूर्ण बैठक बस्नेछ र सो बैठकमा समूहको निष्कर्ष सुनाइने छ । समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ।
बिभाजन १० वटा समूहलाई सहजीकरण गर्न प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्य, प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले गर्नेछन् ।
यसैगरी बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेभएका छन् ।
लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल, शंकर पोखरेल, कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली, यामलाल कँडेल र सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टलाई तोकिएको छ ।
काठमाडौं उपत्यकाका लागि भने विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले गर्नेभएका छन् ।
जनबर्गीय संगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन् । केन्द्रीय विभाग तर्फका समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेललाई तोकिएको छ ।