
बागमती प्रदेशमा रिक्त रहेको एक जना राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । डा. देवकोटाले ५०८८ मतभार ल्याएर निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका छन् ।
डा. देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा साझा उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता बादलले ४०१४ मतभार पाएका थिए ।
उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता छन् । तर बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका थिए ।
स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।
नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।