
पछिल्लो समय गीतमार्फत बिबादमा आएका गायक एवं मोडल दुर्गेश थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफूप्रति अन्याय गरेको बताएका छन् ।
थापाले बिच्च बिच्चमा भाग– ४ अन्तर्गत ख्यास्स पुतली बोलको तीज गीत सार्वजनिक गरेका थिए । सोही गीतमा समेटिएको शब्दहरुले महिला बिशेष पर्वको अपमान गरेको भन्दै प्रतिष्ठानले असहमती जनाएको छ ।
शब्दहरु फेरबदल गर्नुपर्ने आग्रहसहित प्रतिष्ठानले भिडियो आउनुभन्दा एक दिनअघि दुर्गेशको नाममा पत्र पठाएको र सो आग्रहलाई अस्वीकार गर्दै थापाले गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले उनलाई संस्थागत रुपमा नै बहिष्कार गर्ने निर्णय गरिएको प्रतिष्ठानका पदाधिकारीले जनाएका छन् ।
दुर्गेश थापाले आफूले गाउँघरतिर बोलिने मौलिक शब्दलाई प्रयोग गरेर गीत बनाएको दाबी गरेका छन् । उनका अनुसार ख्यास्स पुतली भन्नाले बल्ल खाइस् भन्ने अर्थ बुझिन्छ भन्ने तर्क छ ।
यसैबिच प्रतिष्ठानले आफूलाई पेल्न खोजेको आरोप लगाए । आफूले गीत आउनु केही महिना अगाडि पोस्टर सार्वजनिक गरेपनि प्रतिष्ठानले यसमा कुनै चासो नदेखाएको आरोप भनेका छन् । अन्तिममा गीत सार्वजनिक हुनुभन्दा एकदिन अगाडिमात्रै पत्र पठाएका थियो तर त्यो पत्र पनि औपचारिक रुपमा नभई म्यासेन्जरमा आएको बताए ।
प्रतिष्ठानले कलाकारहरुप्रति समान व्यवहार नगरेको आरोप लगाउदै यसअघि थुप्रै अपाच्य गीतहरुमा प्रतिष्ठानको ध्यान नगएको दुर्गेशको आरोप छ । योभन्दा अगाडि पनि थुप्रै अपाच्य गीत बजारमा आएको बताउदै अग्रजहरुले त्यस्ता गीत ल्याउँदा उनीहरुलाई केही नगरिएको बताए ।
गायक तथा नायक दुर्गेश थापाले आफ्नो गीतमा प्रयोग भएका शब्दहरु गाउँघरमा प्रयोग भइरहने भन्दै यसलाई अन्यथा नलिन आग्रह समेत गरे ।