
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन् ।
पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । ओली वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । उक्त समय भित्र धारा ७६(२) अनुसार कसैको पनि दाबी नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल–नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना खेर गएको थियो ।
प्रधानमन्त्री भएको एक महिनापछि ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन् ।