
‘द भ्वाइस अफ नेपाल थ्री’ को उपाधि किरण गजमेरले प्राप्त गरेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत पाएका छन् । प्रमोदबाट फाइनलमा प्रवेश गरेका उनि फाइनल जित्न सफल भएका हुन् ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।
एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।
यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले आम नेपालीको यो अपार मायाको लागि सधैं नै ऋणी भएको बताएका छन् ।