
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूलाई दोस्रो अध्यक्ष चाहियो भनेर कहिल्यै नभनेको बताएका छन् । आफू निकट २२ जनवर्गीय संगठनका पदाधिकारीसँग मंगलबार भएको छलफलमा वरिष्ठ नेता नेपालले आफूले पद मागेको नभई सम्मानजनक एकता चाहेको स्पष्ट पारेका छन् ।
उनले दुई अध्यक्ष बनाउने भए पनि अन्य कोहीलाई बनाउन सकिने धारणा राखेको बताएका थिए ।
त्यस्तो हुन नसके महाधिवेशनसम्मको लागि ओली, खनाल र वामदेव गौतमसहितको अध्यक्ष मण्डल बनाउने पक्षमा आफू रहेको बताएको नेपाल निकट युवा संघका अध्यक्ष नरेश शाहीले बताए ।
वरिष्ठ नेता नेपालले एमाले एकता जरूरी रहे पनि ओली पक्ष यसका लागि गम्भीर नभएको आरोप लगाएका थिए। उनले संसद र संविधान जोगिएकाले अब पार्टी जोगाउनपर्ने बताए ।
छलफलमा नेपाल निकटका जनवर्गीय संगठनका पदाधिकारी सहभागी भएको र उनीहरूले १० बुँदे सहमति अपुरो रहेको बताएका थिए ।
नेपालले पनि त्यसमा सहमति जनाउँदै अहिलेसम्मको परिस्थितिको दोष कसको भनेर छुट्ट्याउनुपर्नेमा समेत नेता नेपाल र जनवर्गीय संगठनका पदाधिकारी एकमत भएका थिए ।
‘१० बुँदे सहमति आफैंमा अपुरो बताउदै यसले जेठ २ लाई आंशिक रूपम मात्रै स्वीकारेको छ । तर परिस्थिति अझै पर पुगेको छ, छलफलका एक सहभागीले भने, ‘दुई–दुई पटक प्रतिनिधि सभा विघटन भएको बारे समीक्षा गर्नुपर्छ कि, पर्दैन भन्ने हाम्रो जिज्ञासा हो। यसको दोष या त केपी ओलीले लिनुपर्यो या त हाम्रै कारणले हो भनेर भन्न सक्नुपर्यो भन्ने हो ।
कार्यदलमा रहेका नेताले माधव नेपालबिनाको एकता असम्भव रहेको बताए पनि नेपाल र कार्यदलका नेताको बुझाइ भने फरक पाइएको जनवर्गीय नेतृत्वले बताएका छन् ।
१० बुँदेकै आधारमा मात्रै एकता गर्न नसकिने धारणा स्पष्टसँग राख्दै पार्टी एकता चाहना भएको र विभाजन बाध्यता भएको बताए । यति हुँदा पनि आफू एकताकै पक्षमा रहेको भनेका छन् । तर कार्यदलका नेताको भनाई अलि जालझेल रहेकोले १० बुँदाभित्रैबाट सहमति खोज्नुपर्ने भनाई छ ।