
शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको नाममा रहेको झण्डै ७० रोपनी जग्गा खोसेको छ ।
ओलीले प्रतिष्ठानका नाममा आफ्नै पत्नी राधिका शाक्यलाई अध्यक्ष बनाएर तेह्रथुममा ट्रष्टको नाममा हदबन्दी भन्दा बढी जग्गा राखेको पाइए पछि त्यसलाई सरकारले जफत गरेको हो ।
सत्तमा छंदा ओलीले शक्तिको आडमा १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको भेटिएकाले हदबन्दी भन्दा बढी जग्गा सरकारीकरण गरिएको हो ।
उक्त ट्रष्टका नाममा तेह्रथुमको आठराई पोखरी वडा नम्बर ४ मा कित्ता नम्बर २७३, ५१९, ५२०, ५२१, ५२३ र ५२४ र वडा नम्बर ५ मा ६१३, ६१६, ६१७, ६१८, ६२१ र ६२४ मा गरी कुल ६९ रोपनी १० आना १ पैसा जग्गा हदबन्दी भन्दा बढी भेटिएको हो ।
भूमि व्यवस्था मन्त्रालयले ०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको जनाएको छ । सरकारले ६९ रोपनी जग्गा जफत गरेपछि अब त्यहाँ ओली प्रतिष्ठानको नाममा ७४ रोपनी जग्गा बाँकी रहेको मन्त्रालयले जनाएको छ ।