
इलामको कन्याम स्थित कन्याम चिया घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिका सहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइए पछि विषादी कन्याम चिया कमान घर अनिश्चित कालका लागि सिलबन्दी गरिएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई नेतृत्वको टोलीले अनुगमन गर्दा बगानमा कडा प्रकृतिको विषादी प्रयोग भएको पाइएको जनाइएको छ । उक्त अनुगमन स्थानीय ब्यक्तिहरुको गुनासोको आधारमा गरिएको हो । अनुगमनका क्रममा चिया बगानमा विषादी प्रयोग गर्ने मजदुरले स्वास्थ्य सुरक्षाका मापदण्डसमेत नअपनाएको पाइएको छ ।
मजदुरले विषादी प्रयोग गर्दा मास्क, पन्जा, एप्रोन नलगाएको पाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
अनुगमन टोलीले भण्डारमा राखिएका विषादीको मुचुल्का उठाएर बगान प्रशासनलाई सिलबन्दी गरिएको पत्र सहित तीन दिन भित्रमा यस नगरपालिकामा उपस्थित हुन भनिएको नगरका उद्योग अधिकृत ईश्वरी अधिकारीले जानकारी दिए ।
नेपाल चिया विकास निगम अन्तर्गत रहेको कन्याम चिया बगानमा ५० वर्षका लागि लिजमा लिएको त्रिवेणी सङ्घाई ग्रुपले कडा प्रकृतिको क्लोरोफाइन फस, साइपर मेथिन लगायतका विषादी मात्रा नमिलाई मापदण्ड विपरीत प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी भण्डार घर सिलबन्दी गरिएको बोर्डका निर्देशक डा. भट्टराईले जानकारी दिएकाछन् ।
बोर्डका निर्देशक डा. भट्टराईले चियामा विषादी प्रयोग हुँदा मानव स्वास्थ्यमा पर्ने असरबारे ख्याल नगरिएको बताउनुभयो । उहाले भन्नुभयो, “यस्तो कडा विषादीले मानिसलाई त असर गर्ने नै भयो माटोसमेत सखाप बनाउँछ, त्यसैले रोकेका हौँ । ” कमानले चियामा विषादी प्रयोग गर्दा राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट अनुमति लिएर मात्र प्रयोग गर्न पाउँछ तर बगानमा अनुमति नलिई मापदण्ड विपरीत विषादी प्रयोग गरेको पाइएको हो ।
बगानले कीरा मार्न, झार मार्न र चियाको उत्पादन बढाउन भन्दै विषादी प्रयोग गर्दै आएको छ । पर्यटकीय क्षेत्र कन्याममा विषादी प्रयोग गर्दा घुम्न आउने पर्यटकलाई समेत उक्त विषादीले असर गर्ने भएकाले नियमन गर्न आवश्यक रहेको सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष लेखनाथ खड्काले बताए । स्रोत चन्द्र प्रसाद अधिकारी