
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी लाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै महन्थ ठाकुर अध्यक्षबाट हटेका छन् । हालसम्म जसपामा दुई अध्यक्ष रहेका थिए ।
यादव पक्षले आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । यादवको निवेदनलाई आयोगले सोमबार मान्यता दिएको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए ।
बहुमत कार्यकारिणी सदस्य यादवको पक्षमा रहेकाले आयोगले यादव नेतृत्वको जसपालाई आधिकारिकता दिएको हो । यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निश्कासन गरेको थियो ।
जेठ ३० को निर्णयलाई नै आयोगले निरन्तरता दिएको र कारबाही गर्नुपरेमा विधि पुर्याएर कार्बाही गर्ने बाटो समेत आयोगले खोलिदिएको छ भने ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न सक्ने फैसला समेत आयोगले गरेको छ ।
फैसला अनुसार ठाकुर पक्षले नयाँ दल दर्ता गर्नसक्ने र त्यस्तो अवस्थामा ठाकुर पक्षका सांसदहरुको पद भने जाने निश्चित भएको छ । नयाँ दल दर्ता गर्नका लागि केन्द्रीय समितिका ४० प्रतिशत सदस्य र संघीय संसदका ४० प्रतिशत सांसद चाहिने भएकोले ठाकुर पक्षसँग उक्त संख्या नपुगेको हो ।
सोमबार भएको ‘हेड काउण्ट’मा ठाकुर पक्षसँग कार्यकारिणी समितिका ४० प्रतिशत सदस्य नपुगेकाले नयाँ दल बनाएमा ठाकुर पक्षका सांसदहरुको पद जान्छ । त्यस्तो अवस्थामा दल त्याग गरेको आधारमा जसपाले निवेदन दिएमा सभामुखले सांसद पद गएको निवेदन सुनाउन सक्नेछन्